© २०२३
हिँजो र आज दुई दिन बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम भइरहेको छ । विभिन्न रोगहरूबाट बालबालिकालाई जोगाउनको लागि बर्षेनी वा आवश्यकताअनुसार बेलाबेलामा भिटामिन खुवाउने कार्यक्रम हुँदै आएको छ । यसले बाल मृत्युदरमा कमी ल्याएको छ । पहिलेजस्तो बालबालिकालाई पोलियो हुने, हात्तीपाइले रोगजस्ता विभिन्न खालका रोगहरू लाग्ने कारणमा भिटामिनको कमी रहेको हुन्थ्यो । अहिले त्यसमा कमी आएको छ । नेपालमा भिटामिन ए अनुदानको रूपमा दातृराष्ट्रहरूले सहयोग गर्दै आएका छन् । खासगरी आर्थिक रूपमा कमजोर रहेका, कलिला बाबु नानीलाई घरमा छाडेर काममा जानुपर्ने आमाहरूका बच्चामा भिटामिन ‘ए’ को कमी रहेको हुन्छ । किनभने उनीहरूले शरीरलाई आवश्यक पर्ने खाना खान पाएका हुँदैनन् । दिनभरी काममा जानुपर्दा आमा एकातिर र बाबु नानी अर्कोतिर रहेको अवस्थामा दुध खान पाएका हुँदैनन् । आमाले पनि पर्याप्त पौष्टिक आहार खान नपाउँदा दुध आउन कम हुन्छ । आर्थिक रूपमा सम्पन्न घरका परिवारमा यो समस्या खासै हुँदैन । आमालाई काममा जानु पर्दैन । आमालाई होस् वा बालबालिकालाई होस् आवश्यक पर्ने पौष्टिक आहार किन्न आर्थिक समस्या हुँदैन । भिटामिन ‘ए’ मात्र हैन, सबै प्रकारका भिटामिन उनीहरूलाई उपलब्ध हुन्छ ।
नेपालमा अहिले पनि कतिपय ग्रामीण विकट क्षेत्रका महिलाहरू सुत्केरी हुँदा अस्पतालमा पुग्न सक्तैनन् । अस्पताल पुगिहाले पनि सबै ठाउँमा सुत्केरी सेवा दिने स्वास्थ्यकर्मीहरू हुँदैनन् । औषधिको अभाव रहन्छ । शहरी क्षेत्रका सरकारी अस्पतालमा त सबैखाले सुबिधा छैनन् भने ग्रामीणा क्षेत्रमा हुने कुरै भएन । दुर दराजका कतिपय शिक्षित महिलाहरू सुत्केरी हुनुपर्दा शहरका अस्पतालमा १५ दिन अघि आएर कुर्नुपर्ने अवस्था छ । सुत्केरी हुनको लागि त यस्तो समस्या छ भने बच्चालाई भिटामिन ख्वाउन कति समस्या होला यो बुझ्ने कुरा भयो । बालबालिकाले स्वास्थ्यमा असर पार्ने प्रकृतिका सबै समस्या झेल्न सक्तैनन् । उनीहरूको शरीर कोमल र नाजुक हुन्छ । कुनै कुरा ब्यक्त गर्न सक्तैनन् । त्यसैले हरेक कुराबाट जोगाएर राख्नुपर्छ । तर, गरिबीको कारणले बालबालिकालाई काखी च्याँपेर राखिरहन पनि सकेका हुँदैनन् । दुधे बालकलाई छाडेर काममा निस्कनुपर्ने बाध्यता छ । त्यहि बाध्यतालाई मध्यनजर राख्दै सरकारले बालबालिकालाई भिटामिन ‘ए’ थोपा निःशुल्क वितरण गर्दै आएको छ । यसलाई कसैले पनि छुटाउनु हुँदैन ।
पूँजीवादी सामाजिक संरचनामा मानिसको आर्थिक अवस्था दुईप्रकारको हुन्छ । एकथरी हुने खाने छन् । अर्काथरी हुँदा खाने छन् । हुँदा खानेहरूको आर्थिक अवस्था दयनीय छ । सन्तुलित पोषिलो खाना पाउँदैनन् । यहाँसम्म कि सामान्य खाना पनि पेटभर खान नपाउने अवस्था छ । त्यसकारण उनीहरूका बालबच्चा विभिन्न रोगको शिकार भइरहेका हुन्छन् । सरकारमा बस्नेहरूले यस्ता बालबच्चाको आवश्यकतालाई भन्दा धनीहरूको आवश्यकतामा आफूलाई होम्ने गरेका हुन्छन् । किनभने सरकारी पूँजी बृद्धि गर्न पूँजीपतिको ठूलो भूमिका रहन्छ । राजनैतिक, प्रशासनिक पदहरूमा पनि पूँजीपतिकै बाहुल्यता हुन्छ । उनीहरूले आफ्नो मापदण्डबाट सबैलाई हेर्ने गर्छन् । सर्बसाधारण मानिसहरू गरिबीको रेखाभन्दा मुनी नै हुनुपर्छ र उनीहरूले धनीको हितार्थ श्रम गर्नुपर्छ भन्ने मान्यता राखेका हुन्छन् । श्रममा कजाउनको लागि सर्वसाधारणलाई गरिब बनाउनै पर्ने पूँजीवादी समाजको दार्शनिक मान्यता हो । त्यसकारण पनि हाम्रो समाज दिन प्रतिदिन गरिबीतर्फ बढिरहेको छ । विदेशी दातृराष्ट्रहरूले भिटामिन पठाउने र ख्वाउने गर्नु परेको छ नेपाली बालबालिकालाई । फलफूल, दुध, माछा, मासु, अण्डा, ताजा आहार खान पाएका हुन्थे भने भिटामिनहरू त्यसबाटै कभर हुन्थ्यो । यसो हुन नसक्नुको मुख्य दोषी नै यहाँको सिष्टम हो भन्ने कुरा सबैले बुझ्नु पर्ने हुन्छ ।