© २०२३
आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण दिवस र विकास सम्बन्धी सप्ताहको शुरुवाती दिवस हो । निःशस्त्र भनेको शस्त्रविहीन हुनु भनिएको हो । संयुक्त राष्ट्रसंघले आफ्नो स्थापना दिवसकै भोलिपल्ट निःशस्त्रीकरण दिवसको घोषणा गरेको थियो । यो यसकारण पनि कि पहिलो र दोस्रो विश्वयुद्ध, खासगरी दोस्रो विश्वयुद्धमा आणविक हतियारहरूको ठूलो मात्रामा प्रयाोग गरियो जसको कारण ठूलो जनधनको क्षति भयो । जापानका दुईओटा शहरहरू नै ध्वस्त भए । त्यसैले निःशस्त्रीकरणलाई जोड दिने गरियो । घोषणा त गरियो, तर, यसको पालना कति भएको छ यो मुख्य कुरा हो । अहिले कतिपय ठूला मुलुकहरूले हतियारलाई नै शक्तिको प्रमुख आधार बनाएका छन् । हतियारविना राष्ट्रलाई जोगाउन सकिँदैन, अन्य मुलुकलाई तर्साउन सकिँदैन, हतियारको कारोबार नगरे मुलुकलाई आर्थिक रूपमा सम्पन्न गराउन सकिँदैन भन्ने मान्यता पालेको कारणबाट शस्त्र उत्पादनमा कमी आएको छैन । हतियार बेच्नको लागि उनीहरूले विभिन्न मुलुकमा अन्तरविरोधहरू चर्काइदिने गरेका छन् । एउटा गुटलाई विभिन्न रूपबाट सहयोग गर्ने र हतियार उपलब्ध गराउने, युद्ध चर्कियो भने धमाधम हतियार बेच्न पाइने र नाफा आर्जन गर्ने रणनीति अपनाएका छन् । घोषित निःशस्त्रीकरणको बाधक यो रणनीति बनेको छ ।
अहिले दिनहुँ क्षेप्यास्त्रहरू प्रक्षेपण गरिरहेका समाचारहरू आइरहेका छन् । अमेरिकाले आधुनिक आणविक शस्त्र निर्माण गर्ने कुरा दोहोराइरहेको छ । चीनले त्यसलाई उछिन्न खोज्दैछ । उत्तर कोरियाले अमेरिकारलाई चुनौती दिने गरेको सुनिन्छ । यता भारत र पाकिस्तानकाबीचमा हतियार उत्पादनलाई लिएर प्रतिष्पर्धा चलिरहेको छ । सीमा क्षेत्रमा दिनहुँ मानिसहरू मारिएकै छन् । कसले ठूलो संख्यामा मानिस मार्ने, कसको हतियारले टाढासम्म मार हान्न सक्ने, कसको शस्त्र बढी शक्तिशाली भनेर प्रतिष्पर्धा चलाइएको छ । उत्पादन गर्ने देखि लिएर आयात गर्नको लागि राज्यको ठूलो धनराशि खर्च गरिएको छ । यस्तो बेलामा संयुक्त राष्ट्रसंघको निःशस्त्रीकरणको मान्यता भालुलाई पुराण भन्ने उखान सावित भइरहेको छ । जब ठूला मुलुकहरूले विभिन्न शक्तिशाली हतियारको दम्भ देखाएर एकले अर्कोलाई चुनौती दिन खोज्छन् त्यतिबेला साना राष्ट्रहरू चेपुवामा पर्छन् । साना राष्ट्रहरूले एउटा शक्तिपक्षको समर्थनमा उभिनु पर्ने बाध्यता हुन्छ । युद्धरत शक्तिको आड लिनुपर्ने अवस्था उत्पन्न हुन्छ । निरपेक्ष रूपमा उभिन सक्ने अवस्था रहन्न । यो धु्रबिकरणले एकले अर्कोलाई थप चुनौती दिन थाल्छ । वार्ताबाट समाधान हुने बिषयमा पनि हतियारहरू पड्कन थाल्छन् । पहिलो र दोस्रो विश्वयुद्ध यस्तै धु्रबिकरणलाई आड बनाएर सिर्जना भएको थियो ।
जहाँसम्म विकास सम्बन्धी सप्ताहको प्रसंग छ यो निःशस्त्रीकरणसँगै जोडिएको छ । विकास सम्बन्धी सप्ताह आज देखि सुरु भएर १४ गते समापन हुनेछ । निःशस्त्रीकरण विना विकास सम्भव हुँदैन । युद्ध चलिरहेका मुलुकमा भएका संरचनाहरू ध्वस्त त स्वभाविक रूपमा भइरहेका हुन्छन्, तर, विकास निर्माणका काम हुन युद्ध वाधक हुन्छ । राज्यको लगानी युद्ध रोक्नका लागि खर्च भएको हुन्छ । युद्ध विभिषिकाले मानिसहरू विस्थापित भइरहेका हुन्छन् । उनीहरूले सरकारको सहयोग खोजेका हुन्छन् । पालन पोषण गर्नुपर्दा लगानी बढ्छ । युद्ध चल्दासम्म सेना वा प्रहरीमा बढी लगानी गर्नुपर्ने हुन्छ । हतियार आयातमा खर्च बढ्छ । गृहयुद्ध, सीमायुद्ध वा अन्यप्रकारका युद्ध चलिरहेका मुलुकमा विकासले गति लिन सक्तैन । त्यसैले यसलाई निःशस्त्रीकरण दिवससँग जोडिएको हुन सक्छ । विकासलाई शान्तिपूर्ण वातावरणको आवश्यकता हुन्छ । माओवादी व्दन्व्दकालमा नेपालबाट ठूलो संख्यामा मानिसहरू विदेश पलायन भए । खासगरी युवाहरूले आफ्नो भविश्य असुरक्षित देखेपछि विदेशमा गएर रोजगारी गर्न बाध्य भए । अहिले शान्तिकालमा पनि थुप्रै ठाउँमा बजेट निकासा भए पनि काम गर्ने पाखुराहरू पाइन छाडेका छन् । सत्र हजार बढी युवा शक्तिले देशमै ज्यान गुमाउनु प¥यो । ऐतिहासिक, पुरातात्विक संरचना, बाटाघाटा, पुल पुलेसा ध्वस्त भए । विकासमा यसले ठूलो प्रभाव पा¥यो । त्यसकारण पनि निःशस्त्रीकरण विकासका लागि आवश्यक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।