© २०२३
आज अन्तर्राष्ट्रिय बालिका दिवस हो । बालिका भनेको नेपालले अघि सारेको उमेर समुहबाट हेर्दा १८ बर्ष नपुगेका महिलाहरुलाई लिने गरिन्छ । बाबुआमाको छत्रछायाँमा राज्यले प्रदान गरेका सबै अधिकारहरु उपयोग गर्ने यो उमेर मानिन्छ । संयुक्त राष्ट्रसंघले बालिकाहरुलाई के कस्ता अधिकारहरु उपयोग गर्न दिने भन्ने प्रष्ट खुलाएर सदस्य राष्ट्रहरुलाई लागू गर्न निर्देशन दिएको छ । त्यसमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । तर, सदस्य राष्ट्र भएको सन्दर्भमा नेपालका बालिकाहरुले कति अधिकार उपयोग गर्न पाएका छन् यसको चर्चा हुनु जरुरी हुन्छ । अझै पनि नेपालमा थुप्रै ठाउँमा उमेर नपुगेका बालिकाहरुलाई बिहे गरिदिने प्रचलन छ जसले गर्दा १८ बर्षसम्म उनीहरु एक वा दुईओटा बच्चाका आमा बनिसकेका हुन्छन् । छोरी अरुको घरमा जाने जात हो भनेर नपढाउने, छोरीको लागि आर्थिक लगानी नगर्ने, सानैबाट घरको काममा जोताउने चलन अहिले पनि गाउँघरमा देख्न सकिन्छ । कैयौँ बालिकाहरु घरेलु नोकरको रुपमा काम गर्दै आएका छन् । मालिकहरुद्वारा श्रम शोषण त हुन्छ नै, यौन शोषण गर्ने काम पनि थुप्रै ठाउँमा भइरहेका छन् । बालिकामाथि घरेलु हिंसा भइरहेको छ । यौन अत्याचारमा पिल्सिएका छन् । मारिएका छन् । खेलौना बनाइएका छन् । बालिकाले पाउनु पर्ने अधिकार नेपाल र अन्य थुप्रै मुलुकमा यहि देखिँदै आइएको छ ।
बालिकाहरुलाई बालकले जत्ति पढ्न पाउने अधिकार छ । तर, बालिकामैत्री विद्यालय हुँदैनन् । उनीहरुको लागि अलग्गै सुरक्षित पाइखानासम्म हुँदैन । त्यसकारणले पनि उनीहरुलाई विद्यालयमा पढ्न जानको लागि समस्या भएको छ । यहाँसम्म कि घरमा पनि असुरक्षित हुन्छन् । कैयौँ बालिकाहरु घरमै बलात्कृत भइरहेका छन् नातेदारहरुबाट । विद्यालयबाट अपहरित हुन्छन् । मारिन्छन् । सरकारले सुरक्षा दिन सकिरहेको छैन । बालबिवाह रोक्न सकिरहेको छैन । मण्डपमा विवाह गरिदिने प्रथाले पनि बाल विबाहलाई रोक्न अबरोध पुराएको छ । कोर्टमा विवाह हुने प्रणाली हुन्थ्यो र उमेर किटान गरिएको हुन्थ्यो भने यो सायद रोकिने थियो । कोर्ट विवाहले दाइजो प्रथा र फजुल भोजभतेर रोक्न पनि मद्दत गथ्र्यो । यतातिर सरकारले सोँच्नु जरुरी छ । वास्तवमा बालिकाहरु शोषणमा पारिनुको पछाडि हाम्रा परम्परागत संस्कारहरुले युगौँ देखि काम गर्दै आएका छन् । गोडा धुने, जल खाने, कन्यादान गर्ने, ज्वाईँलाई पाले पुण्य, मारे पाप भनेर छोरी जिम्मा दिनेजस्ता चलनले बाल विवाहलाई प्रश्रय दिएको छ ।
बालिकाहरुको अवस्था कस्तोसम्म छ यहाँ भन्ने कुरा कञ्चनपुर, पोखरा र अन्यका कतिपय घटनाले देखाइरहेका छन् । बालिकाहरु कहिँ न कतै दिनदिनैजसो बलात्कृत भइरहेका छन् । मारिएका छन् । यौन पिपासुहरुको पञ्जामा गाँजिएर कलिलै उमेरमा आमा बन्न वाध्य छन् । विद्यालय सुरक्षित छैन । घर सुरक्षित छैन । आर्थिक अवस्था कमजोर भएकाहरुलाई कतै रोजगारी मिल्यो भने रात बिरात हिँड्न समस्या छ । बालिकाहरुलाई कतिपय बस्तु उत्पादन गर्ने संस्थाहरुले विज्ञापनका पात्र चुनेका छन् । नंगाएका छन् । यस्ता तमाम घटनामा सरकारले ध्यान पुराउन नसक्दा वा छुट दिँदा पनि बालिकाहरु असुरक्षित हुँदै गएका छन् । अधिकारबाट विमुख भइरहेका छन् । उच्च शिक्षाबाट वञ्चित भएका छन् । यो कुरामा अब सबैले ध्यान दिनुपर्ने पर्ने भएको छ । खसगरी सरकारले उनीहरुको अधिकार शोषण हुनबाट बचाउन कडा कानुन ल्याउनु र परिपालन गर्नु आवश्यक छ ।