© २०२३
आज विश्व अहिंसा दिवस हो । अहिंसा, अत्यन्तै मीठो पदावली हो । यसको अर्थ कसैको पनि हिंसा नगर्नु भन्ने लागेता पनि वास्तवमा यो मानिसको हिंसा, हत्या नगर भन्नेमा केन्द्रित हुन आएको छ । त्यसो त धर्मशास्त्रले पनि युगौँ अगाडि देखि भन्दै आएको पदावली हो अहिंसा । अहिंसा परमो धर्म भन्ने संस्कृत वाक्य विश्वब्यापी बनेको छ । यो पदावलीले कुनै पनि जीबको हत्या गर्नु हुँदैन भन्ने सन्देश दिन्छ । मांसाहारीलाई पनि मरेपछि खाउ, मारेर नखाउ भनिएको हो । बौद्ध दर्शनले पनि यहि कुरालाई अनुशरण गरेको छ । तर, विज्ञानले मरेको जनाबरको मासु नखाउ, त्यो अखाद्य भइसकेको हुन्छ भन्दछ । शरीरको लागि सबैभन्दा धेरै चाहिने प्रोटिनको उत्पादन माछा, मासुबाट हुन्छ । पोषण विज्ञानले शरीरको लागि माछा मासु खानु आवश्यक छ भनेर सिफारिस गर्दछ । माछा मासु खाने बानी परेकाले विभिन्न जनाबर, माछाहरू मारेरै खान्छन् । मरेको खान चाहँदैनन् । ताजा माछा मासुलेमात्र शरीरलाई फाइदा पुराउँछ । यो धार्मिक मान्यता र विज्ञानले अघि सारेको कुरा भयो ।
संयुक्त राष्ट्रसंघले अघि सारेको अहिंसा दिवस मानब अहिंसासँग जोडिएको विषय हो । अहिले मात्र हैन, पहिले देखि नै मानिसले मानिसको हत्या हिंसा, अपमान गर्ने श्रृंखला चल्दै आएको छ । पहिलो विश्वयुद्धमा मात्र एक करोड २० लाख मानिसले ज्यान गुमाउनु परेको थियो । १० लाख करोड पाउण्डको स्थल सम्पत्तिको नोक्सानी भयो भने सामुद्रिक जहाज २५ करोड पाउण्ड र ७०० करोड पाउण्ड तठस्थ मुलुको नोक्सानी भयो । ३३ करोड ६० लाख पाउण्डको संरचना ध्वस्त भयो । यसरी नै दोस्रो विश्वयुद्धमा दुई करोड २० लाख मानिसको मृत्यु भयो । दुई करोड ४० लाख मानिस घाइते भए । दुई हजार करोड पाउण्ड बराबरको भौतिक संरचना ध्वस्त भयो । यी मात्र हैन । त्यसअघि र पछि पनि अनेकौँ युद्धहरू भएका छन् । कतै राज्यको लागि हत्या हिंसा भएका छन् । कतै धर्मको लागि हत्या हिंसा भएका छन् । कतै स्वार्थको लागि हिंसा भएका छन् । कतै सम्पत्तिका लागि विद्रोह र हिंसा हत्या भएका छन् । अहिले पनि विश्वमा कहिँ न कतै हत्या हिंसा चलिरहेका छन् । यस्तो हत्या हिंसा रोकिनु पर्छ भनेर नै अहिंसा दिवस मनाउन थालिएको हो ।
सबै प्राणी जन्मेपछि स्वतन्त्रतापूर्वक पूरा उमेर बाँच्न चाहना राख्छ । त्यसमा पनि मानिस चेतनशील भएको अर्थमा उसले पूर्ण जीवन बाँच्न पाउने अपेक्षा राख्नु स्वभाविकै हो । तर, यो वा त्यो बहानामा मानिसमाथि मानिसबाटै हिंसा हत्या भएको छ । अपमान भएको छ । लूट, दमन, शोषण, अन्याय अत्याचार भएको छ । सोझै हत्या, हिंसा गर्नुलाईमात्र हिंसा मानिँदैन । कुनै मानिसलाई जब दमन गरिन्छ त्यसले उसमा नैराश्यता ल्याउँछ । उसले आत्महत्या गर्न पुग्छ । भोक, शोक, गरिबीले पनि मानिसलाई मृत्युको मुखमा पुराउँछ । त्यस्तो अवस्था सिर्जना गरिदिने चाहे सर्बसाधारण मानिस होस्, चाहे राज्य पक्ष होस् त्यो हिंसाको कारक मानिन्छ । हामीले सुन्दै आएका छौँ एसएलसीको परीक्षामा विद्यार्थीहरू जब फेल हुन्छन् उनीमध्ये कति संख्यामा बिस सेवन गरेर आत्महत्या गरेका थिए । अहिले हुने गरेको एसइइ परीक्षामा ग्रेडिंग सिष्टम बनाइयो । फेल नहुने र कलेजमा पढ्न पाउने वातावरण बन्यो । आत्महत्याको घटना भएनन् । त्यसरी हेर्दा एसएलसीको खुड्किलो अहिंसाको विरोधी बनेको थियो । त्यो प्राबधान राख्ने सरकार हिंसावादी बनेको थियो । यस्ता अनेकौँ अहिंसा विरोधी तगाराहरू सरकारले खडा गरेको छ । निजी पूँजीवादी ब्यबस्था स्वयम्मा मानिसको हिंसा हत्या गर्ने सबैभन्दा ठूलो तगारो हो । त्यसलाई सञ्चालन गर्ने सरकार मानव हिंसा, हत्याको प्रतिनिधि हो । अहिंसा विरोधी हो । त्यो अर्थमा यसलाई बुझ्नुपर्ने हुन्छ । अहिंसा दिवसमा यस्ता कुरामा छलफल चल्नुपर्छ । अहिंसालाई कसरी स्थापित गर्ने भन्ने भन्ने कुरामा सबैले मनन गरिनु पर्छ ।