© २०२३
आज अन्तर्राष्ट्रिय आणविक हतियार नियन्त्रण दिवस हो । आणविक भनेको सबैभन्दा शक्तिशाली, अणुहरूमा फैलिएर विष्फोटन हुँदै जीबजन्तुमाथि प्रहार हुनेमात्र हैन, जमीनलाई छिया छिया पार्दै त्यहाँको बनस्पति माटो सबै ध्वस्त बनाउन सक्ने क्षमताको हतियार हो । आणविक हतियार (बम) को पहिलो प्रयोग दोस्रो विश्वयुद्धको समयमा जापानको हिरोसिमा र नागासाकीमाथि अमेरिकाले विमानबाट खसालेर गरेको थियो । जुन वम विष्फोट हुँदा लाखौँ मानिसले ज्यान गुमाएका थिए । त्यत्तिकै संख्यामा अन्य जनाबर मारिएका थिए । सो शहरका संरचना ध्वस्त भएका थिए भने त्यहाँको माटोमा कैयौँ बर्षसम्म हरियाली आउन सकेन । अहिले यस्ता हतियार अमेरिकालेमात्र हैन, विश्वका थुप्रै मुलुकले उत्पादन गरेका छन् । हतियार उत्पादन गर्नको लागि प्रतिष्पर्धा चलाइएको छ । कसले कति शक्तिशाली हतियार उत्पादन गर्न सक्छ भनेर होडबाजी गरिएको छ । भनिन्छ अहिले हतियारको संख्या यति धेरै उत्पादन गरिएको छ कि विश्वका मानिसलाई एक एक थान हतियार वितरण गर्ने हो भने आगामी एक सय बर्षको जनसंख्यामा पनि पूरा खपत हुन सक्तैन । अमेरिकाको पेण्टागनमा हतियार निर्माणका लाागि ठूला ठूला कारखाना चलाइएको छ । सबैभन्दा शक्तिशाली आणविक हतियार अमेरिकाले उत्पादन गर्दै आएको छ । विश्वका सम्पूर्ण मानिसलाई एक सयचोटी मारे पनि उसको हतियारको भण्डार खाली हुँदैन ।
हतियार उत्पादनमा किन विश्वका मुलुकहरू यसरी प्रतिष्पर्धामा उत्रिएका हुन् यो बडो अचम्मको विषय बनेको छ । ती सबै हतियारहरू एकले अर्कोलाई मार्नको लागि नै प्रयोग हुने हो । मानिसलाई मानिसले मार्नका लागि किन यस्तो होडबाजी ? आखिरी विश्वका ठूला मुलुक, ठूला नेताहरूले मानिसलाई सखाव पार्नको लागि हतियार उत्पादन गरेर कस्तो सन्देश दिन खोजेका हुन् ? किन युद्धविभिषिकाको मात्र परिकल्पना गर्छन् ? हतियार बेचेर आम्दानी गरिरहेका हुन्छन् । दुई मुलुकका बीचमा युद्ध मच्चाइदिएका छन्, उनीहरूको हतियारको कारण हरेक ठूला, साना मुलुकहरू बाह्य वा आन्तरिक युद्धमा धकेलिएका छन् । मारामार चलिरहेको छ । कहिले एउटा पक्षलाई उकास्छन्, अर्को पक्षलाई पछारिदिन्छन् भने कहिले अर्को अर्को पक्षलाई लडाइरहेका छन् । गरिब राष्ट्रले पनि हतियार किन्नको लागि थुप्रै रकम खर्चनुपरेको छ उनीहरूको कारणबाट । यसरी हतियार उत्पादन गर्नुको साटो कृषि उत्पादन गरेको भए विश्वका सबै मानिसले पेटभर खान पाउँथे । कपडा उत्पादन गरिएको हुन्थ्यो भने कोही कठ्यांग्रिएर मर्ने थिएन । तर, धमाधम हतियार उत्पादनमा ठूलो जनशक्ति परिचालन गरिएको छ । ठूलो धनराशि खर्च गरिएको फगत मान्छे मार्नको लागि ।
संयुक्त राष्ट्रसंघले आणविक हतियार उत्पादन गर्न रोक्नुपर्ने आवाज पहिले देखि नै उठाउँदै आएको हो । यसको लागि संयुक्त राष्ट्रसंघका साधारणसभाहरूमा चर्को चर्चा चल्छ । खासगरी साना मुलुकका प्रतिनिधिहरूले यसलाई बहसको बिषय बनाउँदै आएका छन् । तर, उत्पादनमा कमी आएको छैन । विश्वकै सम्राट, साम्राज्यवादी सपना देखेका ठूला राष्ट्रहरूले अझ शक्तिशाली आणविक हतियार उत्पादन गर्दै आएका छन् । हतियार प्रक्षेपण गरेर अन्य मुलुकहरूलाई तर्साएका छन् । खबरदार भन्दै आइरहेका छन् । देश देशको मित्रतामा तिक्तता आइरहेको छ । नेताहरूकाबीचमा खिचातानी चलिरहेको छ । मित्रताको भाषा हराएको छ । धम्कीको भाषामात्र प्रयोग हुँदैछ । जसरी बाघहरू आम्नेसाम्ने हुँदा लड्ने गर्छन् अहिले विश्वका ठूला नेताहरू त्यस्तै हृंशक भएका छन् । यसो हुनुको मुख्य कारण नै हतियार उत्पादन हो । आणविक हतियार उत्पादन गर्न सबै राष्ट्रहरूले रोक्नुपर्छ । यसलाई नियन्त्रण गर्नुपर्छ । यसको कारोबार रोकिनु पर्छ । शान्ति, अमन चैनसँग विश्वका जनतालाई बाँच्ने आधार तयार गरिनु पर्छ भन्ने सन्देश आजको आणविक हतियार नियन्त्रणले दिन खोजेको हो । यसको सबैले पालना गरौँ । संयुक्त राष्ट्रसंघको यो आवाजलाई अमल गरौं ।