© २०२३
आजदेखि पितृपक्ष शुरु भएको छ । यसलाई सोह्र श्राद्ध पनि भनिन्छ । १६ दिनसम्म चल्ने भएकोले यसो भनिएको हो । पूर्णिमा देखि औँशीसम्म जुन तिथिमा बाबु आमाको निधन भएको हो त्यहि तिथि पारेर मृतकलाई पिण्ड पानी दिने चलन छ । यो पक्षमा दिइएको पिण्ड पानी स्वर्गमा बसेका मातृ पितृहरूले ग्रहण गर्छन् भन्ने हिन्दुहरूमा धार्मिक मान्यता छ । शुरुमा यस्तै चलन चल्यो । त्यसैलाई निरन्तरता दिने काम आजपनि भइरहेको छ । वास्तवमा पिण्ड पानी पितृहरूले खाने नभई उनीहरूको सम्मानर सम्झना गरिएको अर्थमा श्राद्धलाई लिन सकिन्छ । समाजका ठूलाबडा मानिसको निधन भएपछि मृत्युको दिनलाई स्मृति दिवसको रूपमा सार्वजनिक ढंगले मनाइन्छ भने यो श्राद्ध कर्म पनि बाबुआमाको सम्मानमा सन्तानहरूले स्मृति गरेको हो । यसलाई पौराणिक कालमा मृतकहरू स्वर्गमा बसेर हाम्रो गतिविधि हेरेका हुन्छन् भनेर ब्याख्या गरियो । उनीहरूको सम्मान गर्नुपर्छ भनेर श्राद्धजस्तो विधिरचियो । उतिबेलाका विद्वान, धर्मगुरुहरूले यस्तै चलन शुरु गरे । असौजमा गरिने यो पार्वण श्राद्ध हो । निश्चित तिथिमारोकिन गएका श्राद्धहरू पनि यो बेलामा गरियो भने त्यो प्रदोष लाग्दैन भन्ने मान्यता छ । तिथि जानकारी नभएकाहरूले औँशीका दिनमा गर्ने पनि चलन छ ।
वास्तवमा श्राद्ध कर्म गर्दा मृतक बाबुआमाको सम्झना हुन्छ । उनीहरू को थिए, नाम के थियो, आफ्नो थर गोत्र के हो, आफ्नो बंशावली कहाँबाट आयो आदि कुरा थाहा हुन्छ । यो जानकारीराख्नुपर्ने विषय पनि हो । किनभने हाम्रो शरीर, हाम्रा बानी, ब्यवहारमा पुस्ताको जीन सरेको हुन्छ । हाम्रा बोलीचालीमा हाम्रा बाबुआमाको लबज भेटिन्छ । बंशाणुगत गुणहरू लिएर मानिस अघि बढेको हुन्छ । त्यसअर्थमा पनि हामीले उनीहरूलाई बर्ष बर्षमा सम्मान गर्नुपर्ने आवश्यकता छ । अर्को कुरा उनीहरूले नै हाम्रोलागि सम्पत्ति छाडेर गएका हुन्छन् । उनीहरूको पौरखमा हामी आश्रित भएका छौँ । उनीहरूले हामीलाई सभ्यता, संस्कार सिकाए । शिक्षा दीक्षा दिए । समाजमा कसरीरहने, भोलिका लागि कसरी अगाडि बढ्ने भनेर पाठ सिकाए । त्यसकारणले पनि आफ्ना मातृ पितृहरूलाई सम्झनु जरुरी हुन्छ । हिन्दु धर्ममामात्र हैन, सबै धर्मका मानिसले आफ्ना पिता, पुस्तालाई सम्मान गरेका हुन्छन् । सम्झना गरेका हुन्छन् । तौरतरिका बेग्लै हुन सक्छ । कतिपयले आफ्ना पिताको नामसँग जोडेर आफ्नो नामराखेको देखिन्छ भने कतिले सामाजिक कार्य गरेर पितापुस्ताको सम्मान गरेका हुन्छन् । कतिले आफ्ना बाबुआमाको नाममा शिक्षालय खोलेका छन् । सामाजिक हितको लागि लगानी हुने गरी अक्षयकोष खडा गरेका छन् । कतिपय मानिसले बाबुआमाको सम्मानमा बृक्षारोपण गरेर हुर्काएका छन् । बाटोघाटो खनाएका छन् । पानी पँधेरो बनाइदिएका छन् । यी सबै गर्नुको पछाडि उनीहरूको श्रद्धा, सम्मान नै केन्द्रितरहेको छ ।
अहिले समय फेरिएको छ । हामी विज्ञान प्रविधिको युगमा प्रबेश गरेका छौँ । अहिलेसम्म गरिने श्राद्ध कर्म परम्परावादी छ । यसलाई रुढीवादी पनि भन्न सकिन्छ । कृषियुगको समयमा लेखिएका पोथिपात्राहरूले त्यो परिबेशलाई समेटेको थियो । त्यसबेला जुन चिज उपलब्ध थियो त्यसलाई श्राद्धका बस्तुहरूको रूपमा उल्लेख गरिएको थियो । तर, अहिले शहर बजारमा बस्ने मानिसलाई ती बस्तु प्राप्त नहुन सक्छ । गाईको दुधमा पिण्ड पकाउने भनेर विधानमा लेखिएको छ । तर, शहरमा गाईको दुध पाउन सकिँदैन । गउँत पाइँदैन । दुना टपरी पाउन सकिन्न । यसरी बस्तुहरू नपाउँदा मानिसले श्राद्ध कर्म नै छाड्न सक्छ । त्यसैले बदलिँदो अवस्थामा प्रयोग गर्न सकिने बस्तुहरूको विकल्प दिनु आवश्यक छ । अहिलेको कामकाजी मानिस यति ब्यस्त छ कि श्राद्धको दिनमा घरमा बसेर दिनभरी लगाएर श्राद्ध गर्ने कि काम गर्न हिँड्ने ? त्यसको लागि पनि विकल्प खोज्नु जरुरी देखिन्छ । सुहाउँदो विकल्प पाएन भने त्यो परम्परा नै समाप्त भएर जान्छ । कर्मकाण्डीहरूले यो कुरालाई मनन गर्नु ढिला भइसकेको छ ।