© २०२३
आज विश्व शान्ति दिवस हो । शान्ति भन्ने शब्द नै मीठो छ । शान्ति आम मानिसको चाहना हो । यो आजको कुरा नभएर मानिसको उत्पत्ति देखि नै आजसम्म मानव चाहनाको विषय बनेको छ । मानव समाजलाई सभ्यताको शिखरमा हिँडाउन, अनुशासनसँग बस्नको लागि शान्ति अपरिहार्य हुन्छ । शान्ति भनेको मर्यादा हो । एकले अर्कोको अस्तित्वलाई स्विकार्न सक्यो र सम्मान दिन सक्यो भने त्यहाँ शान्ति कायम हुन्छ । शान्तिको विलोम विद्रोह हो । जब पाण्डवहरूलाई कौरबले सियोँको टुप्पो राख्ने जमीन पनि नदिने कुरा उठेपछि त्यहाँ पाण्डवका तर्फबाट विद्रोह भयो । हजारौँ मानिसहरू मारिए । कौरवका सबै मानिस मारिए । पाण्डवहरूले विजय प्राप्त गरे । फेरि त्यहाँ शान्ति छायो । यो घटनाले समाजमा विद्रोह कसरी निम्तन्छ र शान्ति कुन अवस्थामा स्थायी हुन्छ भन्ने कुराको पाठ पढाएको छ । दोस्रो विश्वयुद्धमा लाखौँ मानिसको ज्यान गयो । ठूला ठूला शहरहरूका आलिशान संरचनाहरू भत्किए । सयौँ नेताहरू शान्ति कायम गर्न दौड लगाए । सन्धि भयो । त्यसले संयुक्त राष्ट्रसंघलाई जन्मायो । अहिले विश्वका कुनै पनि मुलुकमा विद्रोह हुँदा संयुक्त राष्ट्रसंघले शान्ति कायमका लागि पहलकदमी गर्दै आएको छ ।
शान्ति सभ्यता, अनुशासन, मानवीय मर्यादाका लागि आवश्यक पक्ष हो । जहाँ शान्ति हुँदैन त्यहाँ विकासको सम्भावना रहन्न । नेपालकै सन्दर्भमा कुरा गर्दा माओवादी विद्रोह कालमा मुलुक अशान्त भयो । विकासका सबैखाले गतिविधि अवरुद्ध भए । यत्रतत्र बनेका ऐतिहासिक महŒवका संरचनाहरू पनि भत्काइए । विकासको लागि निकासा हुनुपर्ने बजेट हतियार खरिद गर्न र माओवादीले संरचना ध्वस्त पारिदिएका मानिसलाई क्षतिपूर्ति दिन, मारिएका मानिसका परिवारलाई क्षति पूर्ति दिनमा मात्र खर्च भयो । सो विद्रोहले देशको भौतिक विकासलाई दश बर्ष पर धकेलिदियो । उता माओवादीले आफूहरूको भरणपोषण तथा हतियार खरिदका लागि बैंकहरूमा कब्जा जमाई पैसा लूट्ने काम गरे । यी कार्यले मुलुकको आर्थिक तथा भौतिक विकास अबरुद्ध भयो । त्यसैले विकासका लागि शान्तिको अत्यन्तै आवश्यकता रहन्छ । विश्वका जुन मुलुकमा शान्ति छाएको छ तिनीहरूले भौतिक विकासमा ठूलो फड्को मारेका छन् । आजको विज्ञान प्रविधिले मारेको फड्को उनीहरूको योगदान हो । तर, जुन मुलुकमा अशान्ति छाएको छ तिनको विकासको गति लगभग सून्य अवस्थामा छ । यसले शान्ति के हो, किन आवश्यक छ भनेर महत्व दर्शाउँछ ।
नेपालमा अहिले केही हदसम्म शान्ति छाएको छ । विद्रोहमा गएको माओवादी शक्ति शान्ति प्रक्रियामा आएको छ । तर, उसको सबै अंग शान्ति प्रक्रियामा आएको छैन । उबाट विभाजित भएका दुईओटा शक्तिले यदाकदा विद्रोहको संकेत पनि गर्दैछन् । संबिधानको खिलाफमा उत्रिएका छन् । उनीहरूमात्र हैन, तराईवादी दलमा रहेका कतिपय गुटहरूले पनि संबिधानको खिलाफमा नारा लगाएका छन् । शक्ति प्रदर्शन गरेका छन् । यी सबैलाई सत्ताले समेट्न सकेको छैन । यसले भोलिका दिनमा अशान्ति निम्ताउन सक्ने खतरा देखापर्छ । तर, सरकारले भने त्यस्ता शक्तिलाई वल प्रयोग गरेर दमनबाट चुप गराउने प्रयत्न गर्दैछ । दमनले विद्रोह निम्ताउँछ भन्ने कुरा बुझ्ने प्रयास गरिएन । स्थायी रूपमा शान्ति कायम गर्नको लागि राज्यले देशलाई आर्थिक रूपमा सम्पन्न तुल्याउने तथा आम जनतालाई कामको जिम्मा दिनु जरुरी हुन्छ । मानिस बेरोजगार हुन्छ, खान बस्न समस्या हुन्छ, महंगीले ढाड सेक्न थाल्छ, सत्तामा पुगेकाहरूले कर अशुल्दै कारमा शान देखाउन थाल्छन् त्यतिबेला त्यो पक्ष विद्रोहमा उत्रन्छ । त्यहाँ शान्ति खल्बलिन्छ । यो बैज्ञानिक सत्य हो । यो कुरा बुझेर सत्ताका सञ्चालकहरूले जनताको हितमा काम गर्नु आवश्यक हुन्छ । विश्व शान्ति दिवसका दिनमा यो कुरालाई सबैले मनन गर्ने कि ?