© २०२३
आज तीन असौज, संविधान दिवस । नेपालले लोकतान्त्रिक गणतन्त्र पाएको दिन । सामन्तवादी राजतन्त्रात्मक ब्यवस्थाको अन्येष्टि घोषणा गरिएको दिन । त्योमात्र नभएर सबैखाले सामन्तवाद उन्मूलन भएको दिन । नेपाली जनताको मुक्तिको दिन । यो कुरा सुन्दा निकै कर्णप्रिय लाग्छ । कान पवित्र हुन्छन् । जनताले भीषण आन्दोलन गरेर भित्राएको संविधान अहिले हाम्रासामु छ । हामी त्यहि संविधानको मातहतमा छौँ । संविधानसभाले निर्माण गरेको पवित्र संविधानलाई शिरमा राखेर अहिले हामी गणतन्त्रको संस्थागत विकास गर्दै देशलाई आर्थिक समृद्धिमा हिँडाउँदै छौँ । जनताका हरेकखाले अधिकारहरू सुनिश्चित गर्दैछौँ । निश्चित हो कि संविधानसभाले निर्माण गरेको संविधानमा कुनै खोट छैन । अक्षरहरूमा खोट हुँदैन । खोट हुन्छ त्यसको पालनामा । त्यसलाई लागू गर्ने तौर तरिकामा । संविधान लागू गर्ने काम माथिल्लो निकायबाट हो । सत्ता सञ्चालकहरूले हो । सत्ता सञ्चालकहरूले संविधानलाई पालना गरेका छन् कि छैनन्, जनतालाई अधिकार उपलब्ध गराएका छन् कि छैनन् ? देशमा सदाचार कायम गरिएको छ कि छैन ? खोज्नुपर्ने विषय यो हो ।
मुलुकको अबस्थालाई हेर्दा अहिले र पहिलेमा कुनै फरक पाउन सकिँदैन । हाम्रा राज्य सञ्चालकहरूको चरित्रमा सुधार आएकै छैन । भ्रष्टाचार पुरानै गतिमा छ । अन्याय अत्याचार, जनताको सुरक्षा, न्याय ब्यवस्थामा कुनै सुधार आएको छैन । बरु अराजकता बृद्धि भएको छ । कानुनको ठाडो उल्लंघन गरिएको छ । राज्यको अर्थतन्त्रमाथि लूट मच्चाइएको छ । संविधानलाई कागजको खोष्टा बनाइएको छ । जताततै हत्या, बलात्कार, अपहरण जारी छ । असुरक्षा कतिसम्म छ भन्ने कुरा निर्मला पन्तको बलात्कार पछि हत्या, काठमाडौंको गेष्ट हाउसको बलात्कार, रूपन्देहीको बलात्कारका घटना र अपराधी पत्ता नलाग्नु, अपराधीहरू राज्यका पहुँचवाला हुनुले यहाँको सुरक्षा ब्यवस्था उजागर गरेको छ । जसको हातमा सुरक्षाको जिम्मा दिइएको छ उनीबाटै नामुद अपराधका श्रृंखला बढाइएका छन् । यो अवस्थामा संविधानमात्र राम्रो भएर के अर्थ ? जनताले पुरानो सत्ताको विरुद्ध ज्यानको बाजी लगाएर आन्दोलन गरे । संविधानसभाको निर्वाचन गरे । जनप्रतिनिधि चुने । संविधान लेख्न लगाए । जनताबाट सबै काम सम्पन्न भएको हो । तर, सत्ता सञ्चालकबाट संविधानको दुरूपयोग हुन पुग्यो ।
अझै त्यति लामो समय बितिसकेको छैन । हामी अनुभवको क्रममा छौँ । कामबाटै काम सिक्ने हो । बिग्रेकोलाई सपार्दै जाने हो । नेताहरूले सदाचारिता अपनाउनु पर्छ । संविधानलाई कसरी परिपालन गर्ने हो भन्ने कुरामा बढी जोड दिनुपर्छ । कर्मचारीतन्त्रलाई भ्रष्टाचारमुक्त पार्नुपर्छ । अपराधीहरूलाई कडा दण्ड दिने प्राबधान राख्नुपर्छ । आर्थिक अपचलनलाई निरुत्साहित गर्नुपर्छ । यी काम समयमै गर्न सकिएन भने यसले फेरि अर्को विद्रोह निम्ताउँछ भन्ने कुरालाई बभ्m्नु जरुरी छ । विगतका विद्रोबाट पनि पाठ सिक्नुपर्छ । यो कुरा सत्य हो कि जहाँ जनताले सुरक्षा, न्याय, पाउँदैनन्, जहाँ दमन, शोषण हुन्छ, जनताले उचित ज्याला पाउँदैनन्, रोजगारविहीन हुन्छन्, महंगीले पिल्सिन्छन् त्यहाँ विद्रोह निश्चित छ । संविधानको बारले उनीहरूलाई रोक्न सक्तैन । त्यसैले संविधानको पालना गर्ने कुरालाई नेतागणहरूले ध्यान दिनु आवश्यक छ । संविधान दिवसको अवसरमा यो कुरालाई सबैले मनन गर्नु पर्छ ।