© २०२३
घोराही उपमहानगरपालिका–६ की स्याम्फुली चौधरी प्रत्येक दिन बिहान २ बजे उठ्छिन् । उमेरले ४५ वर्ष पारगरेकी उनी अघिल्लो दिन टिपेको तरकारी बोकेर ३ बज्दा नबज्दै घरबाट हिँड्छिन् । उनको मर्निङ वाक तरकारीसँगै हुन्छ । ७ किलोमिटरको बाटो पैदल पारगर्दै तरकारी बिक्रीका लागि घोराही बजारमा तरकारीले भरिएको छिट्वा बोकेर घरघर पुग्ने गर्छिन् । बिहान सवेरै घर अगाडी ताजा तरकारी ल्याउने स्याम्फोलीको तरकारी ८ बज्दा नबज्दै बिक्री भैसक्छ । छिट्वामा बोकेर ल्याएको तरकारी विक्रिवाट उनले दैनिक ४ देखी ६ सयसम्म आम्दानी गर्छिन् ।
विगत १० बर्ष देखी उनले यो ब्यापार गर्दै आएकी छिन् । यति लामो समयदेखी गरिरहेको ब्यापारमा उनलाई कहिल्यै थकानको महशुस भएन । “दैनिक गुर्गैँदेखि आफूले उत्पादन गरेका सिजनका तरकारी बिक्रिका लागि घोराही जान्छु” स्याम्फोलीले भनिन् । उनले सिजनमा उत्पादन हुने तरकारीको खेती गर्छिन् । कम लागतमा उत्पादन हुने भएकोले सिजनमाहुने तरकारी मात्रै उत्पादन गर्ने गरेको स्याम्फोली बताउँछिन् ।
आफुले उत्पादन गरेको तरकारी बेच्दै गाँउदेखि घोराही पुग्छिन् उनी । “बेमौसमी तरकारी उत्पादन गर्दा लगानी धेरै चाहिने भएकोले सिजनको तरकारी खेती गर्ने गरेकी छु” स्याम्फोलीले भनिन् । आफैले उत्पादन गरेको तरकारी विक्रिका लागि घोराही जादा सजिलै विक्रि हुने गरेको उनले बताईन् । “हामिलाई तरकारी बजारको भाउ थाहा हुदैन, आफैले मुल्य राख्यो त्यसमा दुईचार पैसा तलमाथि गरेर विक्रि गर्छु” उनले भनिन् । बजारमा छिटुवामा तरकारी वोकेर हिड्दा घरका छतवाट जे देख्यो त्यै तरकारीको नामवाट बोलाउने गरेको उनको अनुभव छ । “छिटुवामा साग देखे भने ए साग भनेर बोलाउने गर्छन् तर मलाई त्यसरी वोलाएको भने पटक्कै मन पर्दैन” उनले भनिन् ।
दाङ जिल्लामा थारु समुदायका महिलाहरूको बिहान सवेरै छिट्वामा तरकारी विक्रि गर्ने चलन नै बनिसकेको छ । विहान सवेरै घोराही बजारका गल्ली गल्लीमा स्याम्फोली जस्ता महिलाहरू तरकारी विक्रिगरीरहेका थुप्रै भटिन्छन् । व्यवसायीक रूपमा धेरै उत्पादन गर्नेहरूले अटो रिक्सा तथा मोटरसाईकलमा ल्याएर तरकारी बजारमा लगेर विक्रि गर्छन् । तर थोरै उत्पादन गर्नेहरूले भने यसरी नै घरघर डुलाउँदै विक्रि गर्ने गर्दछन् । स्याम्फोलीले तरकारी विक्रिवाट मासीक १० हजार रूपैया बचत हुने गरेको बताईन् । थोरै जमिनबाट राम्रो आम्दानी गर्न सकिने भएपछि तरकारीको व्यापार गर्न थालेको उनको भनाई छ । धेरै तरकारी खेती गर्नको लागि आफुसंग प्रसस्त जमिन नभएकोले परिश्रम अनुसारको आम्दानी भने नभएको उनी बताउँछिन् । हुन त बजारमा बस्नेहरूले तरकारी बजारवाट पनि तरकारी खरीद गर्छन् । तर यसरी घरघर तरकारी ल्याएर आउनेहरूले ल्याएको तरकारी ताजा हुने भएकोले सवैले रुचाउने गरेको उनको अनुभव छ ।
आफूले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको पैसाले घरखर्च चलाउँदै आएकी छिन् । अहिले उनको छोरीले विविएस पढ्दै छिन् भने छोराले पनि प्लस टु पढ्दै छन् । “मैले तरकारी बिक्रीबाट आएको पैसाले छोरा र छोरीलाई पढाउँदै आएकी छु” स्याम्फोलीले भनिन् । उनका श्रीमानले गाउँमै तथा कहिलेकाहीँ बजारमा गएर काठको काम गर्छन् भने बाँकी समयमा स्याम्फोली र उनका श्रीमानले अन्य कृषिको काम पनि गर्छन् । तरकारी उत्पादनमा उनका श्रीमान तथा छोराछोरीले पनि सहयोग गर्ने गरेको स्याम्फोलीले बताईन् ।