© २०२३
आज बाल दिवस हो । बाल अधिकारलाई संयुक्त राष्ट्रसंघको नीतिअनुरूप पालना गर्ने प्रतिवद्धता जनाएको मुलुक हो नेपाल । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९८९ को नोभेम्वर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसको केही बर्षमा नेपालले सो महासन्धिअनुसार पालना गर्ने प्रतिवद्धता जनाएको थियो । तर, पालना कति गरेको छ भन्ने कुरा यहाँका होटेलहरूमा हात कुहाएर भाँडा माझ्दै गरेका बाल श्रमिक, संभ्रान्तहरूले घरका काममा जोताएका घरेलु नोकर, नागरपालिकाहरूद्वारा सडकमा फोहर संकलनका लागि राखिएका कण्टेनरमा जुठो र कुहिएको खाद्यबस्तु खोज्दै हिँडेका टुहुरा बालबालिकालाई हेर्दा बाल अधिकार कति लागू भएको छ भनेर अनुमान गर्न सकिन्छ । अझ भरखरैको घटना जुन सुन्दा पनि आङ सिरिंग हुन्छ, कञ्चनपुरमा १३ बर्षकी निर्मला पन्तमाथि बलात्कार गरी मारेर फालिएको घटनाले नेपालमा बाल अधिकार कसरी बालबालिकाले पाएका छन् भनेर अनुमान गर्न सकिन्छ । घटनाको अनुसन्धान गर्न बनेको छानविन समितिका सदस्यले नै शक्तिशाली अपराधिले धम्की दिँदा प्रतिवेदन पनि सार्वजनिक नगरी राजीनामा दिनु परेको छ । योभन्दा बढी बालअधिकारको कथा अरू के हुन सक्छ ?
बालअधिकार सुनिश्चित गर्नको लागि यहि भदौ महिनाबाट लागू हुने गरी कतिपय नयाँ कानुनहरू सार्वजनिक गरिएको छ । कानुन त नेपालमा जति पनि बनाइन्छन् । ती सबै कानुन उत्कृष्ट नै हुन्छन् । तर, ब्यवहारमा लागू कति हुन्छन् मुख्य कुरा यो हो । बालविवाह अहिले पनि समाजमा चलिरहेकै छ । दाइजो प्रथा खुल्ला रूपमा चलेको छ । कानुनका ब्याख्याताहरूले नै बालबालिकालाई घरेलु काममा जोताएका छन् । कानुन लागू गर्ने जिम्मेवार निकायका पदाधिकारीका घरमा सबैभन्दा चर्को श्रम बालबालिकाले नै गर्नुपरेको छ । अझ बालिकाहरू बलात्कृत हुने, बेपत्ता पारिने जस्ता घटना पनि नसुनिएका हैनन् । नीतिगत कुरा गर्दा वास्तवमा बालबालिकाहरूलाई शोषण गर्ने शुरुवात यहाँको संरचनाले गरेको छ । निजीपूँजीवादी सामाजिक संरचनामा बालबालिकाहरू पनि दुई वर्गमा विभाजित भएका हुन्छन् । धनीहरूले आफ्ना बालबालिकालाई सुबिधासम्पन्न तुल्याएका छन् । सबैखाले अधिकारहरू उनीहरूले सुरक्षित राखेका होलान् । तर, विपन्न परिवारका बालबालिकाहरूले घरको कामकाज नगरी सुखै हुँदैन । बाबुआमा काममा जानुपर्छ । भाइबहिनाको रेखदेख गर्नु, खाना बनाउनु उनीहरूको जिम्मामा हुन्छ । पढ्न जान पाउँदैनन् । मीठो, पौष्टिक खाना खान पाउँदैनन् । त्यसैले भन्न सकिन्छ कि यहाँ बालअधिकार संभ्रान्त परिवारमामात्र खुम्चेको छ । ९० प्रतिशत बालबालिकाहरू चर्को श्रम शोषणमा परेका छन् । अधिकारबाट विमुख छन् । यसलाई कसले हेर्ने प्रश्न उठेको छ ।
आज हिन्दु महिलाहरूले मनाउने तीज पर्वको अन्तिम दिन ऋषि पञ्चमी हो । रजश्वला भएका महिलाहरूले बर्षदिनसम्म गरेको रजो–पाप सप्तऋषिको पूजा गरेर कटाउने भन्ने भनाइ अघि सारिएको छ । पापको नाम दिएर महिलामाथि पितृसत्तावादी मठाधीशहरूबाट गरिएको यो अर्को प्रकारको शोषण, दमन र उत्पीडन हो । महिलालाई आफ्नो अधिनस्थ राख्ने पितृसत्तावादीहरूको पुरानो खेल हो । तर, आम महिलाहरूले आफूमाथि भएको यो बर्बरतापूर्ण प्रपञ्चलाई चिर्न नसकी टपरे पण्डितको पछि लागेर सप्तऋषिको पूजा गर्ने धुनमा दौडिरहेका छन् । कसले शुरुवात ग¥यो, किन गरियो, यसको पछाडिको कारण के हुन सक्छ भनेर भौतिकवादी ढंगबाट खोजविन गर्न चाहँदैनन् । परम्परा देखि गर्दै आएको चलन भनेर विरालो ढाकेर श्राद्धकर्म गरे झैँ गरिरहेका छन् । दिनदिनै ब्रसले दाँत घोट्नेहरूले पनि ३ सय ६५ ओटा दतिवन चपाउन पुग्छन् । महिलाहरू वास्तवमा अति धर्मभिरु (पापको नाम सुन्दासाथै डराउने) छन् । अब महिलाहरूले यस्ता पाखण्डी कर्मकाण्डी चलनकाविरुद्धमा भौतिकवादी ढंगबाट बस्तुलाई बुझेर अघि बढ्नु आवश्यक छ ।