© २०२३
प्रसूति सेवाको प्रभावकारी व्यवस्थापन हुनुपर्ने माग गर्दैै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका आमा, गर्भवती महिला तथा सरोकारवालाहरूले सामूहिक रूपमा गाउँपालिका समक्ष माग पत्र पेश गरेका छन् । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नं. २ मा रहेको सिम्रुतु स्वास्थ्य चौकीमा रहेको प्रसुती गृहमा सुत्केरी हुन आउने महिलाहरूले उक्त गृहबाट प्रदान हुने सुबिधा स्रोत साधनको अभावका कारण प्रभावकारी हुन नसकेको भन्दै सेवालाई प्रभावकारी बनाउनका लागी बिभिन्न मागहरू राखेर स्वास्थ्य चौकी सिम्रुतु मार्फत गाउँपालिका कार्यालयमा माग पत्र पेश गरेका स्थानीय सुत्केरी आमा गंगा चन्दले बताइन् ।
चन्दका अनुसार, दक्ष र पर्याप्त जनशक्ति व्यवस्था गर्नुपर्ने, सुत्केरीलाई मौसम अनुसार एसीको व्यवस्था गर्नुपर्ने, बच्चा जन्मिसकेपछि न्यानो कपडाको व्यवस्था गर्नुपर्ने, प्रत्येक टोलमा स्टेचरको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा एउटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र सुत्केरी महिलाका लागि भनेर आएको बजेट रकमान्तर नगरी उल्लेखित शीर्षकमै खर्च गर्नुपर्ने भनेर छ बुदाँमा आफ्ना मागहरू पेश गरिएको छ ।
सिम्रूतु स्वास्थ्य चौकीका प्रमुख भिमबहादुर चन्दले् महिलाहरूले राखेका मागहरू यहाँका जायज मागहरू भएको बताउदै यस बिषयमा गाउँपालिका संग आवश्यक छलफल गर्न आफु तयार रहेको बताएका छन् । प्रसूति गृहको प्रभावकारिताका लागि आवश्यक प्राविधिक दक्ष जनशक्ति र भौतिक पुर्वाधार नहुदाँ आफुहरूले सधै गाह्रो तरिकाबाट जसोतसो सेवा दिईरहेको प्रमुख चन्दको भनाई छ । त्रिवेणीका महिलाहरूले राखेको मागबारे सिम्रुतु स्वास्थ्य चौकी माफत स्थानिय सरकारलाई जानकारी भएको बताउदै त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले आमा र बच्चाको सुरक्षाका लागी भनेर सरोकारवालाहरूले राखेको मागमा आफू गम्भिर भएको र यसको परिपुर्ती गर्दै प्रसुती सेवालाई र सिंगो स्वास्थ्य क्षेत्रलाई नै प्रभावकारी बनाउन स्थानिय सरकारले आवश्यक नीतिनियम बनाई चाँडै कार्यन्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रसुती सेवा प्रभावकारी हुन नसक्दा रुकुमका बिभिन्न भागमा र त्रिवोणीकै धेरै महिलाहरूले बर्षेणी ज्यान गुमाउने गरेका छन् । मान अधिकार सरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालले प्रसुती गृहको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक पैरवी गर्न सहजिकरण गरिरहेका छ । त्रिवेणी गाउँपालिाका संगै जिल्लाका अन्य बिभिन्न स्थानमा रहेका सामाजिक मुद्दाहरूमा आफ्नो संस्थाले सुधारका लगि पहल गर्ने जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताए ।