© २०२३
सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी संहिताले खोज पत्रकारितामा कुनै पनि असर नगर्ने प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीले बताएका छन् । सभामुख घर्तीले हरेक कानुनहरू परिस्थिति अनुसार फेरिने बताउँदै जनताको रगत पसिनाबाट गणतन्त्र आएको र त्यहि गणतन्त्रको जगबाट बनेको संविधान र त्यसैलाई टेकेर बनेका ऐन कानुनहरू जनपक्षिय भएको बताएका छन् । उनले पछिल्लो समयमा कानुनी क्षेत्र, चिकित्सक र सञ्चार क्षेत्रमा भय पैदा भएको भन्दै यसमा आत्तिनुपर्ने अवस्था नभएको बताए
बुद्ध सामुदायिक टेलिभिजनले आफ्नो ११ औं बार्षिकोत्सवको अबसरमा बुटवलमा आयोजना गरेको नयाँ संहिता, संचार र संशय बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले खोज पत्रकारितामा नयाँ संहिताले कुनै पनि असर नगर्ने भन्दै अहिले नै पत्रकारहरू आत्तिनुपर्ने अवस्था नभएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस संसदिय दलका नेता बलदेब शर्मा पोखरेलले लोकतन्त्रका नाममा सुचना र पे्रेसलाई नियन्त्रणमा राख्न खोज्नु गलत भएको टिप्पणी गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कसैसंग पनि नेपाली कांग्रेसले सम्झौता नगर्ने बताए ।
कार्यक्रममा नेकपा संसदिय वोर्डका सचिव माननिय भोजप्रसाद श्रेष्ठले हरेक ऐन कानुन परिर्वतनशील हुने भन्दै संचार क्षेत्रमा वाधा पुग्ने खालका भए त्यसको संशोधन आवश्यक रहेको टिप्पणी गरे । उनले २ तिहाई सरकार कठोर नभई नरम भएर अगाडि बढ्नु पर्ने बताए । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारहरूलाई ऐनका नाममा नियन्त्रणमा लिन खोज्ने खालको दुश्प्रयास कसैले नगर्न चेतावनी दिए । उनले घाँटीमा तरबार तेर्साएर स्वतन्त्र र निश्पक्ष पत्रकारिताको अपेक्षा गर्नु सरासर गलत हुने टिप्पणी गरे । उनले नेपाल पत्रकार महासंघले सरकारलाई ऐनमा भएका व्यवस्थालाई खारेज गर्न संशोधन गर्न र सुधार गर्न सुझाव दिएको भन्दै त्यसलाई अटेर गरे सरकारले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै कानुन आयोग प्रदेश ५ का अध्यक्ष कुमार आचार्यले नेपाली मिडिया र मिडियाकर्मीहरू धेरै संशयमा रहनु नपर्ने बताए । उनले संहिताको उद्देश्य मिडियाको भावनालाई संकुचन नगर्ने खालको नभएको दाबी गर्दै त्यस्तो अवस्था रहेमा त्यसलाई संशोधन गर्न सकिने बताए । कार्यक्रममा बोल्दै बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ वहादुर फौदारले समाजको साहाराका रूपमा रहेको मिडिया र त्यहाँ काम गर्ने संचारकर्मीहरूलाई निर्वाध कार्य सम्पादनको अधिकार हुनु पर्ने बताए । कार्यक्रममा नयाँ सहिता संचार र संशय विषयमा कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता महेन्द्र पाण्डेले नयाँ ऐनले संचार जगतललाई त्रसिद पारेको भन्दै त्यसलाई सच्चाउनुको विकल्प नभएको बताएका थिए । कार्यपत्रमाथी टिप्पणी गर्दै अधिवक्ता तथा लेखक युवराज कंडेलले ऐनमा केहि खराब नियत देखीएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । अर्का टिप्पणीकर्ता अधिवक्ता ओम पंगेनीले बजारमा बहस भएजस्तो ऐनमा त्यति खतरा नरहेको भन्दै केही कुराहरूलाई सुधार गरेर जाँदा त्यसले सकारात्मक परिणाम दिने बताए । कार्यक्रममा पूर्व सांसद विनोद पहाडी, पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष मौसम रोका मगर, डेमोक्र्याटीक लोयर एशोसिएसन रूपन्देहीका अध्यक्ष रामजी ज्ञवाली, पत्रकार महासंघ रूपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, शाखा सचिव राम प्रसाद आचार्य, लेखक तथा राजनितीज्ञ मनिकर कार्की, पत्रकाहरू दामोदर खनाल र रेखा भुषाल, टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद भुषाल, समाचार प्रमुख विक्रम खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।