© २०२३
पाल्पा, २६ पुस । तानसेन नगरपालिकाको अर्गलीको वेद कला न्यौपानेले सात दशकको उमेर पार गरिन् । हिउँदको याममा घरको आँगनमा किला गाढेर खरको डोरीको तान बनाएर परालको गुन्द्री बुनेको उनको मानसपटलमा अझसम्म ताजै छ ।
अग्ला अग्ला धानका बोट (पराल) छुट्टै दाइँ गर्ने समयमा अलग्गै राखेर त्यसैबाट वर्ष दिनको लागि साना ठूला गरी १०÷१५ बटा गुन्द्री बुन्नु पर्दथ्यो । तर आजभोलि समय र बिकासका कारणले परालका गुन्द्रीका ठाउँमा विभिन्न काठ तथा प्लाष्टिकका सामानहरूको चलन चल्तीका कारण परालका गुन्द्रीहरू हराउँदै जाँदा सिप समेत हराएर गएको उनी बताउँछिन् । मंसिरमा धान पराल घर ल्याएपछि पुस लागेपछि सबैका घर घर पहारिलो घाममा बसेर गुन्द्री बुन्ने प्रचलन थियो । जुठो परेको घर बाहेक सबैका घर घर गुन्द्री बुनेर भ्याएपछि महिलाहरू माइत जाने प्रचलन थियो तर आजभोलि यी गुन्द्रीहरू एकादेशको कथा जस्तै भएको छ ।
घरका कोही नयाँ पाहुना आए घरको पेटी वा दलानमा नयाँ गुन्द्री ओछ्याएर पाहुनालाई स्वागत गर्ने प्रचलन थियो । खाना खाने भान्सामा समेत गुन्द्री ओछ्छाउने, सुत्ने कोठामा पनि गुन्द्री नै हुन्थ्यो मानिसको अन्तिम अवस्थामा नयाँ र चोखा गुन्द्रीहरूको प्रयोग हुन्थ्यो । यस्तो झन्झटिलो र मिहीन काम गर्न देख्दा सजिलो देखिए पनि निकै कठिन हुन्छ । आजभोलि समय र प्रविधिको बिकासले कुर्ची, पलड्ड जस्ता नयाँ नयाँ बस्तुको सिर्जना भएको छ । पराल बाट निर्मीत वातावरणिय हिसाबले पनि उपयोगी स्वास्थ्यका लागि पनि बहुगुणी यसको प्रयोग हुन्थ्यो । पूजापाठको लागि कुश बाट निर्मीत साना गुन्द्रीहरू पनि बनाउने प्रचलन आजसम्म कतैकतै चलिरहेको छ । गोरुले पराल दाउने ठाउँमा थे्रसर आयो । बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका आकर्षक गुन्द्रीहरू पाइन थाल्यो । भान्सा कोठा र सुत्ने कोठामा काठ बाट निर्मीत सामग्रीहरूले सजिन थाले । हराउँदै गयो हाम्रो परम्परागत कला अनि सिप अनि मौलिकता । हाम्रो सभ्यता र संस्कृति र सिपलाई आधुनिकताले अतिग्रहण गरेको वगनासकाली गाउँपालिका बराड्डदीका निवर्तमान जनप्रतिनिधि गणेश बस्याल बताउँछन् ।
रम्भा गाउँपालिका पिपलडाँडाकी खेम कुमारी शारु पनि उमेरको हिसाबले ५ दशक पुरा गरेकी महिला हुन् । उनीले यसपटक जसो तसो गरेर खरको डोरी होइन बजारमा पाइने सुतरी कोडोरीले ५ वटा परालका गुन्द्रीहरू बुनेको बताउँछिन् । पहिले पहिले उनीसँगै गुन्दी बुन्ने उनका टोल छिमेकमा होडबाजी नै चल्थ्यो तर पछिल्ला वर्षहरूमा उनी मात्र भएको बताइन् । नया पुस्ताले परालको गुन्द्री देख्नै छाडे । बजारमा पाइने आकर्षक प्लाष्टिकका गुन्द्रीहरू प्रयोग गर्न थालेको उनी बताउँछिन् ।
पुराना पुस्तादेखि बिचको पुस्ता सम्म आइपुगेका सबै महिलाहरूमा यो सिप अनिवार्य जस्तै सिक्नुु पर्दथ्यो । जब नयाँ पुस्ता आए उनीहरूमा यो सिप हराएर गएको हुगींको पुराना पुस्ताकी पार्वती भट्टराई बताउँछिन् । पुराना पुस्ताका महिलाहरूको लागि यो सिप घरमै सिक्ने गरे पनि आजभोलि व्यवहारिक ज्ञान भन्दै विद्यालयमा पनि सिकाउँदा नयाँ जस्तै भएको छ । विद्यालयमा यस्ता व्यवहारिक शिक्षा अनिवार्य नै हुनुपर्ने हो । यस्ता सिपको अनुभव भएका नयाँ पुस्ता नै नभएको पुर्वखोला गाउँपालिकाको पुर्वखोलाकी अम्बिका दर्लामी बताउँछिन् ।
हाम्रो धर्म, संस्कृति र परपरागत सिप र कला माथि पश्चिमेली संभ्यताले नराम्रो संग गाज्न थाल्यो । तब हाम्रो परपरागत, संस्कृती महŒव बोकेका यस्ता सिप र कलाहरू एक पछि अर्को गरी हराएर गएको स्थानिय इश्वरी खनाल बताउँछन् । पहिले पहिले घरयासी प्रयोजनका लागि मात्र नभएर बिक्रीका लागि पनि गुन्द्री बुन्ने प्रचलन थियो । २ ,४ वटा ठुला गुन्द्री बिक्री गर्दा राम्रै कमाई हुन्थ्यो । त्यसै बाट नुन चिनी किनेको निस्दी गाउँपालिकाको मुठाबासकी सिता सोती बताउँछिन् ।