दाङ, २५ पुस ।
प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत भएको पहिलो दिनको खेलमा दाङ र नवलपरासीले विजयी शुरुवात गरेका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा बिहीबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुरु भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा दाङले पाल्पालाई ८७ रनले र नवलपरासीले बर्दियालाई ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन् ।
लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा टी–२० छनोट प्रतियोगिताको उदघाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दाङले निर्धारित ओभरमा २ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।
दाङकी सरस्वती जिएमले कप्तानी पारी खेल्दै अविजित ६९ रन बनाइन । १ सय ४१ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको पाल्पा १२ दशमलव ५ ओभरमा अलआउट हुँदै ५३ रनमा समेटियो । पाल्पालाई सस्तैमा समेट्न दाङकी अनिता चौधरीले दुई दशमलव ५ बलमा १ मेडनसहित ५ रन दिएर ३ विकेट लिइन् ।
प्रतियोगितामा दाङकी कप्तान सरस्वती जिएम प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए । प्रतियोगितामा दाङकी कप्तान सरस्वती जिएम प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिए ।
यसैगरी, दोस्रो खेलमा नवलपरासीले टर जितेर पहिले ब्याटिङ गरेको नवलपरासीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । नवलपरासीका लागि कप्तान सरस्वती पुनले अविजित ३० रनको योगदान दिँदा सुम्निमा नेपालीले २१ रन, साक्षी भण्डारीले १२ रनको योगदान दिए । बलिङतर्फ बर्दियाकी दीपा कुँवर, रितिसा मानन्धर, विमला मगरले १–१ विकेट लिए ।
१ सय २५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको बर्दियाको टीमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९३ रन मात्रै बनायो ।
बर्दियालाई सस्तैमा रोक्न सुम्निमा नेपालीले ४ ओभरमा २४ रन दिएर महत्वपूर्ण २ विकेट लिइन् । यसैगरी, सशी पाण्डेले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिँदा वन्दना बिकले २ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् । २१ रनसहित २ विकेट लिन सफल नवलपरासीकी सम्निमा नेपाली प्लेयर अफ द म्याच भइन ।
प्रतियोगिता अन्तरगत अब शुक्रबार बिहान बाँके र पाल्पा बीच खेल हुँदा दिउँसो नवलपरासी र रुपन्देही बीच खेल हुने आयोजकले जनाएको छ । यसैगरी, पुस २७ गते दाङ र बाँके बीच बिहान खेल हुँदा दिउँसो रुपन्देही र बर्दिया बीच खेल हुने सचिव रोका मगरले जानकारी दिए ।
उनका अनुसार, पुस २८ गते समुह ‘ए’ को विजेता र समुह ‘बी’ को उपविजेता बीच बिहान पहिलो सेमिफाईनलको खेल हुनेछ भने दिउँसो समुह ‘बी’ को विजेता र समुह ‘ए’ को उपविजेता बीच दोस्रो सेमिफाईनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाईनल खेल पुस २९ गते हुने सचिव रोका मगरले जानकारी दिए ।
महिला क्रिकेट छनोट प्रतियोगितामा समुह ‘ए’ मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समुह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् ।
क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट संघले आयोजनामा शुरु भएको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गरेको छ ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । त्यसको तयारी स्वरुप लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता शुरु भएको हो । माघमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ । यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।।।