© २०२३
मनमा केही गरौं भन्ने हुटहुटी बोकेका साथीहरू जागौ केही गरौं । बाघखोर बिकास र समृद्धिले भरिपूर्ण भएको गाउँ बन्छ, बन्नेछ आउनुहोस् संकल्प गरांै । गाउँलाई सुन्दर र नमूना गाउँ बनाउन पहल गरौ । स्वास्थ्य, शिक्षा, बेरोजगारी, गरिबी, संचार, सडक, यातायात कुनै किसिमको अभाव नहोस् । जनतालाई खुशी राख्ने समृद्ध बाघखोर आत्मनिर्भर बाघखोरबासीको सपना साकार बनाउने जिम्मेवारी हाम्रै हो । वैदेशिक रोजगारी र केरा खेती लगायत यहाँको कृषि पेसाले निर्वाहमुखी जीवनयापन बिताइरहेका बाघखोरबासीको लागि अब केही गरांै । जनतालाई राम्रोसँग खान पुग्ने बाताबरण बनाउनुपर्नेछ । गाउँ निर्वाहमुखी नभएरै पूरै आत्मनिर्भर र व्यावसायी बन्नुपर्छ । शिक्षा, स्वास्थ्य, सशक्तीकरण, आर्यआर्जन, रोजगारी, स्वरोजगार लगायतका बिषयहरूमा विशेष ध्यान दिदै अब हामी फराकिलो गरि सोचौं र महत्वपूर्ण ठूला योजना निर्माण अभियानमा जुटौ । सबैलाई साथ लिएर समृद्धिको अभियानमा जुट्नुपर्ने आजको आवश्यकता हो । अहिलेसम्म केही नभएको भने होइन । केही न केही पक्कै भएका छन् । सडक, खानेपानी, बिजुली लगायत केही आधारभूत पूर्वाधारका कामहरू, जेष्ठ नागरिक, असक्तहरूको घर घरमा स्वास्थ्य परिक्षण जस्ता सामाजिक क्रियाकलापहरू भएका छन् । यसलाई सकारात्मक नै मानौँ । टोलस्तरका ती तमाम आधारभूत विकास योजनाहरूको क्रमशः सम्बोधन गर्नुपर्नेछ ।
बाहिर गएका युवाहरूलाई गाउँमा नै केही न केही पेसा अगाल्नुपर्छ भनी फर्कने बाताबरण बनाउनुपर्नेछ । व्यावसायिक कृषि फर्म तथा कुखुरा पालन, बाख्रा पालन, यहाँको केरा खेती, मत्स्यपालन, होमस्टे, जडिबुटी उत्पादन लगायत धेरै सम्भावना हरूको राम्रोसँग अध्ययन गरौं । हाम्रो गाउँमा सबै क्षेत्रबाट आएका धेरै जातजातिका मानिसहरू बस्ने हुनाले सबैका आ–आफ्ना आस्था अनुसारका धर्म, संस्कृति, परम्परा लाई सम्मान एवं संरक्षण गर्नुपर्ने छ । सामाजिक संघसंस्था, क्लबहरूका प्लेट फर्महरूलाई सकृय बनाउनु पर्नेछ ताकि सामाजिक अभियान उपलब्धिमूलक होस् । युवाहरूलाई ब्यस्त र स्वस्थ्य राख्न विभिन्न खालका खेलकुदका कार्यक्रमहरू संचालन गर्नुपर्ने हुन्छ । खेलकुद गतिविधिले राम्रा खेलाडीहरू उत्पादन गर्न सकिन्छ । तिनै खेलाडीमार्फत गाउँको नाम राष्ट्र र अन्तरास्ट्रिय स्तरसम्म चिनाउन सकिन्छ । गाउँका युवाहरू खेलकुदमा रमाउनको लागि खेल मैदान आवश्यक थियोे । यसको पहल युवा क्लबले गरिरहेको देख्दा खुसी लागेको छ । त्यसमा हामी सबैले साथ दिनुपर्ने छ । गैरीटोलको दुर्गा मन्दिर र शिवालय मन्दिरमा एउटा व्यवस्थित पार्क बनाउन सकिन्छ । त्यहाँ बच्चाबच्ची खेल्ने रमाउने, घुम्ने बाल उद्यान बनाउन सकिन्छ । यसको लागि पहल गरौँ । गाउँमा रहेको निम्न माध्यमिक बिद्यालयलाई कमसेकम माध्यमिक तहसम्म अध्ययन गर्ने बाताबरण बनाउनुपर्छ । बिद्यालयमा अहिलेको प्रबिधिको प्रयोग गराउने तथा तालिम प्राप्त बिषयगत शिक्षकहरूको ब्यवस्था गर्नेसँगै पुस्तक र पत्रपत्रिका पढ्न सकिने व्यवस्थित पुस्तकालय बनाउने । बिद्यालयको जमिनमा उक्त बिद्यालयकै पूर्व विद्यार्थीहरूको लागि सामूहिक उद्यम संचालन गर्ने बाताबरण पनि बनाउन सकिन्छ । युवा बिद्यार्थीलाई उद्यमसँग जोड्न विभिन्न सीप बिकास तालिम दिन सकिन्छ ।
स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रको राम्रो प्रबन्ध हुनुपर्छ । गाउँको स्वास्थ चौकी अल्ली अपाई भयो भन्ने जनगुनासो छ । यसलाई स्वार्थकर्मीहरूले टोलटोलमा घुम्ती शिबिर चलाई सेवा दिनुपर्छ । गाउँमा एउटा एम्बुलेन्सको आवश्यक छ । यसको पहल गरिहालौं । घर घरमा खानेपानीको धारा जोडिएको छ । यो राम्रो कुरा हो तर यहाँको पानीमा केही खराबी पो छ कि भन्ने गुनासो पनि सुनिन्छ । त्यसैले बाघखोरको खानेपानीलाई ल्याब टेस्ट गरि शुद्ध खानेपानी उपलब्ध गराउनुपर्ने छ । सामूहिक कृषि फर्म संचालन गर्ने, वडामा भेटनरी खोल्ने, पशु चिकित्सक राख्ने विभिन्न खालका मल बीउ अनुदान तथा औजार मेसिन ट्याक्टर लगायत सामाग्री उपलब्ध गराउनुपर्ने छ । किसानबाट उत्पादित जुनसुकै बस्तुको खरिद स्थानीय सरकारले गर्ने बाताबरण बनाउन सके किसानलाई कहाँ बेच्ने भन्ने तनाव हुदैन । सिंचाइको लागि पनि केही प्रयत्नहरू भएको देखिन्छ । यसलाई सफल बनाउनुपर्छ । बाघखोरको केरा खेतीलाई ब्यबस्थित बनाउदै बजारीकरण लगायतका क्षेत्रमा सहजीकरण गर्नुपर्ने छ । जनतालाई राम्रोसँग खान पुगोस्, गाउँ निर्वाहमुखी मात्र नभै पूरै व्यावसायी बनुपर्नेछ । हो हामी फराकिलो गरि सोचौ । निर्वाहमुखी होइन गाउँ करोडौमा खेल्नुपर्ने छ अब । म सम्झन चाहन्छु साबिक नारायणी गाबिस हुँदा म लक्षित बर्गको प्रतिनिधित्व गर्दै हरेक वर्ष योजना तर्जुमा समितिमा प्रतिनिधित्व गर्ने गर्थेँ । त्यतिबेला बिकास बजेट जम्मा सोह्र देखि अठार लाखसम्म आउँथ्यो । वडाहरूमा जाने बजेट भनेको त्यही आठ नौ लाख हुन्थ्यो । मुस्किलले बाघखोर साबिक ९ नं. वडा ले एक डेढ लाख बजेट पाउने गरेको सम्झना छ । त्यतिबेला मैले एउटा योजना तर्जुमा बैठकमा समृद्ध बाघखोरको लागि केन्द्र सरकारलाई पठाउन तीनवटा योजनाको प्रस्ताव राखेको थिएँ । ती प्रस्ताव हुन ।
१) सेतापानीदेखि दाउनबारीसम्म उल्टिखोला कोरिडोर निर्माण गर्ने जसबाट नदी कटानको समस्या अन्त्य हुनेछ र त्यहाँ जनताहरूले होमिस्टे निर्माण गरि आत्मनिर्भर बनाउने ।
२) दाउन्ने खोलामा मस्यपालन, सामुदायिक वनदेखि दाउनबारीसम्म दाउन्ने खोलामा मस्यपालन गर्ने । जसबाट धेरै किसानलाई ब्यवसायी र आत्मनिर्भर बनाउन सकिन्छ ।
३) तेस्रो योजना थियो– सामुदायिक वनमा जडिबुटी उत्पादन गर्ने । जसबाट ठूलो आम्दानी गर्न सकिन्छ र पुरै बाघखोर आत्मनिर्भर बन्छ । देश बिदेशका पर्यटकलाई गाउँमा भित्राउन पनि सकिन्छ । त्यसपछि त बाघखोरबासी निर्वाहमुखी नभै ब्यवसायी बन्नेछन । गाउँ समृद्ध बन्ने छ र एउटा सुन्दर नमुना गाउँ बन्ने थियोे । यो गाउँको बिकास देखेर देशका सबै गाउँहरूलाई बिकास गर्ने प्रेरणा मिल्नेछ । हाम्रो गाउँको बिकास मोडल अरूले सिक्नेछ्न । हो यो सम्भव छ । हाम्रै पालामा हामीमा जबसम्म फराकिलो सोचको बिकास हुन सक्दैन तबसम्म बिकास नारामा मात्र सिमित रहनेछ । आउनुहोस् संकल्प गरौँ– गाउँ बिकासको सपना साकार हुनेछ । हाम्रा सामाजिक संघ संस्थाहरू, सामाजिक ब्यक्तिहरूलाई प्रयोग गर्दै समृद्ध बाघखोर निर्माण गर्न सकिन्छ भन्ने बुझौ ।
अन्त्यमा :
जनभावनाहरूलाई सम्मान गर्दै हाम्रा सामाजिक प्लेटफर्महरूलाई चलायमान गराउदै समृद्ध गाउँ आत्मनिर्भर गाउँबासीको सपना साकार बनाउनतिर अघि बढ्नुको विकल्प छैन ।
मध्यबिन्दु ५ बाघखोर नवलपुर