© २०२३
एकाविहानै एकजना मित्रको फोन आयो । के रहेछ, उहाँको कुरा मनमा जिज्ञासा लाग्यो । फोन उठाएपछि उहाँले पहिलो प्रश्न गर्नुभयो –“त्यतातिर निर्वाचनको चहपहल के कस्तो छ ?” उत्तरमा भनेँ– “नेपालमा मसिर ४ गते निर्वाचन हुँदैछ भन्ने सुनेको छु । मैले सुनेको यही हो ।” फेरि प्रश्न गर्नुभयो– “अनि तपाई ?” “म आफ्नै निवासमा छु” मेरो उत्तर रह्यो । “कतै सभा, गोष्ठी, भेटघाट ?” मैले भने “कसको सभा गाष्ठीमा जाउँ र ? कहाँ हुन्छन् सभा गोष्ठी र भेटघाट ? विना जानकारी कहाँ जानु ?” फेरी प्रश्न “किन खवर हुँदैन ?” जवाफमा भनेँ– “जतिवेला कार्यकर्ताको कमी थियो, पार्टीलाई आर्थिक संकट थियो, कतै प्रशिक्षण चाहिएको अवस्था वा निर्वाचनमा खट्ने मानिसको कमी भएको अवस्थामा खोजि हुन्थ्यो तर अव तमाम कमिष्टर जन्मिएको समयमा हाम्रो खोजीको कुनै अर्थ छैन होला ?” सायद उहाँ अझै लामो गफ गर्ने सुरमा हुनुहुन्थ्यो । मैले भने “मित्र अव फोन राख्नुस, भेटमा गफ गरौंला । यो भन्दा ज्यादा गफको जरुरत नै छैन ।” मित्रका कुराले मलाई एकक्षण तरंगित बनायो । कुनैपनि पार्टीका कुरा नसुनेको धेरै समय वित्यो । यस अघिको निर्वाचनमा एकदिन एकजना मित्रले केही सल्लाह गर्नु छ भनेर सम्पर्क गर्नुभयो । खवर पाएको स्थानमा पुगियो । निकै ठूलो जमातको उपस्थिति रहेछ । त्यहाँ बसेकाहरु मध्येका गफ सुनेको त अरे बाबा ! उहाँहरुका कुराले को प्रभावित भएर उहाँहरुले मागेको चुनावचिन्हमा र उमेदवारलाई आफ्नो मत दिन्छ ? सुन्दा सुन्दै आफै के विर्सिएँ जस्तो लाग्यो । २०४८, ५१ र ६४ सालको निर्वाचनको समयमा कार्यकर्ता र आजका कार्यकर्तामा तुलना गरें । अनि हामी पुग्ने गन्तव्य सम्झिएँ । कतैबाट पनि तालमेल भएको जस्तो लागेन । जसले त्यहाँ पुग्नका लागि खवर दिनुभयो त्यो स्थानमा सम्पर्क गर्ने साथी नै आउनु भएन । आउँदै गर्दा वीचमा काम परेर अन्यत्र कतै जानु भएको खवर पाएँ । त्यो ठाउँमा मेरो उमेरका र समयका कोही पनि देख्न सकिन ।
अव त कुनै स्थानमा पुगियो भने सबैभन्दा पहिले आफ्ना उमेरका दौंतरी छन् कि छैनन् त्यता ध्यान जाँदो रहेछ । अनि आफूसंग कुरा मिल्ने नमिल्ने हेरिँदोरहेछ । दौंतरी भएरमात्र हुँदैन, कुरा मिल्ने नमिल्नेमा पनि भर पर्दछ । कुरा सिद्धान्तका मात्र होइन हरेक दृष्टिकोणबाट कुरा मिल्ने हुनुपर्दछ । कुरा मिल्नका लागि धेरै कुराले प्रभाव पार्दछ । त्यसमध्येमा स्वभावको कुरा हुने गर्दछ । विचार मिल्नेसंग पनि स्वभाव नमिल्न सक्छ । स्वभाव मिल्नेसंग विचार नमिल्ने यी दुबै कुराहरु रहन्छन् । कतिपयले आफूलाई वेग्लै संसारको मानव ठान्ने गर्दछन् । हामी हरेक मानिसको उत्तिकै सम्मान गर्नुपर्दछ । वर्ग, लिंग, रंग र उचाईका आधारमा कसैलाई पनि विभेद गरिनु हुँदैन भन्ने विचार मन पराउनेमा पर्दछौं भने कतिपयले आफूलाई मात्र चिन्ने खालका पाइन्छन् । आफूलाई मात्र चिन्ने स्वभाव भएका मानिसहरुसंग संगत अलि कम हुनेगर्दछ । विचार मिल्ने र उमेर नमिल्ने उमेर मिलेर पनि विचार नमिल्नेसंग पनि नजिकिन त्यति उपय्ुक्त लाग्दैन । त्यसैले जुन मित्रले मलाई फोनमार्फत हालखवर सोध्नुभयो उहाँलाई दिने जवाफ मसंग खासै केही थिएन । त्यसैले भेटमा गफ गरौंला भनेर फोन विसाउन भनेको हो । कसैलाई यसमा अन्यथा लाग्न सक्छ । अन्यथा लाग्नुपर्ने कुनै कारण छैन । आफूले मेसो नपाएको कुराको वारेमा बोल्न राम्रो हुने लागेन अनि उहाँसंग खासै गफ भएनन् । त्यसदेखि यता कुनै कसैले सोधेको वा खोजेको भन्ने यी पंक्ति तयार पार्दासम्म थाहा छैन । अनि कसका पछाडि दौडनु ? यस्तै कुरा अहिले पनि लागिरहन्छ ।
हो यतिवेला एकातर्फ नेता कार्यकर्ताहरु निर्वाचनको कुरालाई लिएर आफूलाई व्यस्त बनाएको खवर सुनेको छु । विगत स्थानीय निर्वाचनको समयमा एकदिन प्रचारमा हिंडेकाहरुलाई नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको थिएँ । त्यो समयको एकदिनको दृश्य– निर्वाचन प्रचारको क्रममा ति मित्र जसले एकजनासंग पनि मत मागेनन् । एउटा पर्चा पनि कसैलाई दिएनन् । उनले सवारीका साधन अरुले भन्दा धेरै समय प्रयोग गरे । उमेदवारसंग निकै ठाउँमा निकै पटक फोटो खिचाए । नास्ता खाने समयमा अरुले भन्दा धेरै परिकारहरु आफ्नो लागि मगाए । साँझको खाना पनि त्यही होटलमा खाएर घरतर्फ लागे भन्ने सुुनियो । यस्तो खवर सुने पछि हामी अरु दलहरुको वारेमा पनि जान्न मन लाग्यो । सबै दलहरुमा यस्तै यस्तै प्रवृत्ति रहेको खवर सुनेपछि आश्चर्य भन्ने नै केही रहेन । मनबाट आश्चर्य भन्ने कुरा हटेर गयो । अव यस्ता कुरामा आश्चर्य लाग्दैन । यस्तो प्रवृति यसपटक पो कसरी छुट्ला र ? किनभने मानिस जति फेरिएपनि प्रवृति नफेरिएसम्म यसको अन्त्य कसरी हुनसक्ला ? हाम्रो खोजी किन हुँदैन ? फोनमा आएको मित्रको प्रश्न पश्चात एक पटक आफैमा घोत्लिएँ । किन किन उत्तर यही हो भन्ने ठम्याउन गाह्रो भयो । हामीले सुनेको र चाहेको विचारको अन्त भएकाले वा हामीलाई खोजी गरेपछि सही कर्तव्य पथमा हिंडनु पर्छ भन्ने भयले पनि हुन सक्छ । यस्तै सामान्य कुराहरु मनमा आए तर वास्तविक उत्तर सुझ्दै सुझेन । किनकी यो अरुको विचारमा भरपर्ने कुरा थियो । कतै एकपटक तर्क गर्दा हामीले पनि आफै सोधखोज गर्नु पर्दथ्यो कि ? हामीबाट पनि कमजोरी भएको हुनसक्छ भन्ने निचोडका साथ त्यो प्रसंग नै बन्द हुन पुग्यो । हामीलाई खोज्नेहरुले मात्र कमजोरी गरे भन्ने होइन हामी पनि कतै गर्नुपर्ने कामबाट पछाडि सरेको पनि हुन सक्छ ।
एउटा कुनैपनि घटना अर्थात कार्य हुनका लागि कारण हुनुपर्दछ । कारण नभएर कार्य हुँदैन । पहिले त कारण पत्ता लगाउनु पर्दछ । यसरी कारण बुझ्नका लागि उहाँलाई सोध्नपनि मिलेन । किनभने मेरो खोजी किन भएन प्रश्न गर्नु निश्चय पनि राम्रो मानिदैन् तर अलिक गम्भिर रुपले उत्तर खोज्दा विचार स्खलन पनि हुनसक्छ भन्ने सानो तर्क भने मनमा उठने गर्दछ । यो मेरो तर्कमात्र हो । यसमा कति सत्यता छ र कसले कति कसरी कति बुझेको छ यो बुझ्नेहरुमा भरपर्ला । मेरो मनमा उव्जिएको सानो तर्कमात्र हो । यतिका राजनीतिक दलहरु कसरी विचारविहीन हुन सक्छन् । हामीले आफूले खोजी नगर्ने अनि अरुको विचारमा प्रश्न गर्ने यो पनि राम्रो हो जस्तो लागेन । अरुलाई प्रश्न गर्नेहरुले आफूलाई पनि कहिले सोध्नुपर्दछ भन्ने विचार उब्जिएको छ । यो भोगाई एक दुईजनाको मात्र होइन हामी र हामीजस्ताको साझा भोगाइ हो भन्ने लाग्दछ । हामीजस्ता अर्थात जसले हिंजोको दिनमा सबैथोक पार्टी हो भनेर तन, मन र धन लगानी गरे हो उनीहरुको साझा भोगाई हो यो । जसले कुनैपनि दलमा खासमा लगानी गरेनन् उनीहरु नै यतिवेला सर्बेसर्वा भएका देखिन्छन् । जसले लगानी गरेनन् वा गर्न चाहेनन् वा गर्ने इच्छा नै मनमा जगाउन सकेनन् उनीहरुका हातमा डाडु पन्यू भएको समयमा त्याग तपस्या बलिदान र दललाई संकट परेका समयमा तन, मन र धनको लगानी गर्नेहरुलाई किनारा लगाउनु कुनै ठूलो र अनौठो कुरा होइन ।
मित्रले फोनमार्फत जुन चाहना व्यक्त गर्नुभयो, उहाँको बोलीको म अति सम्मान गर्छु किनभने उहाँको नजरले अहिलेसम्म पनि हाम्रो जीवन सक्रिय जीवन देख्नु भएछ र अनुमान गर्नु भएछ । यो अवस्था हामी बसेको स्थानमा मात्र होइन उहाँ बसेको स्थानको पनि हालत यही हो । सायद उहाँ यतिवेला आफै पाखा हुनुहुन्छ होला । आफु जस्तै अरु पनि छन कि भनेर उहाँले बुझ्नका लागि फोन मार्फत सम्पर्क गरेको पनि हुन सक्छ । मनमा जेसुकै भएपनि भए भरका कुराहरु खोल्न पनि राम्रो हुँदैन । व्यथाहरु हरेकका उस्तै हुन्छन् । यतिवेला जसले जतिसुकै फूँई लगाएपनि आखिर विचारको खुट्टा कति दह्रा छन्, आज सबैतिरबाट धेरैले हेरिरहेका छन् । मुखको रटाइले हुँदैन । भोगाइमा यथार्थता हुनुपर्दछ । जुन अहिले भेटिदैन् ।