© २०२३
चन्द्रौटा (कपिलवस्तु), १५असोज ।
“नदी कटानले गाउँ आउने जाने बाटो बन्द भयो । पचासौँ बिगाहा जमिन थियो, अरुलाई बस्न दिन्थेँ । अहिले आफूलाई कसले बस्न दिन्छ भन्ने भैसक्यो । थोरै जग्गा जमिन भएका बसाइ सरिसके अब बस्न कसले दिने कोहि छैन ।” राम सागर कुर्मी चौधरीले भने । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–१२ भदुई घर भएको उनी करिब ५ दशक पहिले ५०सौँ बिगहा भन्दा बढी खेतीयोग्य जमिन भएको गर्वका साथ सुनाउँथे । जहाँ अन्न उत्पादन गरी चौधरीले अरूलाई आश्रय र रोजगार दिन्थे ।
अहिले जमिन कटानले गर्दा बचेको १० बिगहामा मात्र निर्भर हुनु, विगतको त्यो समृद्धि र सम्पन्नताको स्मृति खल्लो महसुस भएको चौधरीले बताए । कटानले ४० बिगहा बढी जमिन कटानले बगर बनी सकेको उनी बताउँछन् । जमिनदार भएर के गर्नु छिमेकी देश भारतको शरणमा जानुपर्ने बाध्यता हुन थाल्यो । यता हाम्रो सरकारले देख्दैन माया त नेपालकै लाग्छ । कुनै बेला जमिनदार र आश्रयदाताको भूमिकामा रहेका मानिसहरू अहिले आफ्नै जमिन गुमाएर अन्यत्र शरणार्थी बन्न बाध्य छन् ।
कटानका कारण जमिन गुमाउँदा धेरैको जीविकोपार्जन गुम्ने मात्र होइन, तिनहरूको पहिचान, स्वाभिमान, र पुख्र्यौली थलो समेत बगेर जाने स्थिति सिर्जना भएको छ । सरकारको ध्यान नपुग्नु र यस समस्यामा कुनै प्रभावकारी समाधानको अभावमा उनीहरूले आफ्नो मातृभूमिबाट टाढिनुपर्ने अवस्था आएको छ । गाउँ र जमिन गुम्नुको पीडा केवल उनको आर्थिक स्थिति बिग्रनु मात्र होइन । यो त आफ्नो पहिचान र अस्तित्व समेत गुमाउनुजस्तै हो । यस समस्याको समयमै समाधान नभए भविष्यमा अझ धेरै घर परिवारहरूको अस्तित्व नै संकटमा पर्न सक्ने समेत राम सागरले जिकिर गरे ।
यस्तै स्थानीय इदरसी पठानले गाउँको तिन तिरैबाट चरिंहवा (अर्ररा) नदीले प्रति बर्ष सयौँ बिगहा खेतियोग्य जमिन कटान गर्दै आएको बताए । उनका अनुसार कटान गर्दा १ देखि २ सय मिटर दुरीमा रहेको नजिकै रहेको भदुई, मानपुर, जोशिडिहवा, हथियागढ, बरइपुर, ठकुरापुर, शिवभारी, महादेव, बैदौली, लखौरा लगायत दर्जनौँ गाउँ बस्ती विस्थापित हुने अवस्था छ । यतिबेला जमिनदार मात्र होइन, आम नागरिकको समेत जमिन कटानले बषौँ देखिको इतिहास नै गुमाउने खतरा छ । जगलाल खटिक र ओजिर पठानको करिब एक दशक यता करिब ३२ बिगहाभन्दा खेतियोग्य जमिन नदी कटानले बगर बन्दै पशुहरूको चरी चरणको क्षेत्रमा परिणत भएको प्रष्ट देखिन्छ ।
कुल्ले कुर्मी, जनक कुर्मी, जग प्रसाद उपाध्याय, बलिराम मुराउ, र भागीरथी कुर्मी लगायतका व्यक्तिहरूको कथा राम सागर कुर्मी चौधरीको जस्तै दुःखदायी र पीडादायी छ । उनीहरूको मात्र होइन, उनीहरूको गाउँबस्तीका सयौँ घरपरिवारको जमिन पनि नदी कटानले तहसनहस भएको छ । हजारौँ बिगहा जमिन गुमाउँदा उनीहरू आफ्नो पुर्ख्यौली सम्पत्ति र स्थायित्व गुमाएर विचल्लीको अवस्थामा पुगेका छन् । कटानले गाउँका परिवारहरूको अर्थतन्त्र, जीविकोपार्जन र सामाजिक जीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ । एक समय ठूलो जमिनमा खेती गरेर आत्मनिर्भर जीवन बिताएका यी परिवारहरू अहिले आफ्नो अस्तित्व बचाउनकै लागि संघर्ष गरिरहेका छन् । आफ्नो खेतबारी र बस्ती गुमाउँदा उनीहरूलाई ठाउँठाउँमा विस्थापित हुनुपर्ने र श्रम मजदुरीमा निर्भर हुनुपर्ने स्थिति आएको छ ।
नदी कटान रोकथामका लागि तत्काल व्यवस्था गर्न आवश्यकता रहेको अगुवाहरूको भनाइ छ । यस अवस्थामा, यस्ता परिवारहरूको पुनर्वास, जमिन कटान रोकथाम, र दीर्घकालीन समाधानको आवश्यकता छ । यता कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले नदी कटानले ठूलो क्षति भएको बताए । उनले भने, “नदी कटानले धेरै घरपरिवार विस्थापित भएका छन्, र हजारौँ बिगहा जग्गा बगरमा परिणत भएको छ । यसले समाजलाई गहिरो आर्थिक र सामाजिक क्षति पुर्याएको छ ।” नदी कटान नियन्त्रण गर्न नगरको बजेटले ठेग्न नसक्ने बताउँदै ठूलो बजेट आवश्यक रहेको उनले बताए । नदी कटान क्षेत्र अनुगमन गर्दै माथिल्लो निकायसँग पहल गर्ने मेयर शाहले प्रतिबद्धता जनाए ।