© २०२३
केशर रोका /दाखाक्वाडी(प्यूठान) आय आर्जन गरेर आत्मनिर्भर बन्ने उद्देश्यले प्यूठान नगरपालिका–२ स्थित दाखाक्वाडीका महिलाहरु दुनाटपरी उद्योगमा लागेका छन् । गाउँका १३ जना महिलाहरु पाँच दिने तालिम लिएर खेर गइरहेका सालका पातबाट दुनाटपरी उत्पादन गरिरहेका छन् । ६ जना एकल र २ जना अपांग महिलाले समेत दुनाटपरी बनाउने सिप लिएका हुन् ।
‘दशवर्ष अघि नै श्रीमान वित्नुभयो’,स्थानीय ४५ वर्षिय विष्णा धामीले भनिन्,‘उद्योगमा काम गरेर आम्दानी गर्ने मन छ ।’ तीन छोरीको पठनपाठन र घरखर्च चलाउन धौधौ हुने गरेको सुनाउँदै उनले आय आर्जनको कुनै स्रोत नभएको दुःखेसो गरिन् । जेठी छोरी अनिताले स्नातक तह प्रथम वर्ष, माइली तुल्साले १२ र कान्छी इन्द्रा धामीले ६ कक्षामा पढ्दै गरेको उनले बताइन । ‘सवै छोरीलाई माइतीघरले पढाएका छन्’,धामीले भनिन्,‘दुनाटपरी बनाउने सिप लिएकी छुँ । अव केही राहतको महशुस भएको छ ।’
आर्थिक अवस्था कमजोर भएका धामी टोलका महिलाहरुको सिप लिएपछि आम्दानीको भरपर्दो माध्यम बन्नसक्ने देखिएको छ । दुनाटपरीको बजारमा समेत माग राम्रो भएकाले विक्री गर्ने समस्या देखिदैन् । नगरपालिकाले वडालाई समेत प्लाष्टिकमुक्त बनाउने अभियान चलाएकाले दुनाटपरीको खपत राम्रो देखिएको सरोकारवाला निकाय बताउँछन् । प्यूठान नगरपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा ग्रामीण आर्थिक विकास मञ्च(रेकोडेफ)ले महिलाहरुलाई उद्यमशिलता तालिम दिएको हो । तालिममा एकजना पुरुष समेत सहभागी भएको रेकोडेफका कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले जानकारी गराइन । ‘लघु उद्यम विकास मोडलमा महिलाहरुलाई सिप दिएका छौँ’,उनले भनिन्,‘तालिमपछि महिलाहरुले प्रविधि समेत पाएका छन् ।’
प्रविधिसहित एक लाख ३५ हजार ६ सय १५ रुपैयाँ बरावरको लगानी गरिएको छ । महिलाहरुले गाउँमा सामूहिक रुपमा उद्योग सञ्चालन गर्ने योजना बनाएका छन् । एकल महिलाको जीवनयापनका लागि दुनाटपरी बनाउने सिप जीवनउपयोगी बन्ने महिलाहरुले आशा गरेका छन् । ‘वर्षदिन अघि श्रीमानको निधन भयो’,स्थानीय धनादेवी धामीले भनिन्,‘एउटा छोरा ट्याक्टरमा काम गर्छ । पाँच छोरी छन् । दुइवटीको विवाह भयो । साथमा तीन छोरी छन् । खर्च जुटाउन समस्या छ ।’ महिलाहरुले देविस्थान दुनाटपरी लघु उद्यमी समूह गठन गरेर एकजुट भएका छन् । सामूहिक रुपमा उद्योग चलाउने योजना बनाएको अध्यक्ष मिना धामीले जानकारी गराइन । उनका अनुसार उद्योगबाट दैनिक करिव पाँच सय दुनाटपरी बनाउन सकिन्छ ।
((