© २०२३
कञ्चनपुरको घटनाको विषयलाई लियर सरकार प्रति ध्यानाकर्षण गराउँदै गुल्मीका महिलाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल महिला संघ गुल्मीले आईतवार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कञ्चनपुर घटना प्रति सरकार गंभिर नभएको र उदासिन बनेको आरोप समेत लगाएका छन् । पछिल्लो समय कञ्चनपुरमा १३ वर्षीय वालीका निर्मला पन्तको बलत्कारपछि हत्या गरिएको जघन्य अपराधमा सरकार सामान्य गरीव परिवारलाई न्याय दिलाउनुको साटो उल्टै न्यायकालागि शान्तिपुर्ण आन्दोलन गरिरहेका निहत्था जनतामाथि गोली बर्षाएको बताईएको छ । ज्ञापन पत्रमा सरकार आन्दोलनलाई दवाउने परिणाम स्वरूप पुनः १४ वर्षीय बालक सन्नि खुनाको निर्ममतापुर्वक हत्या गरेर आफ्नो चरित्र झनै उदांगो पारेको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघकी सभापति लक्ष्मी पाण्डेले प्रहरीसँग न्याय माग्न जाँदा घटनालाई ढाकछोप गर्दै जानु र घटना स्थलमा उपलब्ध प्रमाणहरूलाई मेटाउँदै घटनालाई थप गंभिर मोडतर्फ लैजान खोज्नुले नेपाल प्रहरीको व्यवसायीक संगठनको स्वच्छ छविलाई समेत थप शंकाको घेरामा उभ्भाएको बताए ।
कञ्चनपुर घटनाको उच्च स्तरीय समिति मार्फत घटनाको पुन अनुसन्धानगरि सत्य तथ्य जनताको अगाडि ल्याई पीडितलाई न्याय दिलाउन समेत माग गरिएको छ । यदि सरकारले घटनाको सत्यतथ्य सार्वजनिक नगरेमा लोकतन्त्रको रक्षा र न्याय प्राप्तीको लागि नेपाल महिला संघ थप संघर्षमा उत्रन वाध्य हुने चेतावनी समेत दिएका छन् ।