© २०२३
कपिलवस्तु,२ कार्तिक ।
दुई तले सुन्दर चिरिच्याट्ट भवन । तर, प्रबेश गेटमा भोटे ताल्चा झुण्डिएको छ । ताल्चा पनि खिया लागेर थोत्रो भएको छ । कम्पाउण्ड भित्र घुंडासम्म घास उम्रिएका छन् । पिसिआर मेसिन राखिएको भवनको माथि उक्लिदै जाने फलामे सिंढी लहरा र झारपात बेरिएर बाटै बन्द गरेकोछ । भवनका ढोका माकुराको जालोले जेलिएको छ । देख्दै महिनौ दिनदेखि ढोका नखोलिएकोे जस्तै देखिन्छ । चारैतिर फोहरै फोहर छन् ।
यो हो कपिलवस्तु नगरपालिका–३, चपरतल्ला स्थित कपिलवस्तु जिल्ला अस्पतालले संचालन गरेको पिसिआर मेसिन राखेको भवन । माथिल्लो तलामा पिसिआर मेसिन छ । तल्लो तलामा आईसोलेसन सेन्टर संचालनमा थियो ।
यो सुविधा संपन्न भवन अहिले बेवारिसे बनेको छ । दुई करोड खर्च गरेर मेसिन संचालन, कोठा व्यवस्थापन र जेनेरेटर राखिएको थियो । त्यस्तै एसी, फर्निचर र भ¥याङ बनाईएको थियो । साबिकको महिला विकास कार्यालयको नवनिर्मित भवनमा मेसिन संचालन गरिएको थियो । महिला विकास कार्यालय नरहेपछि उक्त भवन कपिलवस्तु नगरपालिकाको स्वामित्वमा थियो ।
नगरपालिकाको उक्त भवनमा कोरोना संक्रमणका बेला कपिलवस्तु अस्पतालले पिसिआर मेसिन संचालन गर्न लियो । ०७७ असोजदेखि लिएको उक्त भवनमा पिसिआर मेसिन मुस्किलले ४ महिना संचालनमा आयो । करिब दुई करोड खर्च गरेर पिसिआर मेसिन जडान, संचालन र व्यवस्थापन गरिएको थियो । ०७७ फागुनदेखि ०७८ जेठसम्म संचालनमा रहेको भवनमा अस्पतालको भोटे ताल्चा लागेको छ ।
वेवारिसे पिसिआर मेसिनः
कोरोना संक्रमणको पहिलो लहरका बीच पिसिआर परिक्षण सहज बनाउन जिल्लामै ल्याब संचालन गर्ने सर्बदलीय सर्वपक्षिय सहमति बन्यो ।
जिल्लाका दुई संघीय सांसद बृजेशकुमार गुप्ताले १ करोड ४६ लाख र चक्रपाणी खनालले २८ लाख रकम प्रदान गर्ने निर्णय गरे । जिल्ला कोरोनाको हटस्पट बन्दै जनधनको क्षति हुन थालेपछि त्यस्को न्यूनिकरणकालागि उनीहरुले विकास बजेटबाटै मेसिन संचालनकालागि रकम प्रदान गरेका थिए । उनीहरुले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ०७७ जेठमै रकम प्रदान गरेका थिए । मेसिन संचालन गर्ने निर्णय भएको साढे ३ महिनापछि ०७७ असोज १२ गते जिल्ला अस्पतालले मेसिनकालागि टेण्डर निकालेको थियो । बोलपत्र परेको दुई महिना बढी लगाएर ०७७ पुस २१ गते मेसिन आईपुगेको थियो । टेण्डर सूचना ३० दिने थियो । पिसिआर मेसिन संचालन गर्ने निर्णय भएको ९ महिना पछि बल्लतल्ल मेसिन आयो । संचालन भने ०७७ फागुनदेखि मात्र हुन सकेको थियो । ०७८ जेठसम्म संचालन भयो । त्यस यता हुन सकेको छैन् । एक करोड ५ लाख लागतमा मेसिन ल्याईएको थियो । सासदले प्रदान गरेको रकम मध्ये ठेक्का लागेर बचेको रकमबाट मेसिन संचालन र कार्यालय व्यवस्थापन गरेर संचालन गरियो थियो । मेसिन राखिएको भवनमा एसी, फर्निचर, पंखा, सिसिटिभी र भ¥याङ बनाउन अस्पतालले १५ लाख बढी खर्च गरेकोछ । २६ केभिएको ८ लाखको जेनरेटर बाहिर फालिएकोछ । झ्याल ढोका राख्न र कोठा पार्टेसन गर्न ५ लाख बढी लागत लागेकोछ । तल तलामा आईसोलेसन सेन्टरकालागि अस्पतालले १५ लाख बढी खर्च गरेको छ । सयबढी ग्यास सिलिण्डरहरु छन् । आधारभूत अस्पतालकालागि चाहिने उपकरण सबंै छन् । लामो समयसम्म मेडिकल उपकरणहरु प्रयोग विहिन हुनु हुदैन् एक ल्याब टेक्निसियन भने त्यस्मा फंगस लाग्ने र विग्रने हुन्छ । करिब दुई करोड खर्च गरेको भवन अहिले वेबारिसे बनेको छ । त्यहा जोडिएको लाईन काटिएकोछ । तार असरल्ल फालिएका छन् । सुरक्षाकर्मी छैनन् । कोही मान्छे नबस्दा असुरक्षित बनेकोछ । अस्पतालले भवन नछाडदा नगरपालिकाले भवन भाडामा लगाउन पाएको छैन् । प्रयोग नहुनेभएपछि अब अस्पतालले उक्त भवन छाडनु पर्ने कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए ।
दुई करोडमा १५ सय नमूना परिक्षण
ठूलो महत्वाकांक्षासाथ संचालनमा ल्याईएको पिसिआर मेसिनले अहिलेसम्म एक हजार ५ सय नमूनामात्र परिक्षण गरेको छ । लागत धेरै पर्छ – कपिलवस्तु अस्पतालका ल्याब प्रमुख राकेश शाहले भने– हामी थेग्न सक्दैनौं । परिक्षण गर्दा एक हजार शुल्क लिन्छौं । लागतमात्रै एक हजार ७ सयदेखि २ हजार ५ सयसम्म पर्छ । सर्बसाधारण खर्च बहन गर्न गाह्रो छ । त्यही भएर संचालन गर्न समस्या भईरहेकोछ । फेरी अहिले कोरोना संक्रमण पनि कम छ ।
पिसिआर मेसिन बिएसएल सेकेण्ड प्रविधिको अत्याधुनिक मेसिन हो । एक घण्टामा ९६ जनाको स्वाव परिक्षण गर्ने क्षमताको छ । नतिजा दिनकालागि कम्तीमा ६ घण्टा लाग्छ । पिसिआर मेसिन संचालन गर्ने छुट्टै जनशक्ती छैन् । प्रदेश र संघीय सरकारबाट पनि बजेट विनियोजन नहुदा संचालन हुन समस्या भईरहेको उनले बताए । विगतमा पिसिआर परिक्षण गर्दा कर्मचारीलाई जोखिम भत्ता र संचालन खर्च दिनेभनिएपनि संचालन खर्चमात्र आधा दिईएको ल्याब प्रमुख राकेश शाहले बताए ।
जनशक्ती व्यवस्थापन गरिएको छैन् । ‘फुल फेजमा चलाउन १० जना चाहिन्छ,’ एक प्रविधिकले भने, ‘सामान्य रुपमा चलाउन एक सिफ्टमा कम्तीमा ४ जना चाहिन्छ ।’ कपिलवस्तु अस्पतालसंग ल्याबमा ९ जना जनशक्ती छन् । पिसिआर मेसिन संचालन गर्ने जनशक्तीले दुई साता क्वारेन्टाईनमा बसेर काम गर्नु पर्छ । त्यसपछि उसले एक साता बिदा पाउने कोभिड १९ को कार्यविधि छ । अस्पतालको जनशक्ती लैजाने हो भने त दुई साताको एक सिफ्ट काम गरेपछि अर्को सिफ्टमाकाम गर्न समस्या हुन्छ । थप जनशक्ती व्यवस्थापन गरेर साधनस्रोत जुटाउन सकियो भने मात्र संचालन सहज हुन्छ उनले भने ।
पहिलेको जस्तो कोभिड संक्रमणको अवस्था छैन् । प्रदेश सरकारले कार्यविधि बनाएर त्यसलाई कसरी उपयोग गर्ने भन्ने नीति बनाउन आवश्यक रहेको कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बन्जाडेले बताए । ल्याबमा रहेको कोरोना संक्रमण परिक्षण गर्ने उपकरणलाई सुरक्षित राख्ने उनले भने त्यस बाहेकका अन्य मेसिन अस्पतालमा ल्याएर उपयोग गर्न सकिन्छ । अहिले अवस्था सामान्य छ । फेरी सरकारले आरडिटी किटबाट गरेको परिक्षणलाई मान्यता दिएको छ । त्यही भएर धेरै खर्च हुने र समय लाग्ने पिसिआर नगर्दा पनि हुन्छ उनले भने ?
होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेक्स
सीमा नाका कृष्णनगरमा होल्डिङ सेन्टर निर्माण पूरा भएको ५ महिना पुग्यो । तर, संचालन हुन सकेको छैन् । नाकामा टेण्ट राखेर बनाएर स्वदेश फर्कनेको स्वास्थ्य जाच भइरहेको छ ।
कोरोना संक्रमणको तेस्रो लहरलाई लक्षित गरि सरकारले गत बैशाख ५ गते सीमा क्षेत्रका ८ ठाउंमा होल्डिङ सेन्टर बनाउने निर्णय ग¥र्यो । बैशाख १३ गते सेनालाई जिम्मा दियो । सेनासंग होल्डिङ सेन्टर बनाउन ललितपुरको हनुमान कन्स्ट्रक्सनले असार ३ गते संझौता ग¥र्यो । हनुमानले चितवनको ओमसत्यसाई कन्स्ट्रक्सनलाई जिम्मा दियो । बनाउने जिम्मेवारी एक अर्को गर्दै सर्दै आयो । त्यसमाथी बजेट अभाव हुदा यहा“ निर्माणाधिन होल्डिङ सेन्टर भाद्रमा पूरा हुनु पर्नेमा फागुनमा भयो । समयमै बजेट नपाउंदा कृष्णनगर नगरपालिका–१, स्थित कृष्णनगर बजारमा निर्माण भईरहेको होल्डिङ सेन्टर संचालन हुन नसकेको हो । यहांका कृष्णनगर बजारमा ६ सय र शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर निर्माण संपन्न भएको प्रजिअ धर्मेन्द्रकुमार मिश्रले बताए ।
सरकारले भारतसग जोडिएका नाकामा होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट भित्रिएका नेपालीलाई प्रवेश विन्दुमै राखेर पिसिआर र एन्टिजेट परीक्षणका लागि हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गरिएको हो । हनुमान कन्स्ट्रक्सनले २७ करोड ६७ लाख रुपैयामा यहा होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको थियो ।
निर्माण सम्पन्न भएको ५ महिना भईसक्दा पनि संचालन नहुदा सीमानाकानजिकै टेण्टमा संक्रमितको स्वास्थ्य परिक्षण जाच भइरहेको छ । सीमामा टेण्ट रहेको स्थाननजिकै ६ सय बेडको होल्डिङ सेन्टर छ, तर त्यसमा कसैले पनि स्वास्थ्य सेवा लिन पाएका छैनन् ।
होल्डिङ सेन्टर संचालनको मोडालिटी तयार नभएका समस्या भयो प्रजिअ मिश्रले भने ‘सिसिएमसिसीको निर्णयअनुसार सञ्चालन हुन्छ । अहिलेसम्म कुनै सूचना छैन्, अब हामी तयारी अवस्थामा छौं । मेडिकलका आवश्यक उपकरण पनि छन् । स्थानीय सरकार, सेना वा कसले सेन्टर सञ्चालन गर्ने हो, त्यसबारे केही दिनमै थाहा हुन्छ,’ उनले भने ।
कोरोना संक्रमणको चौथौ लहरबारे बैलेमा सचेत भएर तयारी थाल्नु पर्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । ‘होल्डिङ सेन्टर अति आवश्यक छ, तर सञ्चालन गर्न स्थानीय तहलाई समस्या छ,’ शाहले भने, ‘केन्द्र र प्रदेश सरकार साधनस्रोत उपलब्ध गराउनु पर्छ ।’
नाकामा संबेदनशिल छ । तर टेण्टमा अस्थाई रुपमा बसेर परिक्षण गर्नु परिरहेको स्वास्थ्यकर्मी पंकज गुप्ताले बताए । पूर्वाधार पनि छ उनले भने किन हो उनले भने प्रयोग गर्न पाएका छैनौं । अहिले जिल्लामा ५० जना सक्रिय संक्रमित छन् । कृष्णनगर नाका मुलुकको १० ठूला भन्सार नाका मध्ये एक हो । भारतको राष्ट्रिय रेल नेटवर्कसंग बढनी रेल्वे स्टेशन जाडिएकोछ । त्यसैले मध्य पश्चिमको भारत आवतजावत गर्ने प्रमुख गन्तब्यमा पर्छ । यो नाका हु“दै धेरै प्रवाशी नेपाली र भारतीय आवतजावत गर्छन् । त्यसैले यो नाका धेरै संबेदनशिल मानिन्छ । एक हजार बेडलाई नै होल्डिङ सेन्टर भनिएकोछ । तर, कृष्णनगरमा रहेको ६ सय बेडलाई होल्डिङ सेन्टर र शिवानगरमा रहेको ४ सय बेडलाई आईसोलेसन सेन्टर अस्पतालका रुपमा उपयोग गर्दा राम्रो हुने स्थानीय समाजवेशी जितेन्द्र गोयलले बताए ।