© २०२३
सञ्चालनमा आएको दुई बर्ष पूरा हुँदा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाह्य उडान बढ्न नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्नुपरेको छ । बिमानस्थलले अन्तर्राष्ट्रिय उडान नपाउँदा नेपाल सरकारको लगानी समेत नउठ्ने चिन्ता छ । बिमानस्थल सञ्चालनमा समस्या देखिएपछि प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारे अध्ययन गर्न पूर्व पर्यटनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको छ । समितिले विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी, निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटी, विमास्थलको क्षमता र विस्तार, उद्देश्य बमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरूपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गरेको छ । छलफलबाट बिमानस्थलमा रहेका समस्या समाधानमा सहयोग पुग्ने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या वृद्धि नहुँदा स्थानीय व्यवसायी निराश भएका छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो वर्ष जजिरा एयरलायन्सले नियमित उडान भरेको कारण उत्साह सिर्जना भएको थियो तर जजिराले हाल उक्त उडान रोकेपछि बिमानस्थल वरिपरीको वातावरण सुनसानमात्रै बनेको छैन, विमानस्थलबाट रोजगारीसंग जोडिएको धेरै क्षेत्रमा असर पुगेको छ । एक्काइसौँ शताब्दीमा हवाईयात्रीको संख्या विश्वमा अभूतपूर्व रूपले बढिरहेको छ, बढ्ने क्रम जारी छ तर नेपालमा सञ्चालनका लागि तयार रहेका विमानस्थल समेत सञ्चालनमा आउन नसक्नु चिन्ताको बिषय हो । अहिले केही घण्टाको अन्तरालमा संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु सामान्य भएको छ । यो सबै आधुनिक विमान र त्यसै अनुरूपको विमानस्थल निर्माणले सम्भव भएको हो । तर, दुई बर्ष पूरा हुँदा पनि विमास्थलले संचालन खर्च समेत उठाउन नसक्नुका पछि कहाँनेर समस्या छ, त्यसको निराकरणमा अव ध्यान दिएर समाधानको खोजीतर्फ लाग्नुपर्दछ । त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु हामी सबै नेपालीका लागि खुसीको कुरा हो । तर, यसको संचालनमा समस्या आउनु चिन्ताको बिषय हो । अर्को कुरा छिमेकी भारतको असहयोगले गर्दा गोरखपुर (भारत) को आकाश मार्ग हुँदै छोटो समयमा अवतरण गर्न सक्ने जहाज भैरहवाभन्दा धेरै पर रहेको सिमरा क्षेत्रको आकाश मार्ग प्रयोग गर्दै पूर्वबाट पश्चिम अनावश्यक चक्कर लगाउन बाध्य हुनुपरेको छ ।
भारतले कुशीनगर (बुद्धले निर्वाण गरेको ठाउँ) मा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण सम्पन्न गरेर केही महिनाअघि उडान गर्न उसलाई कुनै सुरक्षाको समस्या भएन । तर, गौतमबुद्ध बिमानस्थललाई उडान गर्न आकास उपलब्ध गराउन समस्या भयो । भारतको असहयोग विमानस्थल पूर्ण क्षमतामा संचालनमा नआउनुको प्रमुख कारणमध्ये एक हो । भारतले गोरखपुरमा भारतीय वायुसेनाको सानो छाउनीको कुरा निकाल्दै नेपाललाई हवाई मार्ग दिन चाहेको छैन । वर्षौं अघिदेखि नेपालले उक्त हवाई मार्ग प्रयोग गर्न दिन भारतसित अनुरोध गरे पनि हालसम्म स्वीकृति नदिनु भारतको हेपाहा प्रवृत्ति हो । नेपाल तथा भारत दुवै आइकावो (अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन) को सदस्य भएकाले भारतले नेपाललाई आफ्नो आकाश मार्ग दिन्नँ भन्न सक्दैन । यसका लागि नेपालले उच्च राजनीतिक तहबाट अग्रसरता लिई यो समस्याको निराकरण गर्नेतर्फ लाग्नुपर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा आउन खुसी भएका हामी नेपाली त्यसको संचालनमा समस्या हुँदा समाधानको लागि सरकारलाई दवाव किन दिदैनौ ? सरकारले पनि भारतसंग कुटनीतिक रूपमै भारतीय आकास उपलब्ध गराउने बिषयमा पहल गरोस् । अर्बौं ऋण सहयोग लिएर बनाएको विमानस्थल कतै प्रयोगमा नआएरै थन्कियो भने त्यो नेपालकै लागि दुर्भाग्य हुनेछ । अतः बिमानस्थल संचालनमा दवाव दिनु जरुरी छ । संसदीय समितिले समेत यस बिषयमा आफ्नो रिपोर्ट दिनेछ । जसबाट बिमानस्थल संचालनका लागि सहज हुने अपेक्षा गर्न सकिन्छ ।