© २०२३
खालीठाउँमा रुखविरुवा रोप्नु वृक्षारोपण हो । नेपालमा जेठको अन्तिम सातादेखि फाल्गुनसम्म कतै न कतै वृक्षारोपण चलिरहेकै हुन्छ । कुनै दिवस, उत्सव वा विशेष अवसर पारेर सामाजिक संस्थाहरुले विरुवा रोप्ने गर्छन् भने अचेल व्यक्तिगत उल्लासका अवसरमा पनि विरुवा रोप्ने चलन छ । नेपालमा वि.सं. २००२ सालदेखि कार्यक्रमको रुपमा वृक्षारोपण गरेको पाइन्छ । दोश्रो पंचवर्षीय योजनादेखि नेपालका हरेक आवधिक योजना, वार्षिक योजना र वन मन्त्रालयका कार्य योजनाहरुमा वृक्षारोपणले स्थान पाएको देखिन्छ । सरकारी तथ्यांकलाई हेर्दा आर्थिक २०६६÷६७ देखि २०७५÷७६ सालको अवधिमा सरकारी निकायबाट मात्र १४ करोड ४५ लाख १९ हजार विरुवा उत्पादन भएको देखिन्छ ।
उत्पादित बिरुवाको सरदर मृत्युदर २० प्रतिशत कट्टा गर्दा उक्त बिरुवाबाट ७२ हजार हेक्टरमा वृक्षारोपण हुने देखिन्छ (प्रतिहेक्टर १६०० विरुवाको दरले) । तर वन मन्त्रालयले उक्त अवधिमा मुलुकभर ५ हजार ६ सय ६१ हेक्टर सरकारी र ९७ हेक्टर निजी जमिनमा ११ करोड ७४ लाख ११ हजार वटा बिरुवा रोपेको छ र यस कार्यमा सरकारले १ अर्ब ६५ करोड १५ लाख ९ हजार खर्च गरेको छ । पछिल्ला ५ आर्थिक वर्षमा सरकारी निकायले वृक्षारोपण प्रयोजनका लागि वार्षिक २ करोड भन्दा बढी विरुवा उत्पादन खरिद र वितरण गरेको पाइन्छ । सामुदायिक वन र निजी नर्सरीहरुले त्यसको आधा परिमाणमा विरुवा उत्पादन गरेको मान्ने हो भने नेपालमा वार्षिक ३ करोड भन्दा बढी विरुवाहरु वृक्षारोपण प्रयोजनका लागि उत्पादन हुने गरेको अनुमान गर्न सकिन्छ । यी विरुवाले वार्षिक १५ हजार हेक्टर भन्दा बढी जमिनमा वृक्षारोपण भएको हुनुपर्छ. तर नेपालमा वार्षिक कति क्षेत्रमा वृक्षारोपण भयो ? कति विरुवा हुर्किए ? रोपेका विरुवाहरुको अवस्था के छ भन्ने बारेमा कुनै निकायसंग पनि वास्तविक तथ्यांकहरु छैनन् ।
सामान्य दृष्टिले वृक्षारोपणलाई विरुवा रोप्ने कामको रुपमा हेरिए पनि यो पारिस्थितिक प्रणालीको निर्माण गर्ने र सामाजिक आवश्यकताहरुको परिपूर्ति गर्ने काम हो । विग्रदै गएको पारिस्थितिक प्रणालीको पुनर्भरणको लागि
रुख नासिएको वन क्षेत्र, रुख विरुवा नभएको अन्य क्षेत्रमा विरुवा हुर्काएर हराभरा बनाउने, पारिस्थितिक प्रणालीको संरक्षण गर्ने, पानीका श्रोत तथा जमिनको संरक्षण गर्ने उद्देश्यले राज्यले वृक्षारोपणलाई आफ्ना कार्यक्रममा पार्ने गरेको छ । प्राकृतिक प्रकोप रोक्न बोटबिरुवाले मुख्य भूमिका खेल्छन् । बाढी पहिरो नियन्त्रण गर्न, वन डढेलोलाई नियन्त्रण गर्न, रुख रोप्ने पुरानै चलन हो । रुख विरुवा नभए प्रकोप बढ्छ भन्ने चेत हाम्रा पुर्खामा भएकोले खानेपानीका श्रोतको नजिक, नदी किनार, वस्ती छेउँछाउँ विभिन्न किसिमका रुखहरु रोप्ने गरिन्थ्यो । देशमा घना वन हुँदासम्म वनमा वृक्षारोपणको अभ्यास भएकै थिएन । वन हराउँदै जाँदा मानिसका वन पैदावार सम्बन्धी आवश्यकताहरु पूरा गर्न कठिन भएपछि मानिसहरुले आवश्यकता अनुसार खाली जग्गामा वृक्षारोपण गरी रुख हुर्काउने कार्य शुरु गरेका छन् । पछिल्लो समयमा शहरी सौन्दर्यीकरणका लागि वृक्षारोपण गर्ने चलन पनि बढ्दो छ ।
विश्वका हरेक संस्कृतिहरुको आधार जल र जंगल हुन् । अहिले पनि मानिसका सांस्कृतिक कार्य गर्नको लागि विभिन्न किसिमका रुखहरु नभई हँुदैन । जन्मदेखि मृत्युसम्मका गतिविधिहरु गर्नको लागि चाहिने रुखहरु सामुदायिक वृक्षारोपणको प्राथमिकतामा पर्ने गर्छन् । हिन्दुहरुले पिपललाई भगवानको रुपमा पुजा गर्ने भएकोले हिन्दु समाजमा वर पिपल र समिका चौतारीहरु जताततै पाइन्छन् । बुद्धका अधिकांश महत्वपूर्ण समय रुखमुनी र वनमा नै वितेकोले बौद्ध समाजमा रुखको उच्च स्थान रहेको पाइन्छ । रुख विरुवा हुर्कने समयमा वन प्रवेश गर्न नहुने (वर्षावासको नियम), रुख रोप्दा स्वर्गको बाटो खुल्ने (वनारोपा सुत्त) जस्ता कुराहरु बौद्ध दर्शनमा छन् । यिनै कारण बौद्धमार्गीहरुले वृक्षारोपण र संरक्षणलाई धार्मिक कार्यको रुपमा अवलम्बन गर्दै आएका छन् ।
नेपालमा वि.सं. २००४ देखि सरकारी स्तरबाट वृक्षारोपण गर्न थालिएको बताइन्छ । पंचायती व्यवस्थाको उत्तराद्र्धतिर वृक्षारोपण गर्ने अभियानले व्यापकता पाएको थियो । २०४६ पछि सामुदायिक वन समूहहरुले वृक्षारोपणलाई तीव्रता दिएपनि सरकारीस्तरबाट हुने वृक्षारोपणमा कमी आएको थियो । सरकारले औपचारिकता दिनको लागि हरेक वर्ष वृक्षारोपण कार्यलाई निरन्तरता दिदै आएको भएपनि वि.स.२०७१ देखि शुरु भएको वन दशक कार्यक्रमले वृक्षारोपणलाई ब्यापक बनाएको थियो । वि.सं. २०७५ देखि असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेर यो दिनमा देशव्यापी रुपमा वृक्षारोपण गर्ने गरिएको छ । तीनवटै सरकारका नीति कार्यक्रममा वृक्षारोपणले स्थान पाएकोले असार महिनामा हरेक दिन देशका कुनै न कुनै स्थानमा विशाल वृक्षारोपण कार्यक्रमको आयोजना गरिएकै हुन्छ । पछिल्लो समयमा सामाजिक सस्थाका कार्यक्रममा वृक्षारोपण नछुट्ने कार्यक्रम बनेको छ । कुनै दिवस, उत्सव पारेर कुनै ठाउँमा गएर विरुवा रोप्ने, फोटो खिचाउने, समाचार बनाउन लगाउने र रोपेका विरुवाको संरक्षणको बारेमा चासो नदिने प्रवृत्ति बढ्दो छ । यही कारणले गर्दा एउटै क्षेत्रमा हरेक वर्ष विभिन्न संस्थाहरुले वृक्षारोपण गर्न पाएको लज्जास्पद दृश्य हेर्ने अवसर मिलिरहेको छ । यस्ता गतिविधिले गर्दा वृक्षारोपण कार्यक्रम मनोरन्जनको विषय बनेको छ । अपवाद बाहेक सामाजिक सेवाको नाममा गरिने यस्ता वृक्षारोपणले जैविक विविधताको पुनस्र्थापनामा योगदान दिएको देखिदैन । अचेल जन्मदिन र त्यस्तै अन्य अवसरमा विरुवा रोपेर फोटो खिचाउने चलन छ । यसले राम्रै संस्कृति निर्माण गर्ने भएपनि विरुवाको सुरक्षाको ध्यान नदिंदा यो काम पनि प्रचारमा सीमित हुने डर बढेको छ ।
नेपालमा हरेक वर्ष सरकारी निकाय र संघसस्थाहरुले करोडौ खर्चेर २÷३ करोड विरुवा रोपिरहेका छन् । पछिल्ला ३ दशकमा मात्र वनक्षेत्र, सार्वजनिक जमिन, निजी जमिन र सडक किनारमा गरिएका यस्ता वृक्षारोपणमा रोपिएका रुखहरु जोगिएको भए अहिलेसम्म नेपालको घना वनक्षेत्र बाहिर त्यो भन्दा ठूलो वन तयार भैसक्नुपथ्र्याे । तर अहिलेपनि वन क्षेत्रमा रुख विरुवाको संख्या घट्दै गएको, वस्तीहरुमा हरियाली घटिरहेको अनि नेपालका रैथाने वनस्पतिहरु हराउँदै गएको जस्ता दृष्यहरु बढिरहेका छन् । वृक्षारोपणको उद्देश्य स्पष्ट नहुनु, स्थान र वनस्पति छनोटमा चुक्नु र विरुवा जोगाउने कुरा प्राथमिकतामा नपर्नु जस्ता कारणले वृक्षारोपण कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । के का लागि ? कहाँ ? कस्तो किसिमको वृक्षारोपण गर्ने ? त्यसबाट कसले कसरी लाभ प्राप्त गर्ने भन्ने स्पष्ट नगरी रमाइलोको लागि अनि काम देखाउनको लागि गरिने वृक्षारोपणले समय र पैसाको दुरुपयोग मात्र हुँदैन, पारिस्थितिक प्रणाली र सामाजिक जीवनमा समेत नकारात्मक असर परिरहनेछ ।