© २०२३
सम्मान शब्द आफैमा गौरव लाग्ने शब्द हो । विशेष प्रकारको मानलाई सम्मान भनिन्छ । इज्जतका साथ गरिने मान पनि सम्मान हो भने ठूलो आदर र सत्कारलाई पनि सम्मान शव्दले बुझ्न सकिन्छ । सम्मान प्रायः गरेर आफू भन्दा ठूलोलाई गरिन्छ । ठूलो भन्नाले मानले ठूलो, उमेरले ठूलो, क्षमता वा दक्षताले ठूलो,कामले ठूलो वा पदले ठूलो, हैसियतले ठूलो आदिलाई ठूलो भनिन्छ र त्यही ठूलोलाईृ सम्मान दिने गरिन्छ । सम्मान प्रदान गर्ने स्थान वा व्यक्तिहरू निकै हुने गर्दछन् । नाताले सानो भएपनि सम्मान सूचक शव्द प्रयोग गर्न सकिन्छ । सानोलाई सम्मान गरिदैन भन्ने होइन । कहिलेकाँही उमेरले सानो तर नाता ठूलो पनि हुनसक्छ यस्तो अवस्थामा पनि सम्मान दिने गरिन्छ । कुनै व्यक्तिले कुनै उल्लेख्य काम गरेको खण्डमा उसलाई कामको उच्च मूल्यांकन गरेर सम्मान दिने गरिन्छ । यस प्रकारका सम्मानहरू विशेष कार्यक्रमको आयोजना गरेर गर्ने गरिन्छ ।
आजभोली यो सम्मान शब्दमा कतै खिया लाग्न थालेको हो कि भन्ने भान भएको छ । आफ्ना माता पितालाई कतिवेला, कसरी र कस्तो सम्मान दिने ? गुरुजनहरूलाई कतिवेला कसरी कस्तो सम्मान दिने ? साथीभाई इष्टमित्रलाई कस्तो सम्मान दिने ? र, अन्य नातेदारहरूलाई कसरी र कस्तो सम्मान दिने भन्ने कुरामा थोरै भएपनि ह्रास आएको छ । कहिलेकाँही पहिलोपटक देखेको व्यक्तिलाई पनि सम्मान प्रकट गर्नुपर्ने हुन्छ । इज्जतका साथ दिइने आदर जुन हो त्यो मन नपर्ने त कोही नहोला । समाजमा उल्लेख्य कार्य गर्ने व्यक्तिलाई प्रायः गरेर सम्मान पत्रले सम्मान गर्ने गरिन्छ । यस्तो खालको सम्मान कहिलेकाँही मात्र मौखिक हुन्छ प्रायः लिखित पत्रद्वारा सम्मान गर्ने गरिन्छ । यसरी सम्मान गर्दा उसले समाज र देशको हितको निम्ति दिएको योगदानको समेत उल्लेख गरेर सम्मानपत्रका साथ सम्मान गर्ने गरिन्छ । यसले समाजमा उल्लेख्य कार्य गर्नेलाई पनि हौसला मिल्छ भने त्यो व्यक्तिलाई दिएको सम्मान देखेर अर्काको मनमा पनि जागरण पैदा हुनसक्छ । यो हो सम्मानको उपादेयता भनेको । आजभोली एकातर्फ सम्मान पाउनेहरूमा पनि भोक जागेको छ भने सम्मान दिनु पर्नेहरूमा पनि अल्छिपना बढेको छ । मैले सम्मान नदिए के हुन्छ ? भन्ने कुरा बढेर आएको छ । वास्तवमा जहाँ जसलाई सम्मान दिनुपर्ने हो त्यहाँ सम्मान दिन सकिएन वा जानिएन भने यो पनि नौनी निकालेको दुध जस्तै हुन्छ । के तपाईले कहिल्यै नौनी निकालेको दुध खानु भएको छ ? यो दुध निरसिलो हुन्छ । हामीले जहाँ जसलाई जति सम्मान दिनु पर्ने हो त्यत्तिकै मात्रामा सम्मान दिन वा सम्मान गर्न सकेनौ भने यो पनि निरसिलो लाग्छ । सम्मान सर्बप्रथम बोली बचनबाट हुन्छ । त्यसपछि व्यवहारबाट हुन्छ । त्यही व्यवहारबाट गरिने सम्मान भित्र सम्मानपत्रले गर्ने सम्मान पर्दछ । हरेकले हरेकलाई सम्मान गर्न जान्नुपर्दछ । हिंजो कार्यालय प्रमुख भएर बसेको रहेछ र आज उक्त पदबाट मुक्त भएपनि त्यो कुर्सीमा बसेको व्यक्तिले हिंजोको जस्तो सम्मान खोज्दछ । त्यस्तो व्यक्तिलाई कसैले पनि सम्मान दिन वा गर्न जान्दैनन् । किनकी यस प्रकारका व्यक्तिहरू सम्मान कार्यमा निकै सतहमा हुन्छन् । अरूलाई सम्मान दिन नजाने पनि आफूले भने उच्च कोटीको सम्मानको चाहना गर्दछन् । यस्ता व्यक्तिलाई अभिमानी भनिन्छ । प्रायः गरेर उमेर र नाताले दिने सम्मान अनि उल्लेख्य कार्य गर्नेहरूलाई कुनै संस्थाबाट दिइने सम्मान प्रचलित अवस्थामा रहेको पाइन्छ ।
सम्मानको कुरा गर्दा एकदिनको एउटा घटनाको निकै याद आउने गर्दछ । हामी खस्यौलीबाट पश्चिमतर्फ जाने बसमा बसेका थियौं । बीच बाटोमा आएर एक हूल मानिस बसमा चढे । त्यसमध्येमा शिक्षकको स्थायी लाइसेन्सको परीक्षा दिन पुगेका केही महिला पुरुषहरू रहेछन् । उनीहरू बस्नका लागि सिट थिएन । चारैतिर नजर लगाए कतै सिट मिलेन । एकजना युवा नजिक आएर भने “बाजे अलिपर सर्नुस ।” आफ्नै सिटमा बसेको अवस्थामा उनले किन बाजेलाई सर्न आदेश दिए । उनको कुरा सुनेर आश्चर्य लाग्यो । उनलाई प्रश्न गरियो “बाजे भनेको के हो ?” उनले गिज्याउने पाराले हाँस्दै भने “बाजे भन्या के हो रे ? हा.. हा.. हा.. ”। झन आश्चर्य लाग्यो । बाजे भनेको थाहा छैन उनले प्रतिप्रश्न गर्दै थिए । उनको बाजेको आशय बुढो व्यक्तिलाई गरिएको सम्वोधन थियो । उनी हाँसेको सुनेर पुनः प्रश्न गरियो “बाजे भनेर बा का पनि बालाई भनिन्छ तर त्यो बाजे भन्ने जमाना गयो आजभोली सभ्य मानिसहरूले बाजेलाई हजुरबा भन्ने गर्छन् । बाजे भन्नुको तात्पर्य बुढो भनेर हेला गरेको भावमा बुझिन्छ । बुढो हुनु कुनै अपराध होइन । हरेक मानिस जन्मेपछि अल्पायुमा मरेन भने बुढो अवश्य हुन्छ । यसमा कुनै शंका नै हुँदैन ।
समझदारहरूले बुढोलाई पनि बुढो भन्दैनन् । ज्येष्ठ नागरिक भन्ने गर्छन । बाजे शब्द अपमानसूचक शब्द हो । तपाई धेरै पढेको लेखेको हुनुहोला तर तपाईको पढाइ लेखाइ तपाईको बैंशले घपक्कै तोपेको छ । अनि यसरी अपमानजनक शव्द बोलिरहनु भएको छ । तपाई भोली यस्तै ज्येष्ठ उमेमा पुग्दा कसैले तपाईले जस्तै अपमानजनक शव्द प्रयोग गरेमा कस्तो महसुस गर्नु होला ?” उनी नाजवाफ भए । पेशाहरू मध्येमा शिक्षण पेशा सबैभन्दा पवित्र पेशा मानिन्छ । त्यही पेशा अपनाउने पवित्र भावनाले उनी लाइसेन्सको परीक्षा दिन पुगेका होलान । उनले प्रश्नको सही जवाफ दिएको भए भोलीका दिनमा शिक्षक बन्न योग्य हुनेछन् । एउटा ज्येष्ठ नागरिकलाई सम्मानका शव्द प्रयोग गर्न नजान्ने व्यक्तिले आफ्ना चेलाहरूलाई कस्तो शिक्षा दिन सक्लान ? उनीबाट कस्तो जनशक्ति उत्पादन हुन सक्ला ? उनको जुन क्षमता देखियो यसले उनी योग्य शिक्षक होइन मात्र जागिरदार शिक्षक, कामचोर शिक्षक, पथभ्रष्ट शिक्षक बन्न सक्लान, त्यो भन्दा पर कल्पना नगरेपनि हुन्छ । त्यही समयमा लेखनाथ पौडेलको कवितालाई सम्झन पुगें । उनले एकठाउँमा लेखेका छन् “सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति घोचने ती जंगली काँढा पहिले नै तिखा कति ?” उनले प्रयोग गर्ने अर्को कुनै शव्द थिएन ? हजुरबा मिलेर बसौं भन्न सक्दा हुन । हजुरबा हजुरको नाति नजिकमा बस्न मन गरेको छ भनेको भए त्यो समयको अवस्था कस्तो हुँदो हो ? उनले आफ्नो मात्र नभएर आफ्ना गुरु र आफूले अध्ययन गरेका विद्यालय, आफ्नो परिवारको संस्कारको समेत अपमान गर्न पुगे । चिनेको होस् या नचिनेको होस, ज्येष्ठ नागरिक सबैको ज्येष्ठ हो । उसलाई राज्यले सम्मान गरेको छ र त सामाजिक सुरक्षा भत्ता दिएको छ । राज्यले सम्मान गरेको छ र त ज्येष्ठ नागरिक कार्ड दिएको छ । राज्यले सम्मान गरेको छ र त विभिन्न कार्यालयहरूमा ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने व्यवस्था गरेको छ । यातायात व्यवसायीले सम्मान गर्न जानेको छ र त उसले गाडीमा ज्येष्ठ नागरिक सिटको व्यवस्था गरेको छ । भाडामा छुट दिएको छ । पहिले भन्दा परिवार र समाजमा ज्येष्ठ नागरिकको सम्मान बढेको छ तर एउटा शिक्षक बन्ने योग्यता पुगेको र चाहना बोकेको हरिलठ्ठकले बाजे भनेर बसेको आसनबाट घचेट्न पुगेको छ । के यही हो सम्मानको अनुपम उदाहरण ?