© २०२३
टिप्परले बिगारेको बाटो टिप्पर धनी ठेकेदारले नै बनाएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा टिपरले बिगारेर जीर्ण बनाएको बाटो जनप्रतिनिधिको दबाबपछि ठेकेदारलाई मर्मत गर्न लगाएका छन् । दिनरात टिप्पर गुडेका कारण फत्तेपुरस्थित राप्ती किनारको नर्सरीदेखि ढलैया सम्मको बाटोमा खाल्डै खाल्डा परेको थियो । बाटोमा खाल्डा हुँदा सवारी साधन गुड्न कठिन भएको थियो ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वमा वडाध्यक्षहरू कान्छा थारु, झगरु थारु, जनकबहादुर थारु र रामलखन थारुले त्यसक्षेत्रमा काम गरिरहेका ठेकेदारलाई बाटो मर्मत गर्न लगाएका हुन् । फत्तेपुरमा डम्पिङ गरिएको ग्राभेल, गिट्टी, बालुवा र ढुंगा ओसार्न दैनिक रूपमा सोही बाटोबाट अनगिन्ती रूपमा टिप्परहरू ओहोर–दोहोर गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।
उक्त क्षेत्रमा हुलाकी सडक निर्माणका लागि गणपति गु्रप अफ कन्स्ट्रक्सन कम्पनीले नदी किनारमा डम्पिङ गरेको ग्राभेल टिपरमार्फत ओसार्ने काम गरिरहेको छ, भने कुमार कन्स्ट्रक्सन र ठेकेदार संगम शाहले छुट्टा–छुट्टै रूपमा सञ्चालन गरेको क्रसर उद्योगबाट टिप्परले सामग्री ओसार्ने गरेका छन् ।
स्थानीय बासिन्दाको गुनासोका आधारमा तीन वटै ठेकेदारका टिपर र एक्साभेटर परिचालन गरेर आईतबार बिग्रेको बाटो मर्मत गरिएको उपाध्यक्ष खत्रीले बताए । उनका अनुसार बाटो मर्मतका लागि गणपतिबाट ३ वटा टिपर, शाहको २ वटा टिपर र एउटा एक्साभेटर तथा कुमार कन्स्ट्रक्सनको एउटा जेसिबी प्रयोग गरिएको थियो ।à