© २०२३
पाल्पा कारागारमा कैदी बन्दीहरु बीच झडप हुँदा दुई कैदी बन्दी घाईते भएका छन् । नाईके समूह र अन्य पक्षहरुबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे घाईते भएका हुन् ।
पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले विविध माग राखेर कैदीहरुका दुई पक्ष बीच झडप भएको बताए । ‘नाईके समूहबाट आफुहरु पीडित भएको भन्दै उनीहरुबीच भनाभन हुँदा झडप भएको रहेछ । हामी बिहान ५ः३० बजेदेखी शान्ति सुरक्षा व्यवस्थामा लागिपरेका छौं,’–प्रहरी उपरीक्षक पोखरेलले भने ।
कैदी बन्दी लक्ष्मण रायमाझिले सरकारले उपलब्ध गराएको सेवा सुविधा नदिने तथा मनोमानी गर्ने गरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनी भन्छन्, ‘प्रशासनको मिलिमतोमा भित्रै ड्रग्स सम्पाई हुन्छ । ड्रग्स सेवन गरि हामीलाई कुटपीट गर्छन्, नाईकेहरु । हरियो तरकारी समेत कारागारमा खान पाईदैन ।’ जिल्ला कारागार पाल्पाकी प्रमुख भक्तिसरा रानाले आन्तरिक विवादका कारण बन्दीहरु बीप झगडा भएको बताईन् । उनी भन्छिन्, ‘बिहानै दुई पक्षहरु बीच आफुहरुले उठाएको माग सम्बोधन नभएको, चौकीदारहरुले मनोमानी गरेका कारण देखाउँदै भनाभन गरे ।’
पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बन्दीहरुले नाईकेहरुमाथि लगाएको आरोपलाई नजर अन्दाज नगरिएको बताए । ‘हामी दुवै पक्षको कुरा सुनेर छानविन गर्छौं । नाईकेहरु लक्ष्मण चौधरी, विश्वास गुरुङ्ग, देवनारायण ढुङ्गाना र लोकबहादुर खाँडलाई केही दिन बाहिरै राखेर छानवीनका गर्छौं,’ प्रजिअ खनालले भने ।