© २०२३
सदरमुकाममा खानेपानीको अभाव हुँदा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, खलंगा बजारका गोकर्ण खड्काले त्रिपालको सहायताले घरमा आवश्यक पानीको जोहो गरे । आकाशबाट वर्षिएको पानीलाई त्रिपालमा थापेर पाइप जोडेर खड्काले सजिलै पानीको आपूर्ति गरे । खड्का जस्तै बजारबासीको लागि सोमबार पानीको आपूर्ति सजिलै भयो । आकाशबाट पानी परेका कारण, त्रिपाल, घरको छत, तथा जस्ता मार्फत पानी भरेर बजारवासीले पानीको उपयोग गरिहेका छन् । लामो समयदेखि खानेपानी ठूलो समस्या भोगिरहेका बजारबासीलाई आकाशे वर्षाले त राहत दियो तर, वर्षा नभएका बेला खानेपानीको हाहाकार उस्तै छ । यतिबेला जिल्ला सदरमुकामको मुख्य बजार समेत रहेको खलंगा बजारबासीहरू खानेपानीको अभावमा काकाकुल बनेका छन् ।
लामो समयदेखि खानेपानीको हाहाकार व्यहोरीरहेका बजारबासीलाई पछिल्लो समय नियमित पर्न थालेको आकाशे पानीले राहत दिएको खड्काले बताए । पानी नै नहुनु भन्दा आकाशे पानी भएपनि भरेर काम चलाएको खड्काले बताए । ‘अली अलि भएको पानीको व्यवस्थापन हुन नसकेपछि उपभोक्ताहरू समस्यामा छौं,’ उनले भने, ‘धारामा पानी नआएपछि आकाशबाट वर्षेको पानीलाई नै उपयोग गर्नुको विकल्प छैन ।’ उनले हरेक उपभोक्ताको तीन छाकपछि मात्रै पानी भर्ने पालो आउने गरेको बताए । ‘विहान पानी आयो भने अर्को दिनको बेलुका मात्रै धारामा पानी आउने गरेको छ, यस कारणले पानी जस्तो नभै नहुने महत्वपूर्ण चिजका कारण सर्वसाधारण उपभोक्ताले दुःख पाइरहेका छौं,’ खड्काले भने ।
खलंगा बजारमा झण्डै ४ सय उपभोक्ता रहेका छन् । जसमध्ये ६० प्रतिशत उपभोक्ताकोमा मात्रै पानी पुग्ने गरेको छ । पानी आपुर्ति हुने प्रत्येक उपभोक्ताकोमा पर्याप्त छैन । आकाशे पानीको भरमा उनीहरूले पानिको गर्जो टारिरहेका छन् । ४० प्रतिशत उपभोक्ताकोमा पानी नै नपुग्ने समस्या रहेको छ । उनीहरूले टाढाबाट बोकेर तथा आकाशकै पानीमा निर्भर छन् । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खलंगा बजारमा पानीको आपूर्ति गर्ने गरेको छ ।
अध्यक्ष महेन्द्र केसीले मुहान र ट्याङ्कीमै पानी नभएपछि उपभोक्तालाई पानी पु¥याउन नसकिएको बताए । खानेपानी निर्माणको बेला तत्कालिन जनसंख्यालाई आधार मानेर बनाइएको योजनाले बढेको जनसंख्यालाई नपुगेको भनाइ अध्यक्ष केसीको छ । ‘जनघनत्व पनि बढेको छ, पानीका मुहान पनि यो समयमा सुकेका छन्, उपभोक्तालाई पानी पु¥याउन मुस्किल छ,’ अध्यक्ष केसीले भने ।
खलंगा बजारका उपभोक्ताका लागि प्रति सेकेण्ड १५ लिटर पानी आवश्यक पर्नेमा हाल भने प्रति सेकेण्ड डेढ लिटर मात्रै आपूर्ति भैरहेको छ । ‘पानीको माग अत्याधिक छ, आपूर्ति न्यून छ, पानी नै नभएपछि आपूर्ति कठिन भैरहेको छ,’ अध्यक्ष केसीले थपे । खलंगा बजार लगायत अन्य धेरै ठाउ“मा खानेपानी पु¥याउन भन्दै साना सहरी खानेपानी आयोजना निर्माण गर्न लागेको लामो समय भैसक्दा पनि उक्त आयोजना पूरा नहु“दा थप समस्या भैरहेको छ । १५ करोड बढीको लगानीमा निर्माणाधिन आयोजनाले एक घर एक धारामार्फत सबैको घरमा पर्याप्त पानी दिने लक्ष लिएको छ । तर आयोजना निर्माण सम्पन्न हुने समय वितेको लामो समय भैसक्दा पनि आयोजना सम्पन्न नहुँदा सर्वसाधारण पानी उपयोगबाट बञ्चित हुँदै आएका छन् । ठेकेदार कम्पनीले २ वर्ष अघि नै निर्माण गरिसक्नुपर्ने काम अझै गर्न सकेको छैन ।