© २०२३
विश्वास ढकाल/ स्वस्तिक श्रेष्ठ बुटवल लक्ष्मीनगरकी १३ वर्षीया कृष्ण कुमारी थापा (नाम परिवर्तन) शनिबार प्रहरीले बुटवल उपमहानगरपालिका–६, श्रवणपथमा रहेको बिगपोट क्याफेमा गरेको छापामा पक्राउ परिन् । साथीको जन्मदिन मनाउने बहानामा हिँडेकी उनलाई क्याफेमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा भेटिएको हो । उनीसँगै पक्राउ परेकी लक्ष्मीनगरकी १४ वर्षीया विष्णु केसी (नाम परिवर्तन) पनि प्रहरीको छापामा पक्राउ परिन् । पक्रेर लैजाँदा रुदै उनले गल्ती महसुस गरिन् । बुटवलका अधिकांश पब र क्याफेहरूमा नियम विपरित कम उमेरका युवाहरू जम्मा भएर मादक पदार्थ र धूम्रपान सेवन गर्ने गरेको भेटिएको प्रहरीको भनाइ छ । क्याफेको सानो साँघुरो हलमा ८४ जना केटा र १ सय २३ केटीहरू गरि २ सय ७ जना पक्राउ गरिएको हो । स्थानीयबाट पटक–पटक गुनासो आएपछि प्रहरीले छापा मारेको हो । दिउँसोमा समेत मादक पदार्थ सेवन गर्दै छतबाट बाटामा हिँड्नेलाई जिस्क्याउने तथा बोतलले हान्ने गरेको भन्दै स्थानीय बासिन्दाहरूले प्रहरीलाई उजुरी गरेका थिए । यसैगरि मिलन चोकस्थित ग्यालेक्सी क्याफेमा छापा मार्दा २५ जना केटा र ३१ जना केटी गरि ५६ जना पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरीले घरबाट साथीको घरमा जाने बहाना बनाउँदै बालबालिकाहरू यस्ता खालका कुलतमा फसेको भेटिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले बताए । उनीहरूलाई बिस्तारै चुरोट, हुक्काको लत बस्दै जाने र लागूऔषधसम्म पुग्न सक्ने उनले बताए । पछिल्लो समयमा बुटवलका अधिकांश पवमा १७ वर्षमुनिका युवाहरू जम्मा हुने र दिउँसो नै रात पार्ने गरेका उनले बताए । ‘कतिपय जोडीहरू नृत्यका साथै गलत क्रियाकलापमा भेटिएको छ,’ उनले भने । क्याफेका गल्लीमा अश्लिल क्रियाकलापमा समेत आफूले भेटेको प्रहरी नायव उपरीक्षक मल्लले बताए । संचालकहरूले कम उमेरका बालबालिकाहरूलाई प्रवेश दिएर गलत काम गरेको भन्दै प्रहरी नायव उपरीक्षक मल्लले कानुनी प्रक्रिया अघि बढाउने बताए । परिवारलाई बोलाएर एकपटकलाई सचेत गराई अविभावकको जिम्मा लगाईएको छ । समाजमा बढेको बिकृती रोक्न प्रहरीले निरन्तर आफ्नो भूमिका खेल्ने उनले बताए । संचालकहरूले पवमा प्रवेश शुल्क वापत २ सय लिने र लाईभ साङ्गितिक कार्यक्रम आयोजनामार्फत मनोरञ्जन गराउने गरेको बताएको छ । साना बालबालिकाहरू समेत साथीहरूसँग आउँदा आफूहरू समस्यामा परेको बताए ।