© २०२३
तिलोत्तमा नगरबासीले अव आफ्नो घरको नक्सा घरमै प्राप्त गर्ने भएका छन् । घर बनाइसकेर सम्पन्नताको प्रमाणपत्र लिन नगरपालिकामै धाउने व्यवस्थाको अन्त्य गर्दै नगरपालिकाले मंगलबारदेखि यस्तो अभियान थालेको हो । नगपालिकाले बिगतमा घर बनाएका तर नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका सर्वसाधारणलाई घरमा नै गएर प्रमाणपत्र दिन घर नक्सा पास गर्ने अभियान थालेको हो ।
“नगरबासीको घरमा नै पुगेर घरको नापनक्सा तयार गरी प्रमाण पत्र उपलब्ध गराउन प्राविधिक सहितको एक टोली नै बनाएका छौं, अव तिलोत्तमाबासी घरनक्सा प्रमाणपत्रका लागि नगरपालिकामा धाउन पर्दैन”–नगर प्रमुख वासुदेव घिमिरेले भने । नगरपालिकाको प्राबिधिक टोलीले सम्वन्धित घरधनीको घरजग्गा नापजाच गरी नक्सा तयार पारी आधिकारीक हस्ताक्षर गराएर वितरण गर्ने छ । अभियानको सुरु वडा नम्वर १४ बाट गरिएको छ ।
वडा नम्वर १४ टिकुलीगढको वडा कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख घिमिरेले सोही वडाका कल्पनीदेवी थारु, शिव प्रसाद थारु र बेचु प्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिएर अभियानको सुरु गरे ।
त्यस अवसरमा बोल्दै नगर प्रमुख घिमिरेले सानो कामका लागि नगरबासीले नगरपालिकाको कार्यालयमा नै पुगेर सेवा लिनुपर्छ भन्दा पनि नगरपालिकाले जनताको घरमा नै पुगेर सेवा प्रवाह गर्न सक्छ भन्ने विश्वास दिलाउन अभियान सुरु गरिएको बताए ।
घरनक्सा बनेपछि नगरपालिकामा सबै नगरबासीका घरका प्रमाण रहने र घरधनीले आवश्यक पर्दा बैक तथा वित्तीय संस्थाबाट समेत क्रृण लिन सक्ने बताए । नगरपालिकालाई सुन्दर, सफा, स्वच्छ, हराभरा सहित व्यवस्थित र पुर्वाधार युक्त बनाउन आफु लागिरहेको बताउँदै उनले नेपालमा नै पहिलो पटक आउँदो भदौ देखि तिलोत्तमा नगरपालिकामा पुनः नापी हुने जानकारी दिए ।
नगर प्रवक्ता सुरेन्द्र श्रीले बिहीवार र शुक्रवार बाहेक अन्य दिनमा नगरपालिकाको प्राविधिक टोली यो काम नसकिदा सम्म सम्वन्धित वडामा नै रहेर सेवा प्रवाह गर्ने र १४ नम्वर वडा पश्चात क्रमशः अन्य वडामा पनि टोली खटिएर घर नक्साको प्रमाण पत्र दिने बताए ।
वडा अध्यक्ष सोहन प्रसाद थारुले जनप्रतिनिधि सुविधा भोगी भए, कर मात्रै बढाए भन्नेहरुका लागि घर घरबाट सेवा प्रवाह गरेर नगरपालिकाले जनताको मन जितिरहेको बताए । कार्यक्रममा बोल्दै इञ्जिनियर मनिष खनालले घरको नापनक्सा गरेर जतिसक्दो छिटो सेवा प्रवाह गर्ने विश्वास दिलाए ।
यसैबीच नगर प्रमुख घिमिरेले मंगलबार टिकुलीगढ माध्यमिक बिद्यालय र टिकुलीगढ स्वास्थ्य चौकीको पनि निरीक्षण गरेका छन् ।
विद्यालयको निरीक्षणका क्रममा उनले निर्धारित समय भन्दा ढिला बिद्यालय नआउन, नियमित हाजिरी गर्न र निर्धारित समय भन्दा अघि नै बिभिन्न बहानामा बिद्यालयबाट ननिस्कन शिक्षकहरुलाई निर्देशन दिएका छन् ।
उनले बाल शिक्षाका बिद्यार्थीहरुको पढाई अवलोकन गर्नुका साथै नगरपालिकाले उपलब्ध गराएको खाजाको स्तरको मापन समेत गरेका थिए । नगरप्रमुखलाई विद्यालयका अध्यक्ष दिनेश अर्याल र प्रधानाध्यापक शंकरदत्त उपाध्यायले विद्यालयको अवस्था र पढाइका सम्वन्धमा जानकारी गराएका थिए ।
त्यस्तै स्वास्थ्य चौकी निरीक्षणका क्रममा सिनीयर अहेव बुद्धिराज पन्तले दरवन्दी अनुसारको जनशक्ति नभएको र पुर्वाधारको समेत अभाव भएको बताएका थिए । नगरप्रमुख घिमिरेले बजेटले भ्याएसम्म पुर्वाधारका लागि सहयोग गर्ने आश्वासन दिंदै जनताको सेवा प्रवाहमा कमी आउन नदिन निर्देशन दिए ।