© २०२३
चन्द्रौटा (कपिलवस्तु), १९ कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, बनकसबासाका सुनिल घिमिरे यतिबेला बाख्रा हेरचाह गर्न निकै व्यस्त हुन्छन् । कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने ४३ बर्षिय उनी उदाहरण बनेका छन् । ४८ लाखको लगानी गरेको ट्रक पाँच वर्ष चलाएका थिए ।
त्यसपश्चात २०७७ सालमा १९ लाखमा ट्रक बेच्ने निधो गरे । यातायातको सिन्डिकेट हटे पछि न्यूनतम भाडा दर कायम हुन नसक्दा घाटा हुन लागे पछि ट्रक बेचेका थिए । सामान्य खोर बनाएर बाख्रा पालनमा सुरू गरेका व्यवसायी सुनिलको सोँच अनुसार लगानी जुट्न नसकेपछि स्थानीय जातका बाख्रामा क्रस गर्दै व्यवसायलाई अगाडि बढाए । यातायात व्यवसायी त्याग गरी कृषक भएका घिमिरेले नस्ल सुधार र आधुनिक तरिका अपनाउँदा कृषिबाट मुनाफा भएको उनी बताउँछन् ।
सात वर्ष वैदेशिक रोजगार (साउदी अरेबिया) र १६ वर्षसम्म यातायात व्यवसाय सञ्चालन गर्दै आएका थिए । तीन वर्ष अगाडि एक पाखे टिनको छानो राखी आठ ओटा बाख्राबाट व्यवसाय सुरुवात गरेको उनले अनुभन सुनाए । अघिल्लो वर्ष ७ लाख लगानी गरी आधुनिक खोर निर्माण गरिएका थिए । एक वर्ष मै २५ वटा बाख्राबाट पाठापाठी हुर्किएर ६३ पुगेको घिमिरेको भनाइ छ । पाठापाठी बाहेक ४० ओटा माउ र २ ओटा बोयर र सिरोही जातको प्रजनन बिउ रहेका छन् । घिमिरेले भने– “पहिला घरमा एक दुई ओटा बाख्रा पालिन्थ्यो । एक गैह सरकारी संस्थाले टोलको एक समूहमा बोयर जातको बोका सहयोग गरेको थियो । मेरो घरमा रहेको बार्वरी जातको बाख्राको क्रसबाट उत्पादन भएको बोका ८ महिनामा २७ किलो पुगेपछि गाडी बेचेर आएको रकमबाट व्यवसायीक बाख्रा पालन सुरुवात गरे । यातायात व्यवसायी भएर ट्रक गुडाउनु भन्दा बाख्रापालनमा सन्तुष्टि रहेको पाएको घिमिरेले भने, “अहिले खरी (स्थानीय प्रजाति) र जमुना पारी गरी ५ जातका बाख्रा रहेका छन् ।” उनलाई किडार्क नेपाल संस्थाले खोर बनाउन १ लाख रकम सहयोग गरेको उनले बताए ।
हाल ३० देखि ७८ किलोसम्मका बोका उत्पादन भएका छन् । वन क्षेत्रमा चराउन लाने र गेहुँको भुस, ब्रान चोकर र मकै मिसाएर खुवाएर पालेको हुँदा अर्गानिक बोका भन्दै ग्राहकहरू घर मै खरिद गर्न आउने गरेको उनले दावी गरे । मासु प्रयोजन बोका जिउँदो प्रति केजी ५५० प्रजनन बीउ बोका प्रति केजी ६५० मा बिक्री हुने गरेको छ । शिवराज नगरपालिकाले तालिम औषधि उपचार तथा परामर्श लगायतमा सहयोग गरेको नगरपालिकाका पशु विकास शाखा प्रमुख धनेश्वर खनालले जानकारी दिए ।