© २०२३
‘जल नै जीवन हो, जल नै खाना हो’ भन्ने नाराका साथ आज ४३ औं विश्व खाद्य दिवस मनाईदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि नेपालाम विभिन्न कार्यक्रम गरि मनाईदैछ । बर्षौदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाउँदै आएका छन । विश्व खाद्य दिवस मनाईरहँदा नेपालमा भने खाद्यान्न अभावकै चिन्ता बढ्दो छ । नेपालमा अझैपनि व्यावसायीक कृषिको सुरूवात नै हुन सकेको छैन । जसका कारण कृषिमा आत्मनिर्भरताको नारा केवल भाषणमा मात्रै सीमित भएको छ । खाद्यान्न दिवसकै अवसरमा अव नेपालले कृषिलाई फरक तरिकाले सम्बोधन गर्नु जरुरी छ । कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीति निर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरू छन् । जसले नेपाललाई कृषिमा धेरै पछि पारेको छ। वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सीमित गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेसा नबनाएर यसलाई उद्योगका रूपमा परिभाषित गर्न जरुरी छ ।
अवका दिनमा नेपाल सरकारले बार्षिक ४० अर्बको चामल खरिद गर्ने होइन, नेपाललाई आत्मनिर्भर बनाउने हो भने नेपालमा जे उत्पादन हुन्छ, त्यसैलाई बढावा दिनु जरुरी छ । पछिल्लोसमय नेपालमा कृषिमा भविष्य नभएको भन्दै युवाहरू विदेश पलाउन हुने क्रम बढेको छ । नेपालीहरू वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा बारीका कान्ला उजाड बन्दै गएका छन । भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उत्पादनशील खेत बाँझै छन् । ती खेतहरूको अनि माटोको उचित प्रयोग गर्न सक्ने प्रविधि, पुँजी र सीप भएमा नेपालीहरू बिदेसिन पर्दैन । यसतर्फ कसले ध्यान दिने ? सरकारको प्रोत्साहन नहुँदा समस्या धेरै भएको छ । विडम्वना कृषिप्रधान मुलुक नेपालमा अहिले भारतबाट बार्षिक ४० अर्ब बढीको चामलमात्रै आयात हुन्छ भन्दा पत्याउनै मुस्किल पर्दछ तर यथार्थ यही हो र सत्य पनि । नेपाल विस्तारै कृषिप्रधान मुलुकबाट गैर कृषि प्रधान मुलुकको यात्रातर्फ अघि बढ्दै हो कि भन्ने प्रश्न उठेको छ । कृषितर्फ कसैको रुची नै छैन । युवाहरू कृषिमा त्यतिसारो भविष्य नदेखेर विदेश पलायन भैरहेका छन । घरमा रहेका बृद्ध बाबुआमाले गर्ने कृषिले कृषि क्रान्ति संभव छैन । नेपालबाट अहिले दैनिक २५ सयको संख्यामा युवाहरू विदेश उडिरहेका छन ।
गाउँघर रित्तिदैछन् । कृषि कसले गर्ने ? अर्कोतर्फ कृषि गर्नेलाई राज्यले प्रोत्साहन पनि दिन सकेको छैन । कृषिका लागि आएको अनुदान कृषकले नपाउने देश हो नेपाल । कृषकका लागि आएको अनुदान गैर कृषकले पाउने गरेको नौलो घटना होइन । कृषि गर्नेलाई प्रोत्साहन होइन हेला गरिन्छ । अनि कहाँबाट कृषि हुन्छ । फलतः नेपाल खाद्यान्न आयात गर्नुपर्ने विश्वकै प्रमुख एक मुलुकमा गनिने अवस्था आउँदैछ । अवको दिनमा खाद्य दिवसको अवसर पारेर स्थानीय तहलाई खाना, खेतीपाती र जनस्वास्थ्यका सवालमा जोड दिन भनिएको छ । बर्सेनि बढिरहेको खाद्यान्न आयात, जथाभावी प्रयोग गरिएको कृत्रिम रासायनिक र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका सङ्कटको सूचक भएको औंल्याइएको छ । कृषिमा आमूल परिवर्तनका लागि समग्र खेती प्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । तर, स्थानीय सरकारले पनि जनतामा आशाको संचार गर्न सकेनन् । कतै दशैंमा निधार भरी अक्षता हुन्छ तर कतै दशैमा चामल समेत नहुँदा साँझ विहानको छाक टार्न समस्या पर्दै आएको छ । सुदूर पश्चिमका पहाडी जिल्लाको यो पीडा कहिले सम्बोधन होला ? आज सोमबार खाद्य दिवस मनाईरहँदा दिवस मनाउने निकायले एकपटक गंभीर भएर सोच्नुपर्नेछ– कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा आत्मनिर्भर हुने कहिले ? यो प्रश्नको उत्तर खोज्न ढिलाई नगरौं । संघीय सरकारले यो विषयमा गंभीर भएर बहस र चिन्तन गर्नु जरुरी छ ।