© २०२३
सुनवल, २२ असोज । पश्चिम नवलपरासीमा पनि व्यवसायिक केरा खेतीमा घातक पानामा रोग देखापरेको छ । कैलालीमा पहिलो पटक देखिएको रोग नवलपरासीको प्रतापपुरबाट संकलित केराको नमुनामा पनि पुष्टि भएको हो ।
खतरनाक मानिएको ढुसिजन्य पानामा टिआर फोर रोगले सावधानी नअपनाए नेपालमा व्यवसायिक रूपमा हँुदै आएको केरा खेतीलाई नै नष्ट गर्ने जोखिम बढेको कृषि वैज्ञानिकहरूले बताएका छन् । प्रतापपुर ६ कठहवामा ११ कठ्ठामा लगाईएको केरा खेतीमा उक्त रोग लागेको पुष्टि भएपछि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका विज्ञ सहितको टोलीले केही दिन अगाडि स्थलगत निरीक्षण गरेको छ । एक ठाउँको नमुना संकलन गरेर परिक्षण गर्दा रोग पुष्टि भएको र अन्य स्थानमा पनि रोग फैलिन सक्ने भएकाले तत्काल रोग देखिएको ठाउँ सिल गरेर निर्मलीकरण गर्ने र ओसार पसार र मानविय गतिविधि रोक्नु पर्ने नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर रामबहादुर खड्काले बताए ।
विज्ञ टोलीले स्थानीय तह, स्थानीय प्रशासन र किसान संग छलफल गरी रोग देखिएको क्षेत्रलाई सिल गरेर आवश्यक आचारसंहिता पालना गर्न आग्रह गरेको छ । यो रोग लागेपछि केराको पात सुक्दै जाने र बोट बढि संक्रमित भएपछि फेदैबाट पहेलो भई ढल्ने गर्दछ । नवलपरासीको प्रतापपपुर र सुस्तामा २ हजार विगाह भन्दा बढि क्षेत्रफलमा केरा खेती हुँदै आएको छ, सो क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले केरा जोन क्षेत्र घोषणा गरेर उत्पादन वृद्धि गर्न लगानी गर्दै आएको छ ।
परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए । संक्रमित बगैंचामा जादा विशेषगरी माटो बाटै सर्ने भएकाले उक्त क्षेत्र सिल गरेर कुकुर बिरालो लगाएतका जनावरलाई समेत जान दिन नहुने उनले बताए । स्थानिय तह, कृषि ज्ञान केन्द्र लगाएत सरोकारवाला संगको समन्वयमा रोग फैलन नदिने उपाए अबलम्बन गरिने उनको भनाइ छ । तर जोखिम अनुसारको सावधानी भने अपनाईएको छैन् । जसका कारण केरा खेतिमा ठूलो क्षति पुग्न सक्ने जोखिम बढेको छ । यसअघि कैलालीमा पहिलो पटक एक महिना अगाडि यो रोगको पुष्टि भएको थियो । भारतमा भने यसअघिनै केहि स्थानमा व्यापकरूपमा यो रोग फैलिएको थियो ।