© २०२३
पाल्पा, ७ असोज ।
तिनाउ गाउँपालिका मस्याम गाउँ पुग्दीका कल्पना सोमैको बारीमा लटरम्म करेला छन् । विगतका वर्षका तुलनामा यस वर्ष राम्रो मूल्यसँगै उत्पादन पनि राम्रो भएकोमा उनी निकै खुसी भएकी छन् । उनले करेला बजारमा बिक्री गर्दा प्रति केजी ८० रुपैयाँमा बिक्री गरिन्, तर त्यही बस्तु बजारबाट उपभोक्ता सम्म पुग्दा प्रति केजी २ सय रुपैयाँ सम्म मूल्य प¥यो ।
माथागढी गाउँपालिका झडेवा गाउँ देवीनगरका नारायाण बहादुर जिसी यस पटक हरियो खुर्सानी प्रति केजी १ सय ७० रुपैयाँमा घरैबाट बिक्री गर्न पाउँदा निकै खुसी भए । त्यही खुर्सानी उपभोक्ता सम्म पुग्दा प्रति केजी ३ सय रुपैयाँ सम्म पुग्दा उनी आश्चर्यमा परे ।
तिनाउ मस्यामको मरामकोटकी वसन्ती दर्लामीले मकैबारीमा लगाएको बोडी प्रति केजी ८० रपैयाँका दरले झण्डै एक क्वीटल बिक्री गरेको बताउँछिन् । तानसेन बजारमा मकैबारीमा लगाएको सानो बोडी प्रति केजी रुपैयाँमा खरिद गरेको तानसेन बजारकी पार्वती गौतम बताउँछिन् । बजारमा यतिबेला हरियो तरकारीको मूल्य विगतका तुलनामा अत्यधिक मात्रामा आकासिएको छ । “टमाटर खानै नसकिने भयो । त्यसैगरी सबैको मूल्य बढ्दा हरियो तरकारी पनि खानै नसकिने अवश्था भएको छ”–स्थानीय लक्ष्मी ढकाल भन्छिन् । भान्साका लागि यतिबेला सबै भन्दा महङ्गो तरकारी नै भएको छ । ५ सय रुपियाँको तरकारीले दुई छाक टार्न र कम आय भएकालाई दैनिक जिवन चलाउन कठिन भएको उनी बताउँछिन् ।
उत्पादनकर्तादेखि उपभोक्ताबिच धेरै अन्तर देखिएको छ । उत्पादन गर्ने कृषक निराश भएका छन् । उत्पादन गर्ने कृषक मारमा र बिचौलिया मालामाल भएका कारण नयाँ पुस्ताका युवाहरु कृषि व्यवसायप्रति आकर्षित हुन नसकेको स्थानीय कृषकहरु बताउँछन् ।
तिनाउ गाउँपालिका कोलडाँडाका कृषक धन बहादुर दर्लामी भन्छन्, “अन्नवाली सबै लगाउन छाडेर तरकारी लगायो, आम्दानी राम्रै हुन्छ भनेरै हो । तर आफुले भन्दा बिचौलियाले बढी मुनाफा राख्ने गरेका छन् ।” आफुले बाह्रै महिना धनिया साग लगाउने र तानसेनका व्यापारीलाई पठाउने गरेको र व्यापारीले शत प्रतिशत मूल्य बढी गरेर बिक्री गरेको आफ्नै अनुभव सुनाउँछन् । “मौसमी भन्दा बेमौसममा तरकारी उत्पादन गर्न कठिन हुन्छ । तयार ग¥यो तल चर्चरेमा डोको खोस्न आउँछन् । मूल्य आफनो कहिल्यै हँुदैन । सधै जस्तो उनकै मूल्य उनकै तौलमा बिक्री गर्नु पर्दछ । यसपटक बाँसको तामा (टुसा) बिचौलियाले प्रति केजी २० रुपैयाँमा खरिद गरे तर त्यही बस्तु बजारमा बिचौलियाले चार गुणा बढी मूल्यमा बिक्री गरेका छन्”–उनी भन्छन् ।
मदनपोखरा छापाका अगुवा कृषक रुक बहादुर चिदी पनि कृषक र उपभोक्ताबिच मूल्यमा धेरै अन्तर रहेको बताउँछन् । निस्दी गाउँपालिकाको सहलकोटकी अगुवा कृषक कृष्णा कुमारी लामिछाने यसपटक टनेलमा राम्रो टमाटर उत्पादन गर्दा प्रति केजी ८० रुपैयाँमा बिक्री गरेको बताउँछिन् । उनले बिक्री गरेको टमाटर उपभोक्ता समक्ष पुग्दा प्रति केजी १ सय ४० रुपैयाँ मूल्य कायम हँुदा खिन्न भएको बताइन् । कृषकले प्रति केजी ७० रुपैयाँ लागत नै लाग्दछ । “एक सय रुपैयाँ पनि मूल्य बढी भयो कि भन्ने डर लाग्दछ, तर बिचौलियाबाट उपभोक्ता सम्म ५० देखि सय रुपैयाँसम्म मूल्य अन्तर हुने गर्दछ । यस्ता विषयमा अनुगमन गर्ने कुन निकाय हो ?” लामिछाने भन्छन् ।
हुँदैन अनुगमन
भान्सामा प्रयोग हुने तरकारी बजारको कहिल्यै अनुगमन हुँदैन । नियमन गर्ने निकायले समय अनुसार अनुगमन नगर्दा समस्या आएको स्थानीयको गुनासो रहेको छ । ऐन नियम अनुसार अनुगमनका लागि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा उपप्रमुख, उपाध्यक्षको जिम्मेवारी छ । त्यस्तै कृषि ज्ञान केन्द्र र स्थानी तहमा कृषि शाखाका प्रमुखलाई पनि जिम्मेवारी प्राप्त भए पनि हाल सम्म तरकारी बजारको अनुगमन हुन नसकेको जिम्मेवारी प्राप्त एक अधिकारीले बताए । “स्थानीय तहका जनप्रतिनिधिलाई राजनैतिक कारणले गर्दा अप्ठ्यारो हुँदो रहेछ, तर तरकारी उत्पादनकर्तादेखि उपभोक्ताबिच मूल्यमा ज्यादै नै अन्तर भएको छ”–उनले स्वीकारे ।
बाणिज्य बिभाग अन्तर्गत खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, स्थानीय सरकारले मौसमी बजार अनुगमन गर्छन् । उनीहरुले खाद्य तथा किराना, होटलहरुमा अनुगमन गरे जस्तै गर्छन् । “जहाँ समस्या छ, त्यहाँ अनुगमन नै हुँदैन”–तानसेनका स्थानीय बिष्णु ज्ञवाली भन्छिन् ।
बजारमा उपभोक्ता समक्ष उत्पादकको सिधा सम्पर्क गराउन सकिने भए पनि कृषकका कारणले समस्या छ । “कृषक आफै बजार खोज्ने, बजारमा स्वयम् कृषकले बिक्री गर्दा न त मूल्यमा ठगिनु पर्छ, न त तौलमा ठगिनु पर्छ”– कृषि ज्ञान केन्द्रका प्राविधिकहरु बताउँछन् ।
वगनासकाली गाउँपालिका नायरका कृषक हिरा राना भन्छन्, “एकै पटक धेरै हँुदैन । कृषकले सबै मिलाएर एक डोको लैजाने हो । बाटोमा बिचौलियालाई दिने हो । डोको बोकेर बजार जानु भन्दा बिचौलिया या व्यापारीलाई दिएर बिहानै घर फर्कियो खाना खाएर दिउँसो अन्य काम गर्न पाइने भएकाले बजार पुग्ने नगरेको हो ।” राना जस्तै जिल्लाका कृषक आफैले बजारमा बिक्री नगरेका कारण बिचौलिया मालामाल हुँदा कृषक मारमा हुन पुगेका हुन् ।