© २०२३
पाल्पा, ३१ भदौ ।
धान खेतीयोग्य जमिन पछिल्लो समयमा आवासीय क्षेत्रमा परिवर्तन हुँदा चरनको समस्याका कारण भेडा व्यवसाय हराउँदै गएको छ । जिल्लाको माडी, रामपुर, हुँगी जस्ता ठाउँहरुमा बस्ने कुमाल समुदायको मुख्य आम्दानीको श्रोत भेडापालन व्यवसाय भएपनि पछिल्लो दशकमा भेडा चरनको ठाउँमा मानवीय बसोबास बढ्न थालेपछि त्यतिखेर व्यवसायको अस्तित्व नै समाप्त भएको स्थानीयहरुको भनाई रहेको छ ।
माडी फाँट आसपासको कसेनी, रुप्से चिदीपानी, हुँगी, पोखराथोक, चिर्तुङधारा, रामपुर फाँटको तिलपुर, बर्दले, तिलपुर जस्ता बस्तीका कुमाल समुदायले विशेष गरी कुमाल समुदायले भेडापालन गर्ने हो तर खेतमा धानवाली भित्र्याएपछि खाली जमिनमा भेडा चराएको देख्दा सिंगो फाँट नै सेताम्ये देखिन्थ्यो । तर पछिल्लो समयमा भेडा पाल्ने खेतमा बस्ती बस्यो । चरनको समस्या बिस्तारै बढ्दै गयो । त्यसले गर्दा यो पेशा तथा व्यवसाय क्रमिक रुपमा हराउँदै गएको रुप्सेका स्थानीय देव कुमार कुमाल बताउँछन् ।
भेडापालन पुरानो व्यवसाय नै हो । यसबाट कृषकले राम्रो आम्दानी गर्न सफल भएका थिए । सबैका घर घरमा २० देखि ४० वटा सम्म हुन्थे । हिउँदको समयमा भेंडाको रौं काट्न उत्तरी क्षेत्रबाट आउँथे । एउटा परिवारले २०–३० हजार रुपैयाँसम्मको रौं मात्र बिक्री गर्थे । त्यसैगरी हाम्रो सनातन धर्म अनुसार पञ्चवली गर्दा भेडा अनिवार्य रुपमा हुन्थ्यो । पुजाका लागि थुमे (भाले) बिक्री गर्दा प्रति परवार १ लाख सम्म हुन्थ्यो । चरनको अभावका कारण हराउँदै जाँदा जसोतसो केहीले मात्र निरन्तता दिएका छन् । कसेनीका लेख बहादुर कुमाल भन्छन्, “भेडाबाट आम्दानी लिने भनेको अव एकादेशको कथा जस्तै भएको छ ।”
आम्दानी राम्रो भनेर पनि भएन । यो व्यवसायप्रति नयाँ पुस्ताको खासै मन जान सकेन । जसोतसो पुरानो पुस्ताले निरन्तरता दिएका छन् । नगरभित्र शुन्य जस्तो त भएको छैन सय, पचासवटा खोजे भने भेटिन्छ । पहिले पचास वटा पालन गरेकाहरुले अहिले १०–२० मा झरेको छ । चरनको व्यवस्था भए यसबाट कृषकहरुले मासु, ऊन र मलबाट राम्रो आम्दानी गर्ने अवसर आउने रामपुका स्थानीय खुमबहादुर कुमाल बताउँछन् ।
पहिले पहिले खेतमा भेडा मात्र होइन । गाई गोरु चराउने प्रचलन थियो । खेतमा रासायनिक मलको प्रयोग अत्यन्त न्युन मात्रामा हुन्थ्यो । भेडा गाई गोरुको गोबर मलका कारण वाली उत्पादन राम्रो नै हुन्थ्यो । तर पछिल्लो समयमा चरनको समस्याका कारण गाई गोरु, भेडा हराउन पुगे । पछिका दिनमा खेत समेत रुखिदै गएको पोखराथोकका पुराना पुस्ताका मोहनलाल गैरे बताउँछन् ।
“भेडाबाट राम्रो आम्दानी लिने अवसर भएपनि चरनको समस्या छ । यो फेरि बाख्रा जस्तो होइन वनजंगल भन्दा समथर खेतमा चर्न रमाउने भएकाले खेतमा चराउने हो । त्यसैगरी बाख्रा जस्तो थुनेर राख्ने पनि होइन । यो पशु बधुवा हुँदा समस्या पनि भएको हो”–उनले भने ।
व्यावसायिक रुपमा पालन गर्ने फर्म दर्ता गरेर स्थानीय सरकारसँग आए खोर निर्माणदेखि अन्य क्षेत्रमा सहयोग गर्ने माथागढी सरकारका प्रमुख यम बहादुर चिदी बताउँछन् । भेडापालन व्यवसायप्रति आफु पनि अनभिज्ञ नभएकाले यसको प्रवद्र्धनका लागि सहयोग गर्ने हो तर त्यसका लागि कृषक नै अग्रसर हुनु पर्ने प्रमुख चिदी बताउँछन् ।
खाली जमिनमा घाँस रोपण कार्यलाई तीव्रता दिने हो भने घाँसको समस्या नै हुँदैन । कृषकमा इच्छा शक्ति भएको खण्डमा उन्नत जातको भेडाको पनि व्यवस्था गर्न सकिने बगनासकाली सरकारका प्रमुख सरस्वती चिदी बताउँछिन् ।
बाख्राको तुलनामा भेडाबाट फाइदा धेरै लिन सकिने र उन्नत तथा नश्ल सुधारबाट उत्पादन राम्रो लिन सकिने र त्यसैगरी प्रविधी पनि आधुनिक भएको खण्डमा रौं बिक्रीबाटै राम्रो आम्दानी लिन सकिने रुप्सेका पुराना कृषक नेत्र बहादुर सारु बताउँछन् । उत्पादन राम्रो लिनका लागि उन्नत जात र आधुनिक प्रविधीमा प्रवेश गर्न पर्दछ । परम्परागत प्रणाली बाट हुँदैन । व्यावसायिक रुपमा पालन गर्ने कृषकहरुलाई नगर सरकारले पूर्णरुपमा सहयोग गर्ने रामपुर नगर सरकारका प्रमुख रमण थापा बताउँछन् ।