© २०२३
फूल सुगन्धित हुन्छ भन्ने धारणा एक स्थूल बोध हो । विशिष्टतामा हेर्ने हो भने त्यो सुगन्धको मूल फूल होइन, पराग हो । फूलका थुँगा थुँगाबाट निस्किने सुगन्ध त्यही सुक्ष्म परागको सुगन्ध हो । सेंचन प्रक्रिया पूरा भएपछि त्यही फूलमा फल लाग्दछ । पहेलपुर हुन्छ । पाक्दछ । कालान्तरमा भुइँमा झर्दछ ।
फल त्यसै भुईमा झरेको होइन, भौतिक विज्ञानका अनुसार पृथ्वीले आफू वरिपरिका वस्तुहरूलाई आफ्नो केन्द्रमा तान्ने गर्दछ । त्यसैलाई गुरुत्वाकर्षण बल भन्दछन् । पृथ्वीसँग त्यो बल हुँदैनथ्यो भने कहाँ खस्थ्यो र फल भुँइमा ? हाँगा हाँगाबाट कहाँ झथ्र्यो र स्याउ धर्तीमा ?
खासमा मान्छे पनि एउटा पिण्ड हो । भौतिक रूपमा मांसपिण्ड । भावनात्मक रूपमा संवेदनाको पिण्ड । त्यसैले मान्छे आफै पृथ्वीको एउटा सानो र छुट्टै पृथ्वी हो । यसले पनि अर्को कुनै पिण्डलाई आफूतिर तान्छ वा तानिन्छ ।
दैहिक रूपमा ।
भावनात्मक रूपमा ।
फूलमा पराग भएजस्तै मान्छेभित्र पनि पराग छ । मान्छेको शरीरबाट निस्किरहेको सुवास त्यही परागको हो । एउटा प्यारो मान्छेको शरीरबाट निस्किरहेको त्यो बास्नाले किन बनाउँछ मलाई वासनारत ? किन बनाउँछ वशीभूत ? किनभने त्यो मान्छेको गुरुत्वाकर्षणको बल हो । किनभने हरेक मान्छे एउटा शक्तिशाली पिण्ड हो ।
मलाई कसैको दैहिक बास्नाले लट्ठ्याउँछ । कसैको अनुहार मेरो आँखामा बस्न आइपुग्छ । कसैको मुस्कानले मलाई घाइते बनाउँछ । कसैको उदास अनुहारले मलाई संवेदनशील बनाउँछ । बोटको फल पृथ्वीमा खसेजस्तै कसैको मुस्कान कहीं कतै नखसेर किन सिधै मेरो आँखामा आई थपक्क बस्छ ?
यो सब कसैको बास्ना र मेरो वासनाको कारणले भएको हो ।
खासमा जीवन भनेको बास्ना र वासनाको परिवृत्तमा घुमिरहने पिण्डको नाम रहेछ ।
हरेक मान्छे पृथ्वीको एक अद्वितीय अस्तित्व हो । अतः म पनि हुँ । म एक पिण्ड ! त्यसैले यो पृथ्वीमा मलाई तानिरहने एउटा न एउटा पिण्ड यहाँ छ । एउटा प्यारो मान्छे ! मलाई तान्ने त्यो पिण्ड प्रकृतिको घुम्टो ओढेकी हरियो पहाडजस्तै सुन्दरी भएर मेरो जीवनमा आउँछ । मलाई त्यो विराट पहाडले तान्छे आफूतिर । म तानिन्छु त्यसको गुरुत्वले । त्यसैको अंगालोमा हराइजाउँ जस्तो लाग्छ मलाई ।
तर के हुन्छ ? पहाडमा हलचल हुन्छ । र, मायाको पहिरो झर्छ । त्यसले मलाई प्रशस्त घाउ चोट दिन्छ । त्यसले मेरो अस्तित्वलाई पुरिदिन्छ ।
रातको नीरव चकमन्नतामा घरको छतमा उक्लेर जून हेर्छु । पूर्णचन्द्रको जून सकारण असाध्यै मन पर्छ मलाई । किनभने म त्यो जूनमा आफ्नो गुरुवात्वकर्षणले मलाई तानिरहने प्यारो मान्छेको अनुहार देख्छु । जतिखेर म आफूलाई तान्ने मान्छेलाई जूनमा हेरिरहेको हुन्छु, ठीक त्यति नै खेर जूनले आफ्ना किरण मार्फत समुन्द्रलाई आफूतिर तानिरहेको हुन्छ । उता जूनको आकर्षणले सागरको विशाल सतहमा ज्वारभाटाको लहर उठिरहेको हुन्छ, यता जूनको उज्यालोमा देखिएर मलाई तान्ने प्यारो मान्छेको अनुरागले मेरो छातीमा पनि ज्वारभाटा उठिरहेको हुन्छ ।
पृथ्वीले सूर्यलाई घुम्नु भनेको पृथ्वीलाई सूर्यले आकर्षित गर्नु हो । चन्द्रमाले पृथ्वीलाई घुम्नु भनेको चन्द्रमालाई पृथ्वीले आकर्षित गर्नु हो । सारा ब्रम्हाण्ड आखिर आकर्षण कै खेल त रहेछ आखिर ।
पृथ्वीले चन्द्रमालाई मात्रै होइन, चन्द्रमाले पनि पृथ्वीलाई आकर्षित गरिरहेको हुन्छ भनी ज्वारभाटा उठाई प्रमाण दिने सागरको अस्तित्वको आधार के हो ? यस्तो वाहियात सोंच्छु कहिलेकाँही ।
अनि सागरको अस्तित्व र उफानका बारेमा सोंच्छु । त्यो सोंच्नासाथ आँखामा आउँछन् नदीहरूको गतिमान दृश्य । म त्यही नदीको लहरमा मलाई तानिरहने प्यारो मान्छेलाई देख्छु । अनि म मिल्न चाहन्छु त्यही नदीमा । मलाई तानिरहन्छ त्यै नदीले । म त्यै नदीको प्यारो प्रवाहमा बग्दै बग्दै जीवनको महासागर भेट्न चाहन्छु । त्यो नदी एउटा सघन पिण्ड बन्छ मेरा लागि र तान्छ मलाई तीब्र गुरुत्वाकर्षणले । अनि म तानिएर हठात्, त्यै नदीको किनारमा जीवनको इन्द्रेनी खोज्न पुग्दछु ।
तर के हुन्छ ? नदीमा हलचल हुन्छ । धमिलिन्छ पानी । आउँछ अचानक मायाको बाढी । बगाउँछ मलाई ।
र, फालिदिन्छ कतै एकान्त बगरमा । यसरी मेरो अस्तित्व थाहै नपाई एउटा गहन अन्धकारभित्रको संकटमा पस्दछ । तर त्यो गहन अन्धकारमा पनि मेरो आँखामा एउटा वासना कायमै रहन्छ ।
उज्यालोको वासना । उज्यालोको कामना ।
एउटा दीपकको कामना । एउटा बत्तीको कामना ।
अनि मेरो आँखामा एउटा बत्ती आउँछ । त्यो बत्तीमा बलिरहेको बाती देख्दिन म । म त्यो बत्तीमा मलाई तानिरहने प्यारो मान्छे बलिरहेको देख्छु । जसको सौन्दर्यले मोहित तुल्याउँछ मलाई । तान्छ मलाई आफूतिर । अनि म मानौं पुतली बनी झुम्मिन्छु त्यसमा । जानी जानी ।
अचानक एउटा लप्का उठ्छ । डढाउँछ मेरो आकाङ्क्षाको पखेटा । म खस्छु अनि बत्तीमुनिको अन्धकारमा । म एउटा मांस पिण्ड ! म एउटा वासनाको पिण्ड । म एउटा संवेदनाको पिण्ड । मायाको गुरुत्वाकर्षको वासनामा यसरी खसिरहन्छु एक पछि अर्को अन्धकारमा ।
यसरी वासनाको गुरुत्वाकर्षणले प्यारो मान्छेको मुस्कान मेरै आँखामा बसाई सर्छ । र, अनौठो अनौठो सोंचमा परिरहन्छु म । ‘ऐया’ नभनी मायाको पहिरोमा पुरिई जान्छु । ‘गुहार’ नभनी मायाको बाढीमा बगी जान्छु । ‘आत्थोे’ नभनी मायाको प्रज्वलित ज्वालामा डढी जान्छु ।
उसरी, कहाँ र कहिले थियो र प्राप्तिमा माया ?
कहाँ हुन्छ स्वामित्वमा माया ?
गुमनाम गुमनाम पुरिएर नामेट हुनु पो माया ! थाहै नपाई बगी जानु पो माया ! थाहा पाई पाई सकिइ जानु पो माया !