© २०२३
प्यूठान, ०६ मङ्सिर ।
प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा भूतप्रेत ‘बोक्सा’ लखेट्ने मेला सकिएको छ । एक वर्ष विराएर लाग्ने मेला बुधवार धामी झाँक्रीहरूले बोक्सा लखेटेर मेला सम्पन्न गरेका हुन् ।
गाउँका पुनको नेतृत्वमा प्रत्येक वर्षको कात्तिक २० गते पुजारी छनोट गरिन्छ । कार्तिक महिनाको अन्तिम सोमबार गाउँका मानिसहरू जम्मा हुन्छन् र मंगलबार खुङ (जंगलमा सिकार ) हेर्न जाने परम्परा छ । मंसिर पहिलो मंगलवार जेठी भूमि भनिने भुमे पुजा सकिएपछि बुधवार झाँक्री नाँच नाच्ने चलन रहेको पुजारी नारायण पुनले जानकारी दिए ।
यसलाई स्थानीय भाषामा बोक्सा लखेट्ने मेला भनिन्छ । यो एक वर्ष बिराउँदै हुने गर्दछ । बोक्सी तथा भुतप्रेत बाट बच्न जना सम्म झाँक्रीहरू बनी तन्त्रमन्त्र गरेर बोक्सी लखटेर मन्दिर देखि पर लगेर हलो गाडेपछि मेला समापन भएको पुनले बताए । यो संस्कार १ वर्ष विराएर हुने गर्दछ ।
झाँक्रीहरूले तन्त्रमन्त्रद्वारा गाउँका भुतप्रेत, प्राकृतिक विपत्ती, महामारी, संकटहरूबाट बचाउन भन्दै मेला लाग्ने गरेको स्थानीय मनोज तिर्केपुनगरले जानकारी दिए । ‘अनिष्ट हुनबाट बचाउन भुमे पुजाको अर्को दिन गाउँभरका झाँक्रीहरू तन्त्रमन्त्र गर्ने चलन छ’ उनले भने ।
उत्तरी प्यूठानका गौमुखी गाउँपालिकाका अर्खा र रजवारामा यस्ता मेलाहरू हुने गर्दछन् । गौमुखी गाउँपालिका–१ अर्खामा प्रत्येक वर्ष श्रावण २ गते साउने संक्रान्तिको अर्को दिन १ वर्ष विराएर भुमे पुजा र साउने संक्रान्ति सँग सम्बन्धित रहेर यो नाच नाचिन्छ । अर्खामा नाच्ने नाँचलाई लाटा नाँच भनेर चिनिन्छ ।