© २०२३
गुल्मी, ०६ मंसिर ।
गुल्मीमा एउटा कृषकले आफ्नै मेहनतमा सबै भन्दा धेरै धान उत्पादन गरेर यतिबेला चर्चा कमाएका छन । जिल्लाको धुर्कोट गाउँपालिका–६ स्थित सिस्तुङ् फाँटमा कृषक मेघनाथ अर्यालले व्यवसायिक रूपमै जिल्लामा धेरै धान उत्पादन गरेर चर्चा बटुलेका हुन ।
कोरोना महामारीको समयमा शहरको बसाई त्यागेर आफ्नै गाउँ फर्किएर कृषि पेसा अँगालेका अर्यालले यस वर्षदेखि व्यवसायिक रूपमा धान उत्पादन गर्न थालेका हुन । अर्यालले आफ्नो जग्गा सहित थप जग्गा लिजमा लिएर धान खेती गरेका हुन । अर्यालले गाउँमा बाँझिदै गरेका खेत लिजमा लिएर धान उत्पादन गर्ने र उत्पादित धानलाई प्रशोधन गरि पहाडको चामल तराइसम्म पुराउने योजना बनाएका छन् ।
अर्यालले आफूले पहिलो पटक उत्पादन गरेको धान प्रदर्शन गरेर रोजगारीका लागि परदेश झरेका तमाम युवाहरूलाई जाँगर भएमा स्वदेशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा जगाएका छन । उनले अरबका खाडीमा तातो वालुवामा पसिना बगाउनु भन्दा पहाडका चिसा फाँटहरू कोतर्ने हो भने मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन ।
जिल्ला स्थित विभिन्न कार्यालय र जनप्रनिधि बीच उत्पादित थान प्रदर्शन समेत गरिएको थियो । आयातित चामलको मूल्यका हिसाबले बढिरहेको समयमा जिल्लामै मिल स्थापना गरेर चामल निर्यात गर्न सकेमा कृषकको आम्दानीको श्रोत बढ्दै जाने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । कृषि ज्ञानकेन्द्र गुल्मीले धान उत्पादन गर्ने कृषकलाई बीउ तथा साना सिंचाइमा सहयोग गर्ने गरेको बताईएको छ ।
अर्याले यसवर्ष धान प्याकेजिङ् गरेर बजारमा लैजाने तयारी गरिरहेको बताएका छन । व्यवसायिक रूपमा जिल्लामा सबै भन्दा धेरै भैंसीपालन व्यावसाय समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको सुनाए । उनले यस वर्ष ७ लाखको धान बिक्री गर्ने लक्ष्य राखेका छन ।
धुर्कोट गाउँपालिकाले धान उत्पादन गर्ने कृषक अर्याललाई धान प्रशोधन गर्ने मेसिन प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए । उनले यसरी गाउँमा कृषि उत्पादन बढाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रमहरू समेत गर्दै आएको जानकारी दिएका छन । धुर्कोट गाउँपालिकाले पहाडी क्षेत्रमा चिसो पानीमा अर्गानिक रूपमा उत्पादन भएको धानको चामल जिल्ला र जिल्ला बाहिर निर्यात एवं बजारीकरणमा सहयोग गर्ने अध्यक्ष पोखरेलले बताए । बैदेशिक रोजगारिबाट स्वदेशमा फर्केपछि १६ वर्ष बुटवलमा बसेर गाउँ फर्किएका अर्यालले व्यावसायीक रूपमा कृषि पेशा गर्दै आएका छन । अर्यालको र्फममा अहिले ४२ वटा भैँसी समेत रहेका छन् । फर्मबाट हाल दैनिक रूपमा १ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।