© २०२३
सीता न्यौपाने,उपाध्यायको २० वर्षको उमेरमा शंकरदत्त उपाध्यायसँग २०५५ सालमा विहे भयो । यतिबेला उनी रूपन्देही,तिलोत्तमा नगरपालिका वडा नं.१० को बेवरीमा रहेको प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष छिन् । दोस्रो कार्यकालको पहिलो वर्षको सेवा गर्दै आएकी उनले सहकारीमा पूर्णसमय खर्चिएकी छिन् । विहान १० वजे सहकारीमा आईपुग्छिन् । कार्यालयमा कर्मचारी र सेयर सदस्यहरूसँग भेटघाट गर्छिन् । दिउँसोतिर खाजा खाएर आफ्ना सेयर सदस्यहरूका उद्यम, खेतीपाती हेर्न पुग्छिन् । दुई हजार आठ सय जति सेयर सदस्य रहेको उक्त सहकारीमा करिव पाँच सय बढीले संस्थाबाट कर्जा लिएर कुखुरापालन, भैंसीपालन, बंगुरपालन,पाडापालन, सिलाईकटाई,व्यापार, व्यवसाय र उद्यम सञ्चालन गर्दै आईरहेका छन् । त्यतिमात्र होईन,फ्रेस हाउस,दूधडेरी, टेक्टर,मोटर,जीप सञ्चालन गरि मनग्य आम्दानी गर्दै आएका छन् । सोही उद्यम,व्यवसाय र खेतीपाती हेर्दा सीताका मन शित्तल हुने रहेछ । आफ्नो सहकारीबाट स्वरोजगारी र रोजगार प्राप्त गर्न र सफलता हासिल गरेका सेयर सदस्य दिदीबहिनीहरू देख्दा सीतालाई साहस बढेको महसुस हुने सुनाउँदै थिईन् ।
कर्जाको प्रयोगमा कुनै विषयान्तर भयो कि,कर्जा डुब्छ कि भन्ने डरले कहिलेकाँही उनमा शंका नलागेको होईन । तैपनि निरन्तर सहकारीको उन्नति र प्रगतिका लागि कर्मचारीको दरो साथ र समर्थन जुटाएकी छिन् । उनकै छिमेकी एवम् संस्थापक अध्यक्ष जमुना गिरीले यतिबेला व्यवस्थापकीय पाटोमा सीताको नेतृत्वलाई सक्दो सहयोग गरेकी छिन् ।
सीताका तीन सन्तान छन् । जेठी छोरी सुस्मिता आईटी ईन्जिनियर हुन् । यतिबेला अमेरिकन कम्पनी फ्यूजमसीनमा घरमै रहेर निरन्तर सर्भिस गर्दैआएकी छिन् । त्यसैगरी कान्छीछोरी अस्मिताले द्यक्ष्ः को अन्तिम परीक्षामा सहभागी भएर नतीजाको प्रतीक्षामा छिन् । दुबै छोरी अतिनै तीक्ष्ण रहेकै कारण छात्रवृत्तिमा पढ्न समेत भ्याएका छन् । छोरो अभिनवले तिलोत्तमा क्याम्पसमा विज्ञान विषय लिई कक्षा–१२ पढ्दैछन् । सीताका श्रीमान् टिकुलीगढ मावि, तिलोत्तमाका प्रधानाध्यापक हुन् । गणित विषयको प्रकाण्ड विद्वान शंकर सरलाई जीवनसाथी पाएपछि सीता खुसी र सुखी छिन् ।
तीन दाइहरूकी एक्लीबहिनी सीताले माईतीघरमा खासै दुःख गर्न परेन । स्नेह र ममताले हुर्किने अवसर पाईन् । दश जोड दुई कक्षा उत्तीर्ण सीताले श्रीकृष्ण कृषि सहकारी,शिवपुर,रूपन्देहीमा करिव तीन वर्ष व्यवस्थापक भएर अनुभव सङ्गालेकी छिन् । केही समय शिक्षक समेत भईन् ।
२०७१ सालतिर उनी तिलोत्तमा नपाभित्र रहेको जनभावना माविको व्यवस्थापन समिति अध्यक्ष भएर व्यवस्थापकीय क्षमता प्रस्तुत गरेकी थिईन् । विद्यालयलाई नमूना बनाउन कम्मर कसेर लागेकी थिईन् ।
सीता विहान ३ः४५ मा उठ्छिन् । नित्य कर्म गर्छिन् । विहान पाँचदेखि ६ः३० वजेसम्म जीवनविज्ञान प्रशिक्षक प्रशिक्षण जूममार्फत लिन्छिन् । ध्यान गर्छिन् । योग गर्छिन् । शरीर फूर्तिलो र निरोगी बनाउन जीवनविज्ञान रामवाण सावित भएको सुनाउँदै थिईन् ।
सीतालाई कुरा काटेर समय व्यतीत गर्ने फुर्सद नै छैन । उनको त्यो रहरको विषय पनि होईन । कर्मशील र लगनशील सीताले आफ्नो पहिलो अध्यक्षयीय कार्यकालमा सहकारीको रजतमहोत्सव आफ्नै अध्यक्षतामा मनाउने सुवर्णअवसर प्राप्त गरिन् । उक्त समयमा उनले सहकारीको रजतस्मारिका प्रकाशन गरिन् । त्यसमा संस्थापक अध्यक्षलगायत पूर्वअध्यक्ष, सल्लाहकार,समिति र सेयर सदस्यका भूमिका प्रभावकारी रहेकोभन्दै सीताले मुक्तकण्ठले प्रशंसा गरिन् ।
सीतालाई सहकारी नै सर्वस्व लाग्छ रे ! सन्तानजस्तै प्रिय र अभिभावकजस्तै आदरणीय पनि । माईतीघर प्युठान र कर्मघर बाग्लुङ्ग रहेकी सीताले आफ्नो जीवनको स्वर्णीमकाल सहकारीमै बिताएको र बाँकी जीवन समेत सहकारी अभियानमा बिताउने दृढ संकल्प बोकेकी उनले वर्तमान समयमा सहकारीका बारेमा फैलिएका कुनैपनि अफावहले आफ्नो सहकारीलाई कुनैपनि असर नपारेको बताईन् । बरु सेयर सदस्यहरूलाई सहकारी शिक्षा र सञ्चालकहरूलाई टीम मेनेजमेन्ट तालिमले अग्रसर हुन उत्प्रेरणा मिलेको सुनाईन् । २०५६ सालमा यसै सहकारीमा जोडिएकी उनले ईकाई संयोजक,लेखा सुपरीक्षण समितिका अध्यक्ष समेत भएर सहकारीलाई सक्दो सहयोग गरेकी थिईन् ।
“सहकारीको उत्थान,महिला पहिचान“ सोचकी धनी सीताले सहकारीमार्फत् समृद्धिको ढोका उघ्रिने बताईन् । आफ्नो सहकारीलाई देशकै नमूना सहकारी बनाउने अभियानमा जुटेकी सीतालाई आफ्नै जग्गामा भवन ठड्याउने सपनाले सुत्न दिएको छैन । सपनालाई विपनामा साकार बनाउन सरोकारवाला सबैसँग समन्वय, सहकार्य र सहयात्रामा जोडिएकी छिन् ।