© २०२३
गुल्मी, ०६ मंसिर ।
गुल्मीमा सुन्तला बगैंचाहरूमा बोट पहेलोहुने रोगको प्रकोप देखिएको छ । सुन्तला पाक्ने समय नजिकिदै जाँदा बगैँचाहरूमा यस्तो प्रकारको समस्या देखा परेको हो । जिल्लामा यतिबेला अधिकाँस सुन्तला कृषकहरूका बगैँचामा फलेका सुन्तलाका बोटहरू पहेलो हुने समस्या देखिएको हो ।
यसरी सुन्तला पाक्ने समयमा बोटहरू पहेँलो हुने र दानाहरू पनि नपाक्दै पहेलो भएर झर्ने गरेका कारण यहाँका कृषकहरू थप चिन्तित बनेका छन । जिल्लाको रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकामा यस्तो प्रकारको समस्या बढी देखिएको छ ।
सुन्तला पाक्ने समयमा अचानक यस्तो प्रकारको समस्या देखिएको रेसुङ्गा नगरपालिका –५ का कृषक डिल बहादुर सुनारले बताए । ‘बोटभरी लटरम्म सुन्तला फलेको थियो तर एक्कासी किनहो बोटका पातहरू पनि बिस्तारै पहेलो हुँदै गएर बोट पनि सुक्न थाले, केही औषधि पाईन्छकि भनेर कृषि ज्ञान केन्द्रमा आएको छु,’ उनले भने ।
धुर्कोट गाउँपािलका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैचामा पनि यस्तै बोट पहेलो हुने रोग देखा परेको छ । उनको बगैँचामा एक हजार भन्दा धेरै सुन्तलाका बोटहरू रहेका छन । बगैँचामा रहेका धेरैजसो बोटहरूमा बोट पहेलोहुने रोग देखा परेको पौडेलले गुनासो गरे । गत वर्ष चार लाख मुल्य बराबरको सुन्तला बिक्री गरेका पौडेलको बगैँचामा रोगका कारण अहिले एक लाखको सुन्तला बिक्री गर्न पनि समस्या हुने बताएका छन । लटरम्म फल लागेका सुन्तला पनि रोगले झरेका कारण यस पटक आफ्नो लगानी खेर जानेहो कि भन्ने पौडेललाई चिन्ता छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले अहिले केही सुन्तला बगैँचाहरूमा सुन्तलाका बोटमा पहेलोपना देखापरेको बताए । बगँैचामा गएर हेर्दा बोटका जरा कुहिने र बोट नै पहेलो भएको उनले जानकारी दिए । सुन्तलाका बोटको फेँदमा बढी चिसोपना भएकाले पनि उक्त रोग देखा पर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न ढुसीनासक विषादीे प्रयोग गर्नुपर्ने भण्डारीको सुझाब छ । उनले प्रकोप देखिएको क्षेत्रका कृषकलाई बगैचा व्यबस्थापन र रोग सम्बन्धी तालिम प्रदान गर्ने कृषि ज्ञान केन्द्रले तयारी गरेकोे जानकारी दिएका छन ।
जिल्लामा अधिकाँस कृषकहरूले सुन्तलाको परम्परागत खेतीमा परिवर्तन नगर्नु, बगैचामा सुक्ष्म तत्व र मलखादको उचित प्रयोग नगर्नु, समय समयमा बोटहरूको काँटछाँट नगर्नु पनि एक प्रकारको समस्या छ । सिँचाई र गुणस्तरीय बिरुवाको अभावका कारण जिल्लामा अझै सोँचे अनुसार सुन्तलाले प्रतिफल दिन नसकेकोे बताईएको छ । जिल्लामा कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय भन्दा बढी सुन्तलाका बिरुवा रहेका छन । उक्त बोटहरू मध्य हाल दुइ लाख ४९ हजार बोटहरूले मात्र उत्पादन दिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।