© २०२३
प्यूठान, ०६ मंसिर ।
यहाँकी ३२ वर्षीय रिता बुढामगरलाई सार्वजनिक स्थलमा किरिया गर्नु परेको छ । मंगलवार आफ्ना श्रीमानको मृत्यु भएपछि उनी सापडाँडा स्वास्थ्य चौकीको निर्माणाधिन टहरामा किरिया बसेकी छन् ।
प्यूठान नगरपालिकाको एउटा पसलमा एक दशक बढी ड्राइभर पेशामा काम गरिरहेका श्रीमानको मंगलबार ट्रकमा बसेकै समयमा एक्कासी बेहास भइ मृत्यू भएको थियो । श्रीमानको घरजग्गा नभएको र कोठा भाडामा लिइ बस्दै आएको स्थानमा किरिया गर्न घर मालीकले नमिल्ने भनेपछि सार्वजनिक स्थलमा किरिया बस्नु परेको हो । किरिया गर्न समेत स्थल नपाएकी उनलाई प्यूठान नगरपालिका–३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले स्वास्थ्य चौकीको निर्माणाधिन टहरामा आफ्नो श्रीमानको अन्तिम संस्कार पूरा गर्ने प्रबन्ध मिलाएको बताए ।
रिताका एक ६ वर्षीय छोरा र दुई वर्षीय छोरी रहेका छन् । गौमुखी गाउँपालिका–२ अर्खा घर बताउने श्रीमानको गाउँमा समेत उनी पुगेकी थिइनन् । उनीहरूको ८ वर्ष अघि बिहे भएको थियो । बिहेपछि उज्वलले गाडी चलाउने र रिताले बच्चाबच्चीको हेरचाह गर्दै आएकी थिइन् । परिवारमा आम्दानी गर्ने मुख्य व्यक्ति नै ढलेपछि रिताको परिवार संकटमा परेको छ । रिताका बालबच्चाको उज्वल भविष्यको लागि स्थानीयहरू सहयोगको अपिल गर्न थालेका छन् । प्यूठान नगरपालिका–४ बिजुवारकी सावित्रा श्रेष्ठले बालबच्चाको भविष्य विग्रन नदिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।
प्यूठान नगरपालिकाका प्रवक्ता समेत रहेका सुमनराज श्रेष्ठले रिताको परिवारलाई सहयोगका लागि सहयोगदाताहरू खोजिरहेको बताए । ‘उहाँहरू प्यूठान नगरपालिकाको हुनुहुन्न तर पनि हामीले दैनिकी निर्वाहको लागि समस्याको समाधान खोजिरहेका छौं’ श्रेष्ठले भने ।