© २०२३
यात्रा, जीवन हो । जीवन नै यात्रा हो । यही कुरालाई मनन गर्दै यही मंसिर १ गते शनिबारका दिन पुरानो नुनतेल पदमार्गमा पैदलयात्रा गर्दैछौं । यो यात्रा ऐतिहासिक हुने कल्पना गरेका छौं । पाल्पाको मस्याम हटिया (तिनाउ गाउँपालिका वडा नं.६) बाट हाम्रो पैदलयात्राको थालनी हुनेछ । मस्यामको पुरानो बजार हो हटिया । यहाँ नुनतेल खेप्नेमात्र होईन लाहुरेहरू आउँदाजाँदा बास बस्ने ठाउँ थियो । होटलहरू थिए । कपडा, भाँडा पसल अनि किराना पसलहरू पनि थिए । तर, आज त्यो पुरानो खचाखचको बजार अहिले बजारजस्तो छैन ।
मानिसहरू हटिया आईपुगेपछि पूर्व उत्तरतिर हानिँदा स्याङ्जा, बाग्लुङतिर पुग्थे भने उत्तरपश्चिम लाग्नेहरू गुल्मी, अर्घाखाँची र प्युठानतिर पुग्थे । मस्याम हटियामा नेवार जातिको घनत्व थियो । २०२८ सालसम्म थकालीहरूले होटल र लज चलाएका कुरा साविक मस्याम गाविसका अध्यक्ष पूर्णबहादुर खाम्चा मगरले सुनाउँदै थिए । हामी पुरानो पदमार्ग पछ्याउँदै हटियाको ओरालो हुँदै सिस्नेखोला पुग्नेछौं । त्यस खोलामा उतिबेला असला माछा पाईन्थ्यो । स्थानीयहरूले असला माछा मारेर होटल चलाउनेहरूलाई बेचेर जीविकोपार्जन गर्थे । चिसोपानी थियो सिस्नेखोलाको । अहिले पनि कम चिसो छैन । यही खोलाबाट गौतमबुद्व हाइड्रोपावर सञ्चालनमा आएको छ । यही पानीले लग्धुवा गाउँमा सिंचाई २४ सै घण्टा भएको छ । तीनै सिजनको खेती हुन्छ । त्यतिमात्र होईन यहाँको झिनुवा धान र मानापाथीमा भर्न मिल्ने सानाखालको चोपिलो लौधुवाली आलुको स्वाद जिब्रोमा नै झुन्डिने खालको हुन्छ । अचेल गाउँमा नगदेबालीतिर ध्यान दिएकै कारण आत्मराम, लक्ष्मण, पूर्णिसरा लगायतका किसानहरू हरिया नोट बट्याउनै हतारोमा छन् । मरेक गाउँमा रहेको सरस्वती प्राथमिक विद्यालय साविक दोभान गाविसको सबैभन्दा पुरानो विद्यालय हो । यतिबेला विद्यार्थीको अभावले अन्त कतै मर्ज वा बन्द हुने पिरलो छ । मरेक, नुनतेल पैदल मार्गको मुकामजस्तै थियो । यहाँ खुलेको खानीका कारण चहलपहल देखिन्छ । उतिबेला कविवर अजम्वरध्वज खातीले राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतलाई यही मरेकमा बास बसालेर पाल्पा तानसेनमा कवि सम्मेलन गर्न पुराएको इतिहास सुनेको धेरै वर्ष भो । साथै दोभानका पुराना कवि ताराप्रसाद श्रेष्ठको जन्मघर र उनको साहित्य अङ्कुरण भएको भूगोल नै मरेक हो । मरेक तलको गाउँ रानीबास थियो । आज गाउँ नै छैन । पहिला छाप्रे होटलहरू थिए । अर्थात् भट्टिहरू थिए । लाहुरे वा भरियाहरू यतै बस्थे । नाच्ने, गाउनेहरूमात्र होईन जुवातास खेलेर लाहुरेहरूलाई बुङ्गै बनाउथे रे ! सुनेको कुरो । त्यो रानीबास बजार आज नामोनिसान छैन । यहाँ होटल व्यवसाय गर्नेहरू आज देशका महत्वपूर्ण बजारहरूमा छन् ।
सालबास र बोटेगाउँ रमाईलो छ । तर व्यवसाय ठप्प छ । बरु यहाँका मानिसहरूले खेती किसानी गर्छन् । आम्दानीको राम्रो बाटो थालेका छन् । नयाँबजार बन्यो, लामाचौपारी । सम्वत् १९७० मा बनेको ‘दोभान पुल’ नयाँ पक्की पुल बनेपछि कुनोमा प¥यो । तैपनि इतिहास बोकेर हिजोका नुनतेल ओसार्ने पदयात्रीहरूको गतिलो साक्षी बनेर उभिएकै छ । जारलाई काटेर रिस नमरेपछि तरवार ढुङ्गामा धसेको कुरा आज कहावतजस्तै बनेको छ । यो जारकाटे ढुंगा जीवित भएपनि मृत्युतुल्य छ । जारकाटे गाउँ आज गणेशटोल स्वघोषित भई प्रचलित छ । त्यहाँ माथिको गाउँ नुवाकोट हो । अनि छेउमै बग्ने झेर्दीखोला । नेपाल–अङग्रेज युद्धमा यो खोलाका नाम उल्लेख गरि नेपाली योद्वा, सेना नायकलाई अङ्ग्रेजले पत्राचार गरेको इतिहासका जानकार निर्मल श्रेष्ठले आफ्ना लेखहरूमा जनाएका छन् । नुवाकोटमा छोटी भन्सार थियो । यो सामरिक महत्वको क्षेत्र हो । उजिरसिंहले अङ्ग्रेजलाई हराउन रणनीतिक योजना यही नुवाकोटमा बनाएको किंवदन्ती भेटिन्छ । रानीकुवा, काठेगढी, भग्नावशेष दरवार, भैरमबाबाको मन्दिर, भ्यूटावरे नुवाकोटको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्य नै नुवाकोट भएरपनि अझै प्रगतिका लागि केवलकार सञ्चालनमा आएको छ । पुरानो नुवाकोट नयाँ र परिस्कृत रूपमा हामीबीच आईपुग्दैछ ।
नयाँ पुस्तालाई नुनतेल पदमार्गको जानकारी दिनका लागि तय गरिएको यो पैदल यात्राले इतिहासलाई सम्झाउने छ । वर्तमानमा अतीतलाई केलाउन सहयोग गर्नेछ र भविष्यमा यो मार्गलाई ऐतिहासिक सामरिक मार्गका रूपमा थप परिमार्जनसहित अघि बढाउन मद्दत गर्नेछ ।
पर्यटनका दृष्टिकोणले यो मार्गमा बर्सेनि हजारौका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकलाई भित्राउन सकेमा यो मार्गका छेउछाउमा बस्ने नागरिकहरूको आर्थिक एवम् सामाजिक समृद्धि सम्भव हुनेछ । छेउछाउका मानिसका उत्पादनले बजार पाउन सक्नेछन् । हामी आफूले इतिहासप्रति गौरव गर्ने ठाउँ हुनेछ । यो पदयात्राले आन्तरिक पर्यटनमा जोड दिनेछ । नयाँ चिनारी दिने छ । हाम्रा पुराना पुस्तालाई सम्झिने छौं । उनीहरूका कर्तव्यलाई पुनरावलोकन गर्न सम्भव हुनेछ । देश, दुनियाँलाई बुझ्न र बुझाउन पहलकदमी गरेको यो नुनतेल पदमार्गलाई नयाँरूपमा परिभाषित गर्न र हामीले पुरानो मार्गलाई परिचय दिन गरेको यो यात्राको थालनी कोसेढुङ्गा सावित हुनेछ ।