© २०२३
प्रारम्भः
शरद ऋतु निकै मनोरम हुन्छ । न धेरै गर्मी न धेरै जाडो । चाडपर्वको मौसम । दशैँ तिहार छठ पर्वको मौसम । सबैको विदा आदि पर्ने मौसम । अस्पतालको दैनिकीबाट टाढा हुन खोज्ने मनहरू मिल्न पुग्दा यात्रा तय हुने गर्छ । यसपटक पनि अचानक अन्नपूर्ण बेस क्याम्पको यात्रा तय हुन्छ । र, झिनोमसिनो तयारी गरेर यात्राको लागि ६ जना निस्किन्छौँ । त्यसमाथि म तीन वर्ष फेरि डिएम कार्डियोलोजीको बन्धनमा घोडाजस्तै दौडिन पर्ने निकट भविष्य सम्झिएर घुम्ने इच्छा पूरा गर्नुपनि थियो । बुटवलबाट २ बजे निस्किएर पोखरा साँझ बस्ने गरी निस्किने भनेको हिँड्दा नै ४ः३० बज्छ । इलेक्ट्रिक गाडीलाई चार्ज गर्न ढिला भएकोले समयमा हिंड्न नसकेको भन्दै थिए ड्राइभरले । सोही गाडीलाई पुनः स्याङ्जामा चार्जिङ गर्नुपर्ने रहेछ । यसो विचार गर्दा सार्वजनिक इलेक्ट्रिक गाडी प्रयोग गर्ने चार्जिङ स्टेसन आदिको संरचनाको विकास अझै भइसकेको देखिन्न । त्यसैले मलाई भने जाती लागेन ।
(पहिलो दिन)
अर्को दिन बिहानै ६ बजे निस्किन्छौँ र हरि चोक पुग्छौँ । हरि चोकबाट नयाँपुल हुँदै झिनु पुग्न ३ घन्टा लाग्ने रहेछ । नयाँपुलबाट बाटो निकै कच्ची रहेछ । हामी चढेको गाडी टाटाले बनाएको ८ जना बस्न मिल्ने गाडी रहेछ । मैले पढेर जानेको मध्येमा सबैभन्दा मनपर्ने व्यक्ति रतन टाटालाई मनमनै निकै धन्यवाद दिएँ । जसलाई म व्यापारी भन्दापनि उद्योगी दानवीर भन्न रुचाउँछु । उनको हालै देहावसान भएको छ । आत्माको चिर शान्तिको कामना पनि गरेँ । झिनुबाट हाम्रो वास्तविक यात्रा शुरु हुन्छ । हिडाइको यात्रा । उकाली ओरालीको यात्रा । अन्नपूर्ण बेस क्याम्पको यात्रा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेछ । नेपाली पर्यटकहरू भन्दा बढी विदेशी पर्यटकहरू बाटोमा देख्न सकिन्थ्यो । झिनुबाट ठाडै उकालो चढ्दै छोम्रोङसम्म पुग्नपर्ने रहेछ । मिलाएर बनाइएका सिँढीहरू चढेर त्यहाँ पुग्न लगभग दुई घन्टा समय लाग्ने रहेछ । जसको उचाइ समुद्री सतहबाट २१०० मिटरमा पर्ने रहेछ । त्यहाँ होमस्टे र होटेलहरू निकै व्यवस्थित थिए । अलि अलि घान्द्रुकको झल्को पनि थियो । त्यहाँ खानपिन गरेर हामी अर्को स्टेसन सिनुवा भन्ने स्थानको लागि लम्किन्छौँ । त्यहाँसम्म आधाबाटो ओरालो र आधा बाटो उकालो रहेछ । छोम्रोङबाट ठाडो ओरालो हुँदै फेदमा झर्नुपर्ने र पुनः ठाडो उकालो हुँदै सिनुवासम्म पुग्ने बेलामा सिधै बाटो बनेको भएपनि हुन्थ्यो भन्ने लाग्छ । त्यो उकाली ओराली छिचोल्न दुई घन्टा लाग्यो । त्यसमा पनि तल्लो सिनुवाबाट माथिल्लो सिनुवासम्म पुग्न पनि १ घन्टा जति लाग्यो । हिँड्ने बानी कत्ति पनि नभएको हुनाले यात्रा शुरु गर्दा निकै कठिन महसुस हुन्छ । श्वास फुल्छ । धड्कन तेज हुन्छ । खुट्टा दुख्छन् । आफ्नो शरीरको तन्दुरुस्ती पनि थाहा हुन्छ । उकालो ओरालो गर्दै गर्दा मनुष्यको जीवनको झल्को आउँछ । त्यस्तै उतारचढावले नै त मनुष्यलाई परिपक्व बनाउँछ । प्रगतिको बाटो कोरिन्छ । थकान महसुस भएपनि हामी निरन्तर अगाडि बढिरहन्छौँ । सायद अन्नपूर्ण हिमालको सौन्दर्य नजिकबाट अवलोकन गर्ने इच्छाशक्तिले हामी सबैलाई डोराएको हुनुपर्छ ।
छोम्रोङको ओरालोसम्म हामी ६ जना नै लगभग साथसाथै हुन्छौँ । आफ्नो क्षमता अनुसारको गतिमा हिँड्नु ट्रेक गर्ने पहिलो सिद्धान्त हो । त्यो सिद्धान्तमा म र सविता (मेरी श्रीमति) साथै हुन्छौं । अरू सहयात्रीहरूमा सुजित (सविताको भाइ), शिव मामा अग्रपंक्तिमा, शिशिर (सविताको भाई) र जोया (शिशिरको श्रीमति) साथसाथमा विचमा हिँड्छन् । हामी दुईजना सुस्त सुस्त सधैं अन्त्यमा हिँड्छौ ।
सिनुवामा फेरि सबैजना भेट हुन्छ । केही फोटो आदि खिचेर फेरि सबैजना ब्याम्बु भन्ने स्थानको लागि प्रस्थान गर्छौं । अन्नपूर्ण ट्रेकमा निकै भिड हुने रहेछ । मान्छेहरूको जाने आउने क्रम निरन्तर चलिरहेको देख्न सकिन्छ । विभिन्न उमेर समुहका, विभिन्न देशका यात्रीहरू त्यो बाटोमा भेट्न सकिन्थ्यो । विदेशीहरू नमस्ते भन्दै अगाडि बढ्थे । हामीहरू नमस्ते भन्दै उत्तर फर्काउँथ्यौँ । यो दशैँ तिहारको मौसममा अन्नपूर्ण ट्रेक निकै व्यस्त हुने रहेछ । होटेलमा पहिले नै बुकिङ् नगरेमा रुम नपाइने रहेछ । ब्याम्बुमा हामीले ६ जना अट्ने एउटा ठूलो रुम फेला पार्यौँ । धेरै व्यस्तताको कारण धेरैजना किचेन डाइनिङ हलमा सुत्नुपर्ने बाध्यता हुने रहेछ ।
सिनुवाबाट ब्याम्बु भन्ने स्थानसम्म पुग्न पनि लगभग तीन घण्टा लाग्यो । मैले बाटोमा भेटेको र सोधेकोमा ८ वर्षको बालकदेखि ६५ वर्षसम्मका व्यक्तिहरू ट्रेकिङको लागि हिँडेको देख्न सकिन्थ्यो । केही व्यक्तिहरू पुरै यात्राभरि लगभग साथसाथ हुँदा अनुहार चिनिने रहेछ । ५०–६० वर्षका उमेरका अन्कल अन्टी पनि हामी भन्दा राम्रोसँग हिँडेको देख्दा शारीरिक तन्दुरुस्ती निकै आवश्यक रहेको महसुस हुन्छ । हाम्रै समूहमा पनि शिव मामा हामी भन्दा उमेरले ८–१० वर्ष जेठो भएपनि यात्रामा सबैभन्दा अगाडी हुन्हुन्थ्यो । बिहान उठेर नियमित बुटवल हिलपार्कसम्मको मर्निङ वाक गर्ने बानीले गर्दा सायद उहाँको शरीर मजबुत हुनुपर्छ । त्यसैले त भनिन्छ– उमेर एक नम्बर मात्रै हो । ब्याम्बुमा बसाइ सुखद नै रह्यो । यात्राको छलफल पनि भयो । नयाँ साथीहरू पनि चिनजान भयो । एकजना दिल्ली बस्ने सिए (नामः सागर) रहेछन् । एक जना शिक्षक, एकजना बिजनेसम्यान ( सुजन) रहेछन् । तीनैजना निकै मिल्ने साथी रहेछन् । त्यसैले होला कुरा काट्न नसकेर सुजन दोश्रोपटक अन्नपूर्ण ट्रेकमा आएका रहेछन् । सबैका खुट्टा दुखेकाले दुखाई कम गर्ने नभी प्रयोग गरेर खुट्टा माडेपछि हल्का आनन्द महसुस हुन्छ । त्यसैले त्यस्तो नभी साथमा रहनु निकै महत्वपूर्ण हुन्छ ।
जति उचाई बढ्दै गयो त्यति खाद्य सामाग्री पु¥याउन कठिन हुने हुनाले खाना महंगो हुने भयो । एउटा अन्डाको रु ३५०, सादा खानाको रु ८०० आदि । तरकारीको नाममा आलु बाहेक अरू दुर्लभ नै थियो । खाद्यसामाग्री पु¥याउन भरियाहरूले डोकोमा बोक्दै लगेको बाटोमा देख्न सकिन्थ्यो । त्यति धेरै सामान नाम्लोले बोकेर जाँदा त्यो तालु कति दुख्दो होला भन्ने लाग्छ । ती पोर्टरहरूको दैनिकी नै सामान बोक्ने र गन्तव्यमा पु¥याउने हो । बाटोले पोर्टरहरूलाई चिन्ने रहेछ । घोडा वा पोर्टरहरूको माध्यमबाट सामाग्रीहरू पु¥याउन पर्ने हुनाले खाना महङ्गो हुनु स्वभाविक मान्नुपर्छ । त्यही पनि विदेशीहरूको बाहुल्यता बढी हुनाले अन्यत्रका दुर्गम ट्रेक यात्रामा भन्दा खर्च बढी लाग्ने रहेछ । जसको चपेटामा हामी नेपालीहरू परेको भान सायद सबैलाई हुन्छ । एउटा विशेष कुरा के अनुभव हुन्छ भन्दा जति उकालो लाग्दै गयो पानी भने मज्जाले खान पाइने रहेछ । पानीको पैसा नलिने रहेछन् । फर्किएर पुनः सहरमा पैसा लाग्ने पानीको बोत्तल किन्नुपर्ने सम्झिँदा त्यो खाना महङ्गो हो कि सहरमा पाइने पानीको बोत्तल ?
(दोश्रो दिन)
बिहानै ७ बजे ब्रेकफास्ट गरेर ब्याम्बुबाट दोभानको लागि हामी रन्किन्छौँ । उचाइमा पुग्नपर्ने लेक लाग्न सक्ने हुनाले ब्अभतबशयबिmष्मभ नामको औषधि खान सुरु गरिसकेका हुन्छौँ । माछापुच्छ्रे बेस क्याम्पको उचाइ ३७०० मिटर हुन्छ । ब्याम्बुदेखि दोभानसम्म पुग्न दुई घण्टा लाग्छ । बाटो पहिलो दिनको भन्दा अलि सहज हुन्छ । उकालो ओरालो समथर सबै किसिमको बाटो हुन्छ । दोभानबाट हिमालय भन्ने स्थानसम्म जान हामीलाई १.५ घण्टा लाग्छ । त्यो बाटो पनि उकालो नै हुन्छ । हिमालयदेखि देउरालीसम्म पुग्न उकालो नै हुन्छ । तर झिनु र सिनुवाको जस्तो कठिन उकालो भने हुँदैन । त्यसको लागि दुई घण्टा समय लाग्छ । बाटोमा झरना, खोलाहरू, अग्ला अग्ला पहाडहरू सबै देखिन्छन् । घना जंगल पनि पर्छन् । रुख बिरुवाहरूको प्रकृति पनि फरक फरक हुँदै जान्छ । वनस्पती शास्त्रको विद्यार्थीलाई यो ट्रेक त एउटा पाठ्शाला नै हो । तर, त्यो यात्राभरी कुनै जंगली जीवजन्तु भने देख्दिन । कतै मनुष्यबाट भयवित त होइनन् ! जेहोस् उज्यालोमा यात्रा गर्दा सुरक्षित महसुस हुने रहेछ । हरेक दुई तीन घण्टामा बासस्थान, बाटोमा हिँड्दा पर्यटकहरूको ओइरो, बाटोपनि फराकिलो र मानव निर्मित हुनाले तुलनात्मक रूपमा सहज मान्नुपर्छ ।
हिमालय भन्ने स्थानमा निकै राम्रा होटेल रहेको अनुभूति हुन्छ । त्यहाँ धेरै समय रोकिने सुविधा थिएन । किनभने देउराली भन्ने स्थान कुनैपनि होटेलमा रुम खाली नहुनाले हामी माछापुच्छ्रे बेस क्याम्प पुग्नैपर्ने बाध्यता हुन्छ । हिमालयबाट देउराली पुग्न हामीलाई दुई घण्टा लाग्छ । जहाँ हामीले खाना खान्छौँ । दिउँसोको ३ बजेको हुन्छ । तर आकाश पुरै तुवाँलोले ढाकिसक्छ । पानी पर्ला जस्तो गर्छ । तर, सायद बादल त्यो दिन रुन सक्दैन । देउरालीबाट माछापुच्छ्रे बेसक्याम्पसम्म पुग्न पाँचवटा पहाड छिचोल्न पर्ने रहेछ । बाटो उस्तै उकालो र केही समथर हुन्छ । त्यहाँ भने हिँड्दा हिँड्दा पट्यार लाग्छ । अब आउँछ अब आउँछ भन्दा भन्दै बेलुका ५ः४५ बजे बल्ल पुगिन्छ । हिँड्दा हिँड्दै टाढाबाट भएपनि घरहरू देखेपछि उर्जा प्रवाह हुन्छ । दुई घण्टाको बाटो भनेपनि उकालो हुनाले हामीलाई करिब तीन घण्टा नै लाग्छ । हामीभन्दा अगाडि पुगिसकेका साथीहरूले होटेल बुकिङ गरेकोले सहज हुन्छ ।
(तेस्रो दिन)
माछापुच्छ्रे बेस क्याम्पबाट अन्नपूर्ण बेस क्याम्पसम्मको बाटो घाँसे मैदानको बाटो हो भनेर भन्ने गर्थे । बिहानै ३ बजे उठेर नित्य कर्म गर्ने प्रयास गरेर अँध्यारोमा ३ः ५० मा रमाना हुन्छौं । चकमन्न अँध्यारोमा वरिपरि केही देखिन्न । बाटोमा मोबाइलको लाइट बाल्दै हिँडेको हिँडै गर्छौँ । सयौंको संख्यामा लामबद्ध लाइट बालेर हिँडेको देख्न सकिन्छ । कसैले गीत बजाउँदै हिँडेका छन् । कोही दौडिरहेको प्रतीत हुन्छ । कोही लमक लमक गर्दै एक अर्कालाई उछिन्दै हिँड्छन् । सबैजनाको गन्तव्य अन्नपूर्ण बेस क्याम्प र उद्देश्य अन्नपूर्णको चुचुरोमा सूर्यका किरणले चुम्बन गरेको मनोरम दृश्य हेर्ने इच्छा हुन्छ । त्यो दृश्य साँच्चै नै गजबको हुने रहेछ । हामीले टर्च लाइट नलगेकोमा पछुतो हुन्छ । टोपी र पन्जा पनि बिर्सिएको हुनाले हात चिसोले गर्दा ठिहिराउँछन् । हातका औंला झर्लान् जस्तो गर्छन् । टोपी नलगाउँदा सिरेटोले टाउको हान्ने सम्भावना थियो । सविताको सललाई टाउकोमा बेरेर हिंड्न तयारी गर्दै थिएँ । ब्याम्बुमा र माछापुच्छ्रे बेस क्याम्पमा एउटै होटेलमा बस्न पुगेको अर्को समूहको दिल्लीबाट आएका सागरले (चार्टर एकाउन्टेन्ट) आफूसँग रहेको एउटा टोपी मलाई दिनुहुन्छ । त्यसले निकै न्यानो गराउँछ । र, मेरो यात्रा सहज बनाउँछ । जसको लागि धन्यवाद भनेर भन्दा सागरले भन्नुहुन्छ– “मलाई मयगदभि उचयतभअतष्यल भन्दा कसैलाई कष्लनभि उचयतभअतष्यल भएपनि राम्रो हुन्छ ! मसँग धन्यवाद बाहेकको उत्तर हुँदैन । हिमालको नजिक जान लाइट, टोपी र पन्जा अनिवार्य रहेछन् भनेर नमेटिने ज्ञान प्राप्त हुन्छ ।
हामी ६ः०० बजे सुर्योदय हुने समयमा पुग्छौँ । दृश्य निकै मनमोहक देखिन्छ । निकै गज्जब देखिन्छ । उज्यालो आकाशमा तीनतिरबाट घेरिएको हिमालको फेँदमा करिब ४२०० मिटर उचाइमा समय व्यतित गर्न पाउनु सौभाग्य हो । अन्नपूर्ण, मार्दी र माछापुच्छ्रेले घेरेको त्यो घाँसे मैदानमा जाडोयाममा हिउँले ढाक्ने गर्छ । यो समयमा (दशैँतिहार) भने हिमाल आफैं हिउँले भरिपूर्ण थिएन । केही क्षण बसेर नियाल्छु । सबैको हातमा क्यामेरा छन् । मोबाइल छन् । फोटो खिच्न व्यस्त छन् । हेर्दै रमाइरहेका छन् । झिनुदेखि चढ्दै आएको यात्राको सबै थकान पलभरको लागि बिर्सिन्छ । त्यहाँको अनुपम प्राकृतिक दृश्य मनमोहक हो वा कठिन यात्रापश्चात् देखिने दृश्य मनमोहक हो ? सायद कठिन यात्रापछिको सुखद अनुभुतिले प्राकृतिक सुन्दरतालाई अझै बेजोड बनाइदिन्छ । त्यस्ता दृ्ष्य हेर्दा मस्तिष्कमा डोपामिनको मात्रा पक्कै बढ्छ होला । त्यसैले त खुसीको सन्चार हुन्छ ।
यी संसार देख्न सक्ने नयनहरू मलाई एकाएक अद्भूत लाग्छन् । ईश्वरप्रति त्यस्ता दिव्य नयनका लागि कृतज्ञ हुन्छु । जति क्यामेराले फोटो खिचेपनि आफ्नै आँखाले जति त्यो दृश्य कैद गर्न सक्दैनन् । ती अद्भुत नयनहरू नभए क्यामेराका फोटा पनि अर्थहीन हुन्छन् । त्यहाँ ध्यान गरेर त्यो आभामण्डलको उर्जा महसुस गर्ने इच्छा हुन्छ । तर, त्यहाँ अचम्मको कोलाहल हुन्छ । सयौं मानिसहरूको भिड हुन्छ । फोटो खिच्ने प्रतिस्पर्धा नै चलेको जस्तो देखिन्छ । सबैका फोटो उत्कृष्ट नै हुन्छन् । त्यो प्राकृतिक सुन्दरताको क्यानभासमा जो कोही पनि राम्रा देखिन्छन् । ती सबै फोटोहरू केही समयमा फेसबुकको भित्तामा अपलोड हुनेछन् । कसैले कुनै प्रतिस्पर्धामा पठाउन पनि सक्नेछन् । फेसबुकको स्टोरीमा देखिनेछन् । धेरै साथीहरू दृश्य हेरेर लोभिनेछन् । पर्यटन प्रवद्र्धन हुने पक्का नै छ । अन्नपूर्ण बेस क्याम्पमा लाखौं विचारहरू प्रवाहित हुन्छन् । कतै शान्त हिमालको शान्ती हामी मनुष्यले भङ्ग त गरेका छैनौँ ! त्यहाँ मानिस केवल फोटोको लागि जाने हो वा अलौकिक स्थानको आभा महसुस गर्न जाने हुन् । त्यो व्यक्ति विशेष रहस्य हुन् । पहिले पहिले सुनाउने देखाउने ठाउँ सिमित थिए । अचेल अनलाइनको दुनियाँमा देखाउने संयन्त्र कयौं छन् । दुःख पाएर गरिने ट्रेकिङ आत्मसन्तुष्टिको लागि हो वा अहम सन्तुष्टिको लागि हो ! त्यही बाटो भरियाहरू जीविकोपार्जन गर्न हिँड्न पर्छ भने हामी सहर बजारको दैनिकीबाट एकाध पटक मनमा शान्ति खोज्दै जाने त होला ! विशाल हिमालको उपस्थितिले नै मनमा उर्जा प्रवाह गर्छ । सदगुरुले भन्छन् “यदि तिमीभित्र जीवन छ भने अप्ठेरो बाटो तय गर्छौ, यदि तिमी भित्र वास्तविक जीवन छैन भने केवल सुखसयल खोज्छौ । त्यसैलेपनि हिमालतिरको यात्रा आफू भित्रको यात्रा बन्न सक्छ ।
मनभरी सङालेर पनि नअट्ने अनुपम सुन्दरता उतै छोड्नपर्ने हुन्छ । फर्किँदा केवल यादहरूमात्रै लिएर हामी फर्किन्छौँ । पुनः उही बाटो फर्किनुपर्दा कता हो कता नरमाइलो लाग्छ । फेरि उकालो र ओरालोको शृङ्खला सुरु हुन्छ । १०ः३० बजेतिर माछापुच्छ्रे बेस क्याम्पमा खाजा खाएर हामी ६ जना ओरालो लाग्छौँ । बाटो पुरै ओरालो हुनाले केही सहज महसुस हुन्छ । तर सविताको घुँडामा स्प्रेन भएको कारणले हिँडाइ सुस्त हुन्छ । दायाँ र बायाँ खुट्टा बराबर प्रयोग गर्न नमिल्ने हुन्छ । हाम्रा अरू चारजना साथीहरू धेरै अगाडि नै पुगिसकेका हुन्छन् । त्यसपछि कुनै स्टेशनमा कसैसँग भेट हुँदैन । देउराली भन्ने स्थान पुग्न हामीलाई दुई घन्टा लाग्छ । देउरालीबाट फेरि ओरालो झर्दै हिमालय भन्ने ठाउँ पुग्छौं । त्यहाँ पुग्दा २ः३० बजेको हुन्छ । खाना खाएर तहाँबाट ३ बजे निस्किन्छौँ । तर एकाएक पानी पर्छ । बिहान हिँड्न ब्याम्बुसम्म पुगिन्छ कि भन्ने आश थियो । तर हामी दुईजना दोभानभन्दा तल झर्न सकिन्न भन्ने एकिन हुन्छ । प्लास्टिकलाई ओढेर हामी सुस्त सुस्त तल झर्छौँ । पानी परेकोले बाटोमा चिप्लिन सक्ने सम्भावना प्रबल थियो । त्यो प्लास्टिकलाई रेनकोटजस्तो बनाउन बिचमा काट्नुपर्ने रहेछ । बाटोमा हिँड्ने एकजना पर्यटकसँग एउटा ब्लेड मागेर कामचलाउ रेन्कोट बनाएर अगाडी बढ्छौँ । प्रकृतिमा कसैको नियन्त्रण हुँदैन । त्यसैले ट्रेक जाँदा पानी पर्ने सम्भावनालाई नकार्न मिल्दैन । बल्लतल्ल दोभान पुग्छौँ । करिब ५ः३० बजेतिर हामी उपल्लो दोभान पुग्छौँ । रुम सबै बुकिङ भइसकेको रहेछ । हिमालयमा खाना खाने बेलामा फोन गर्दा रुम सबै सकिसकेको र बासले छाएको घरमात्रै खाली रहेको भनेर भनेका थिए । त्यो कुरा मैले दोभान पुगेपछि बल्ल महसुस गर्न पाएँ । बाँसको घरमा त १५–२० जना एकै ठाउँ सुताउने रहेछ । अलि धेरै अनुनय विनय गरेपछि एउटा बेड खाली रहेको र त्यो रुम अरू ४ जनासँग बस्नुपर्ने कुरा होटेलको साहुजीले भन्छन् । बाध्यता थियो । स्वीकार गर्नैपर्यो । त्यही होटेलको डाइनिङ हलमा पहिलो दिन ब्याम्बुमा बस्दा परिचय भएको तीनजना मध्येमा दुईजना– सुजन र समिरसँग भेट हुन्छ । पखाला लागेको कारणले रोकिएका रहेछन् । त्यहाँ केही बातचित गरेर राराको सुप खान्छौँ । ज्यान अलि तातेजस्तो हुन्छ ।
घुर्नु एउटा समस्या हो । त्यसले अरूको निद्रा बिगार्छ भन्ने कुरा सर्वविदित नै हो । सायद १० जनामा ३ जना मान्छे घुर्छन् नै । घुर्नुमा व्यक्तिको दोष केही हुन्न । त्यसैले रिसाउन पनि मिल्दैन । रुममा सुत्ने एक जना कोरियन र ३ जना बङाली थिए । ती कोरियन पर्यटक निकै जोडले घुर्ने रहेछन् । निद्रा कुम्भकर्णको जस्तो भान हुन्थ्यो । जसको कारणले पुरै रात निद्रा बिथोलिन्छ । एक समय त नाक थुन्दिम् जस्तो भएको थियो । तर मानवीय र पर्यटकीय मर्यादाले केही गर्न सकिने अवस्था थिएन । बिहान ६ कहिले बज्छ भनेर कुर्नु सिवाय अरू विकल्प हामीसँग थिएन । जुन व्यक्तिलाई जस्तोसुकै परिस्थितिमा पनि निद्रा लाग्छ, त्यो व्यक्ति निकै भाग्यमानी हो । भविष्यमा ट्रेक जान पर्दा कानमा राख्न मिल्ने भबच उजयलभ भएपनि लैजान पर्छ भन्ने अनुभव हुन्छ ।
(चौँथो दिन)
बिहानको खाजा खाएर निस्किँदा ढिला हुन्छ । हामी बिहान ७ः४५ मा उपल्लो दोभानबाट निस्किन्छौँ । तल्लो दोभान १५ मिनेटमा नै पुगिन्छ । बिहानी जोश र ओरालोले गर्दा हुन सक्छ । त्यसपछि ब्याम्बुसम्म पुग्दा २.५ घन्टा लाग्छ । त्यहाँ पुगेर पहिलो दिन बस्दा छोडेका सामानहरू लिएर सिनुवाको लागि रमाना हुन्छौँ । अहिलेसम्मको बाटो सहज नै हुन्छ । सिनुवा पुग्ने बाटोमा पुरै नाक ठाडो उकालो हुन्छ । माथिल्लो सिनुवा पुग्दा १ बज्छ । उपल्लो सिनुवाबाट तल्लो सिनुवा पुग्दा १ः५० बज्छ । त्यसपछि छोम्रोङ पुग्दा ४ः१० बज्छ । छोम्रोङको उकालो चढ्ने बेलामा एकै क्षण विश्राम गरिरहेका हुन्छौं । एकजना ताइवानिज नर्स आएर केही सहयोग चाहिन्छ भनेर भन्छिन् । उनले खुट्टा खोच्याएर हिँडेको देखेकी रहेछिन् । मैले दुखाइ कम गर्ने स्प्रेको आश गर्छु । उदार हृदय नै मान्नुपर्छ उनले आफ्नो नभ िपूरै दिन्छिन् । त्यो नभ िलगाइसकेपछी हिँडाइ धेरै सहज हुन्छ । छोम्रोङबाट झिनुसम्म १ घन्टामा झरिन्छ भनेर हिँडेका हुन्छौं । तर हामिलाई पूरा दुई घन्टा लाग्छ त्यो ओरालो झर्न । गाडी पाइने ठाउँ पुगेर ७ बजे पोखरा नै जाने निर्णय गर्छौँ र ९ः३० मा पोखरा लेक साइडमा ओर्लिन्छौँ । हाम्रा अरू चारजना साथीहरू बुटवलको लागि रमाना भइसकेका हुन्छन् । म र मेरी सहयात्री सविता भने पोखरा नै बस्छौँ ।
अन्नपूर्णको काखमा चिसो हावामा घमाइलो मौसममा हराउन खुब मन लाग्छ । त्यो घाँसे मैदानमा केही समय सुतेर बिताउन मन लाग्छ । एक किसिमले भन्नुपर्दा दैनिक जीवनको हतारोपनबाट टाढा बस्ने उद्देश्यले गएपनि त्यहाँ पनि वातावरणमा हतारपनको गन्ध हुन्छ । कसैलाई फोटो खिच्ने हतारो, कसैलाई तीन दिनमै अन्नपूर्ण ट्रेक सकेको भनेर गफको विषय बनाउने हतार आदि आदि । जे होस् कसैमा पनि रफ्तारको कमी भने देखिन्न । पहिले घुम्न जाँदा पैसा नपुगेर हतार हुन्थ्यो अहिले घुम्न जाँदा समय र विदा नपुगेर हतार हुन्छ । कसैलाई पारिवारिक कार्य जिम्मेवारीले हतार हुन्छ । र, यो सबै नेपालीलाई मात्रै हुने हो जस्तो लाग्छ । हामीले पनि सायद ४ दिनमा नेपाली हुनुको परिचय दियौँ । पर्यटन प्रवद्र्धन भनेर सरकारले केही रकम र एक हप्ता विदा दिएपनि पोहोर सालका फोटा टाँस्न छोडिन्न । हामी सबै हतारको बोझले थिचिएका छौँ । पारिवारिक बोझले थिचिएका छौँ ।
सम्झनामा ….
यसरी एउटा यात्रा घुमिफुरी पूरा हुन्छ । यात्रा सँगै सुरु गरेका साथीहरू, बाटोमा सद्भाव जनाउने पर्यटकहरू, ताइवानिज नर्स, बेला बेला उकालो चढ्न तागत दिने स्निकर र हरेक पाइलामा साथ दिने गोल्ड्स्टार जुत्ताको विशेष सम्झना रहनेछ । जुत्ता भनेको गोल्डस्टार नै हो भन्ने कुरा यस यात्राले अनुभव हुन्छ । आरामदायी तरिकाले यात्रा कटेकोले गोल्ड्स्टार कम्पनी अन्तर्रास्ट्रिय ब्रान्ड बनोस् भन्ने मेरो सदिच्छा । मेरी सहयात्री तथा जीवन सङिनीप्रति विशेष माया । पुनः अर्कोपटक यस्तै कुनै यात्रा सकुशल पूरा गर्न पाइयोस् भन्ने भगवानसँग प्रार्थना गर्छु । यस यात्राको लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु । आखिर प्रारम्भ नै अन्त्य रहेछ ।