गुल्मी, सत्यवती गाउँपालिका वडा नं.८ को भार्से जनसहयोग माविबाट २०२६ एसएलसी गरेका होमबहादुर गलामी मगर यतिबेला सात दशक उमेर नाघे । तर उनी सामाजिक एवम् शैक्षिक क्षेत्रमा निरन्तर गतिशील छन् । कालिका मानवज्ञान मावि, बुटवलको १० वर्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर देशकै नमूना स्कुल बनाउन नेतृत्व लिएका उनी यतिबेला बुटवल कालिका क्याम्पस सञ्चालक समितिका अध्यक्ष छन् ।
जीवनभर उनले आफूलाई राजनीतिक, सामाजिक र शैक्षिक व्यक्तित्वका रूपमा उभ्याउने काम गरेका उनी, पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा बसेका छन् । २०४९ र २०५४ सालमा साविकको बुटवल नगरपालिकामा बुटवल –११ बाट होमबहादुर गलामी वडाध्यक्ष बने । विकास निर्माण र सामाजिक विकाससहित सक्रिय राजनीतिमा हामफाले । यतिबेला उनी कुनैपनि राजनीतिक पार्टीमा क्रियाशील छैनन् ।
राजनीतिक उनको रहरको विषय भएपनि नेतृत्वप्रतिको असन्तुष्टिले उनलाई राजनीतिबाट टाढा बस्न बाध्य बनाएको सुनाउँदै थिए ।
नयाँ पुस्तालाई प्राविधिक एवम् रोजगारमूलक शिक्षा दिनुपर्ने उनको ठहर छ। शिक्षा आमनागरिकको पहुँचमा पुग्नुपर्ने,सर्वसुलभ र गुणस्तरीय हुनुपर्ने मान्यतालाई कायम राख्दै कालिका मानवज्ञानले शिक्षा क्षेत्रमा गरेको प्रगतिमा सबैको उत्तिकै योगदान रहेको चर्चा गर्दै उनले भने– सचेत अभिभावक,दक्ष एवम् योग्य शिक्षक,लगनशील,कर्तव्यनिष्ठ र दृष्टिकोणसहितको व्यवस्थापन समिति अनि अनुशासित विद्यार्थीकै कारणले गर्दा नै कालिकाले आजको फड्को मार्न सकेको हो । देशकै नमूना विद्यालय बनाउन सकिएको हो ।
उनले बुटवल क्याम्पसलाई समेत देशकै नमूना क्याम्पस बनाउन आफूहरू गतिशीलरूपमा अघि बढेको सुनाए । विहानै उठ्छन् । व्याडमिन्टन खेल्छन् । शरीरको सक्दो कसरत गर्छन् । खाजा खान्छन् । केही समय देश,विदेशको समाचार बारे जानकारी लिन्छन् । खाना खान्छन् । आफ्नो निर्दिष्ट काम गर्छन् र राति बेलैमा सुत्छन् । यो उनको दैनिकी हो ।
मानबहादुर गलामीका जेठा होमबहादुर गुल्मीको ग्वाघामा जन्मिएपछि ८/९ वर्षको उमेरमा बुटवल झरेका थिए । उनका बाबा ब्रिटिस आर्मीका लाहुरे थिए । गाउँमा खुलेको स्कूलमा पढाउन थालेपछि उनी लाहुर फर्किएनन् । लाहुरमा मानबहादुरले लाहुरेहरूलाई पढाउँथे रे–होमबहादुरले सुनाउँदैथिए ।
दुई छोरा र एक छोरीका अभिभावक होमबहादुर गलामीेले विभिन्न सहकारीमा नेतृत्व गरिसकेका छन् । कम्पनीमार्फत जलविद्युत आयोजनामा हात हालेका छन् । सफलताका ढोका उघार्दैछन् । आम्दानीमुखी काममा साथीहरूलाई साथमा लिएर अघि बढिरहेका होमबहादुरलाई सादा र सक्रिय जीवन ओैधी मन पर्छ ।
पछिल्लो समय उनले आदिवासी जनजातिहरूको उन्नति र प्रगतिका सन्दर्भलाई लिएर वकालत गर्दै आईरहेका छन् । देशमा ठूलो संख्यामा रहेका आदिवासी जनजातिहरूको शैक्षिक, सामाजिक,राजनीतिक र आर्थिक अवस्था सोचेजति उकासिन नसकेको उनको ठम्याई छ । जसको कारण आदिवासी जनजातिहरू पछाडि पारिएको उनको तर्क छ । त्यसैले उनी सोही अभियानमा समाहित भई वकालत गर्दै आईरहेका छन् । बाँचुञ्जेल शैक्षिक उन्नति र प्रगतिमा क्रियाशील रहिरहने कसम खाएका होमबहादुर गलामी, कुनै काखण्डमा शिक्षक समेत थिए ।
शैक्षिक अवस्था सुध्रिनका लागि देशको राजनीतिक आकास सफा हुनुपर्ने, शैक्षिक नेतृत्व सबल र सक्षम भएमामात्र देशले खोजेको र रोजेको शैक्षिक अवसर प्राप्त हुन सक्ने उनको अनुभव र सिकाई रहेछ । यतिबेला बुटवल क्षेत्रलाई शैक्षिक हब बनाउने अभियानमा हातेमालो गरि अघि बढ्दैछन् उनी । बुटवलमा देशभरिबाट स्कुलदेखि उच्चशिक्षा पढ्न आउने ठाउँ बनाउन सकिएमा शैक्षिक हब बनाउन सजिलै सकिने उनको तर्क छ ।
शैक्षिक व्यक्तित्वको रूपमा परिचयको दायरा फराकिलो बनाउँदै गएका होमबहादुर गलामीलाई सफल शैक्षिक यात्रीका रूपमा देख्न पाईयोस् । शुभेच्छा ।