Butwal Today

झिलिमिली तिहारमा हराउँदै छन् देउसीभैलोका पुराना रौनक

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।
कात्तिकको चिसो साँझ, घरआँगनमा लहरै बालिएका दियो, फूलमालाले सजिएका ढोका र टोलभरि गुञ्जिने देउसीभैलोका भाका । तिहार भन्नेबित्तिकै नेपाली समाजको स्मृतिमा यस्तै दृश्य आउँछ । दाजुभाइ र दिदीबहिनीबिचको आत्मीयता, आफन्तसँगको भेटघाट, काग, कुकुर, गाई र गोरुको पूजा तथा लक्ष्मीपूजाको उज्यालोले यो पर्वलाई विशिष्ट बनाउँदै आएको छ ।

तर समयसँगै तिहार मनाउने शैली बदलिँदै गएको छ । पहिले गाउँटोलका घरघरमा पुगेर घण्टौँ देउसीभैलो खेल्ने, मादल र झ्यालीको तालमा मौलिक गीत गाउने तथा नाचगान गर्दै रमाइलो गर्ने चलन थियो । अहिले ती दृश्य क्रमशः कम देखिन थालेका छन् । त्यसको स्थानमा रेकर्ड गरिएका गीत, ध्वनि उपकरण, छोटो समयका औपचारिक कार्यक्रम र सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गर्ने प्रवृत्ति बढेको छ ।

तिहारको रौनक घटेको भने होइन । बरु यसको स्वरूप फेरिएको छ । घर सजावटमा विद्युतीय बत्तीको प्रयोग बढेको छ । बजारमा कृत्रिम फूल, विभिन्न प्रकारका सजावट सामग्री र रंगीचंगी बत्तीको कारोबार बढेको छ । देउसीभैलो खेल्ने समूहको स्वरूप पनि फेरिएको छ । पहिले सांस्कृतिक परम्पराका रूपमा खेलिने देउसीभैलो अहिले कतिपय ठाउँमा मनोरञ्जन, सामाजिक अभियान र आर्थिक सहयोग सङ्कलनको माध्यमसमेत बनेको छ ।

पहिले तिहारको तयारी घरमै सुरु हुन्थ्यो । घर सफा गर्ने, आँगन लिपपोत गर्ने, माटाका दियो तयार पार्ने, फूल टिप्ने र सेलरोटी पकाउने काममा परिवारका सबै सदस्य सहभागी हुन्थे । तिहार नजिकिँदै गर्दा घरघरमा देखिने यस्ता गतिविधिले पर्वको छुट्टै वातावरण बनाउँथे ।

अहिले बजारमा पाइने तयारी सामग्रीले तिहारको तयारी सहज बनाएको छ । घर सजाउन आवश्यक सामग्रीदेखि फूलमाला, मिठाई र उपहारसम्म बजारबाटै खरिद गर्ने चलन बढेको छ । व्यस्त जीवनशैली र सहरी बसोबासका कारण घरमै सबै तयारी गर्ने समय कम हुँदै गएको छ । यसले एकातिर पर्वलाई सहज बनाएको छ भने अर्कोतिर पुस्तौँदेखि चल्दै आएका घरेलु सीप र परम्परागत अभ्यासमा कमी ल्याएको छ ।

विशेषगरी विद्युतीय बत्तीको प्रयोगले तिहारको दृश्य थप आकर्षक बनाएको छ । घर, सडक, पसल र सार्वजनिक स्थलमा रंगीचंगी बत्तीले उज्यालो बनाउँछन् । तर माटाका दियो बाल्ने परम्परा भने कतिपय घरमा औपचारिकतामा सीमित हुँदै गएको छ । परम्परागत दियोको स्थानमा विद्युतीय बत्तीको प्रयोग बढ्नुले पर्वको बाहिरी आकर्षण बढाए पनि मौलिक अभ्यास संरक्षणको प्रश्न उठाएको छ ।

तिहारको सबैभन्दा आकर्षक पक्षमध्ये देउसीभैलो पनि एक हो । देउसीभैलो मनोरञ्जनको माध्यम मात्र नभई सामूहिकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानको प्रतीक हो । गाउँटोलका युवायुवती, बालबालिका र ज्येष्ठ नागरिकसमेत सहभागी भएर घरघरमा पुग्ने परम्पराले समाजका सदस्यबिच आत्मीयता बढाउँथ्यो । देउसीभैलोका क्रममा गाइने मौलिक भाका, आशिष र रमाइला प्रस्तुतिले घरधनीलाई मनोरञ्जनसँगै शुभकामना दिने काम गर्थे ।

अहिले भने कतिपय स्थानमा देउसीभैलो छोटो समयमै सकिने, पहिले नै तयार पारिएका गीत बजाउने र आर्थिक सहयोग सङ्कलनलाई बढी प्राथमिकता दिने प्रवृत्ति देखिएको तिलोत्तमा वडा नम्बर २ का ज्योतिषी कुलमणि ज्ञवाली बताउँछन् । सांस्कृतिक प्रस्तुतिभन्दा रकम सङ्कलनमा जोड दिँदा देउसीभैलोको मौलिक पक्ष कमजोर बन्दै गएको उनको भनाइ छ ।

उनका अनुसार देउसीभैलो पूर्ण रूपमा हराएको छैन । विभिन्न युवा क्लब, विद्यालय, सामाजिक संस्था र टोल विकास संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गर्दै परम्परालाई निरन्तरता दिइरहेका छन् । कतिपय समूहले मौलिक भाका र स्थानीय संस्कृति संरक्षण गर्ने उद्देश्यले विशेष कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् ।

तिहारको अर्को महत्वपूर्ण पक्ष दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध हो । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, माला पहि¥याउने र दीर्घायुको कामना गर्ने परम्परा यस पर्वको मुख्य आकर्षण हो । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिएर स्नेह व्यक्त गर्छन् ।

पहिले टाढा रहेका आफन्तसमेत सकेसम्म तिहारमा घर फर्कने गर्थे । एउटै घरमा परिवारका सदस्य भेला भएर पर्व मनाउने चलन थियो । अहिले वैदेशिक रोजगारी, अध्ययन र रोजगारीका कारण परिवारका सदस्य विभिन्न देश तथा सहरमा छरिएका छन् । सबैलाई एकै ठाउँमा भेला हुन सम्भव छैन । कतिपयले भिडियो कलमार्फत टीका लगाउने र शुभकामना साटासाट गर्ने गरेका छन् ।
प्रविधिले टाढा रहेका परिवारलाई जोड्न सहयोग गरे पनि प्रत्यक्ष भेटघाटको आत्मीयता भने फरक हुन्छ । त्यसैले तिहारमा घर फर्किन नसक्नेहरूका लागि यो पर्व खुसीसँगै परिवारबाट टाढा रहनुपर्दाको भावनात्मक पीडासमेत बोकेर आउने गर्छ ।

तिहार नजिकिँदै जाँदा बजारमा पनि छुट्टै चहलपहल देखिन्छ । फूलमाला, मिठाई, फलफूल, कपडा, उपहार सामग्री र सजावटका वस्तुको कारोबार बढ्छ । लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुग्ने उपभोक्ताको भीड लाग्छ ।

सेलरोटी, अनरसा, फिनी, मिठाई र अन्य परम्परागत परिकारको महत्त्व अझै कायम छ । तर पछिल्लो समय बजारमा उपलब्ध नयाँ परिकार र तयारी खाद्य सामग्रीले पनि उपभोक्ताको ध्यान तान्न थालेको तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको तर्क छ । उपहार दिने शैलीमा समेत परिवर्तन आएको छ । पहिले फलफूल, मिठाई र कपडालाई प्राथमिकता दिइन्थ्यो भने अहिले विभिन्न आकर्षक सामग्री तथा व्यक्तिगत रुचिअनुसारका उपहार दिने चलन बढेको उनको भनाइ छ ।

यस्तो परिवर्तनले व्यापार व्यवसायमा अवसर सिर्जना गरे पनि चाडपर्वका नाममा अनावश्यक खर्च र देखासिकी बढ्ने जोखिमसमेत छ । सामाजिक सञ्जालमा देखिने महँगा सजावट, उपहार र तडकभडकले कतिपय परिवारलाई आर्थिक दबाबमा पार्न सक्ने न्यौपाने बताउँछन् ।

तिहारको वास्तविक सुन्दरता बाहिरी झिलिमिलीमा मात्र छैन । यसले प्रकृति, पशुपन्छी, परिवार, समाज र मानवीय सम्बन्धप्रति सम्मान व्यक्त गर्न सिकाउँछ । कागलाई सन्देशवाहकका रूपमा पूजा गर्ने, कुकुरप्रति कृतज्ञता व्यक्त गर्ने, गाईको सम्मान गर्ने र गोरुको पूजा गर्ने परम्पराले मानिस र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?