© २०२३
दाङ, १८ भदौ ।
कृषि ज्ञान केन्द्र दाङको चालू आर्थिक वर्षका लागि विनियोजित बजेट सार्वजनिक गरिएको छ । ज्ञान केन्द्र प्रमुख नरेश धितालले चालू आथिक वर्षका लागि संघ र प्रदेश सरकारबाट विनियोजन भई कार्यान्वयनका लागि आएको स्वीकृत भएको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जिल्लामा ज्ञान केन्द्रको बजेट वर्षेनी घट्दै गएको छ । ज्ञान केन्द्रका अनुसार, जिललामा यस वर्ष विभिन्न ६ वटा शीर्षकमा ६ करोड २५ लाख ३१ हजार विनियोजन भएको छ । केन्द्रको गत आर्थिक वर्षमा सात करोड २३ लाख बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा चौध करोड बढी बजेट रहेको थियो । गत वर्ष विनियोजन बजेटमध्ये ४५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो ।
केन्द्रका अनुसार यस वर्ष कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा २ करोड ९० लाख २१ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रम २३ लाख ५७ हजार, कृषि तथा पशुपंक्षी श्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम २३ लाख ४७ हजार, साधारण खर्च तथा क्षमता विकास कार्यक्रम २ करोड ९ लाख ६ हजार, संघ अन्तर्गत सशर्त कार्यक्रम ३५ लाख, कृषि विभाग संघ ससर्त अनदानमा ३५ लाख र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको ब्लक विकास कार्यक्रममा १९ लाख रुपैयाँ बजेट विनियोजन भएको ज्ञान केन्द्र प्रमुख धितालले जानकारी दिए । उनका अनुसार यस वर्ष कृषि प्रवद्र्धनका लागि सिँचाइ र कृषि विकास गर्न सबै भन्दा बढी बजेट छुट्याइएको छ । यसका लागि सिँचाइसहित कृषि विकास कार्यक्रम ९० लाख बढेर आएको छ ।
कार्यक्रममा चालू आर्थिक वर्षको कार्यक्रम संचालन सम्बन्धी कार्यविधिका बारेमा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी गराए । उनले गत वर्षमा विनियोजन भई आएको कुल बजेट मध्ये करिव ५५ प्रतिशत बजेट कार्यान्वयन हुन नसकेको बताए । यसो हुनुमा कार्यविधिलगायत कानुनी जटिलताले बजेट कार्यान्वयन समयमा हुन नसकेको हुँदा यो पटक पालिकामार्फत समयमा सूचना गर्ने, कृषकको माग र आवश्यकतामा आधारित योजना अघि सार्ने र झन्झटीलो प्रकृया निरुत्साहित गर्ने काम कार्यविधिमा समावेश गर्ने बताए ।
उनले सिंचाइ सुविधामा जोड दिइएको जानकारी गराउँदै कृषि उत्पादन हुने क्षेत्रमा सहज सिँचाइ पुर्याउन सके किसानले आफै खेती गर्ने हुँदा यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए । कृषिका लागि सहज सिँचाइ, प्राविधिक सहयोग, अनुदान र बजारीकरणमा जोड दिनुपर्ने उनको धारणा थियो ।
कार्यक्रम बबई गाउँपालिका अध्यक्ष कुलबहादर खत्रीले कृषक लक्षित कार्यक्रममा जोड दिनु अपिल गरे । किसानले उत्पादन गरेको बस्तुको आधारमा अनुदान दिनुपर्ने बताएका थिए । पहुँचका आधारमा कागजपत्र मिलाउनेलाई अनुदान दिन नहुने बताए ।
जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले वास्तविक किसानलाई पहिचान गरि कृषि अनुदानमा जोड दिन अपिल गरे । उनले बजेटको सही उपयोगमा ल्याउन र कार्यान्वयनमा जोड दिन सुझाव दिए । वर्षेनी बजेट घटिरहेका बेलामा बजेट पूर्ण कार्यान्वयन गरी उत्पादनमुखी काममा लगाउनुपर्ने बताए ।
जिल्लामा २ लाख ९५ हजार ५ सय हेक्टर जिल्लाको कुल क्षेत्रफल मध्ये ७५ हजार ९ सय ८० हेक्टरमा कृषि हुने गरेको छ । कार्यक्रमको सहजीकरण ज्ञान केन्द्रका कमल रेग्मीले गरेका थिए ।