© २०२३
पाल्पा, १७ भदौ ।
विगत वर्षको तुलनामा यसवर्ष कम र ढिलो वर्षा भएका कारण धानको उत्पादनमा ह्रास आउने संकेत देखा परेको छ । समयमा धान बालीमा विभिन्न रोग तथा किराका संक्रमणहरु देखा पर्न लागेको छ ।
यसपटक धान बालीमा सेतो गवारोको समस्या देखा परेको छ । यसले उत्पादनमा नराम्रोसँग असर पर्ने लक्षणहरु देखा परेको कृषकहरुको गुनासो रहेको छ । धान बालीमा एक्कासी सेतो गवारो देखा परेको र पालिकामा यस सम्बन्धी ज्ञान नभएको प्राविधिक नहुँदा समस्या परेको निस्दी गाउँपालिकाको मित्यालका पदम बहादुर सोती बताउँछन् ।
धान बालीमा यसपटक सेतो गवारो, कतै खैरो थोप्लो ब्लाष्ट जस्ता रोगहरु देखा परेको कृषकहरु बताउँछन् । रामपुर फाँटमा गवारो किरा देखिएपछि यसलाई नियन्त्रण गर्ने कार्यमा लागेको रामपुर नगर सरकारका प्रमुख रामहरी पाण्डे बताउँछन् । यसको समस्या लिएर आएका किसानहरुको सम्बन्धित क्षेत्रमा पुगेर निरीक्षण गरी निदानको लागि प्रकृया अगाडि बढेको छ । यसले यसपटक चिन्ता गर्ने गरी नोक्सान नगरेको प्रमुख पाण्डे बताउँछन् ।
यसपटक माडीफाँटमा खैरो थोप्लो देखा परेको कृषक देव बहादुर कुमाल बताउँछन् । “यसपटक पानी नआएका कारण धानको ब्याड राख्न ढिलो भयो । त्यसैले पनि उत्पादनमा कमी आउने भयो भन्ने थियो । त्यसैमाथि रोग देखा परेपछि टाउको नै समाउने बनाएको छ”–उनले भने–“धानमा यस्तो समस्या देखा परेको भनेर सुनाउन कहाँ जाने ?” एग्रोभेटमा गए विषादी ल्याएर राख्दा पनि कम नभएको उनले बताए । गाउँमा प्राविधिक नभएपछि कहाँ दु.ख भयो । आफ्नो जस्तै छिमेकीको खेतमा समेत त्यही समस्या भएको खण्डमा बाली भित्र्याउन नपर्ने भएको कुमाल बताउँछन् ।
अन्य वर्षको तुलनामा यस वर्ष १० प्रतिशत कम रोपाई भयो । मौसमले पनि बेमौसमी गरेको समयमा रोग तथा किराको आफु अनुकुल बनाउँदा कतै ब्लाष्ट, कतै खैरो थोप्लो, कतै सेतो गवारो देखिएको र औषधिको समेत प्रयोग गर्दा समेत रोग कम नभएको सम्बद्ध किसानहरु बताउँछन् ।
माडी, अर्गली, कचल, सर्देवा, पुर्वखोला, रामपुर जस्ता फाँटहरुमा धान खेती गरिदै आएको छ । तानसेन नगरको जरे पिपल क्षेत्रमा ब्लाष्ट, निस्दी, रैनादेवी गाउँपालिका क्षेत्रमा गवारो र खैरो थोप्ले रोग देखिएको छ । माडी फाँटमा गवारो देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रकी कामना अधिकारी भन्छिन्, धान वालीमा समस्या देखा पर्ना साथ सम्बन्धित क्षेत्रका प्राविधिकसंग समन्वय गरी नियन्त्रणका लागि प्रयास गरिएको छ । वर्षात राम्रोसंग भएको खण्डमा रोग आफै हराएर जाने छ ।