© २०२३
विगत दुई बर्ष बढी समयदेखि गोर्खा भर्ती बन्द हुँदा नेपालका सयौं युवाले रोजगारी गुमाएका मात्र छैनन, नेपाल आउने करोडौं रूपियाँ रेमिटान्स गुमेको छ । दुई बर्षको बीचमा नेपालका सयौं युवा रोजगारीमा जोडिने थिए तर नेपाल सरकारको अलमलले गोर्खा भर्ती अन्यौलमा परेको छ । हजारौं युवाको भविष्य जोडिएको गोर्खा भर्ती तत्काल सुरू गर्नेतर्फ सरकारको गंभीर ध्यानाकर्षण होस् । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत नेपाली युवाहरूलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गर्दै आएको छ । महासंघले केही महिनाअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएर यो गंभीर विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
हजारौं युवा खाडीका मुलुकमा गएर निम्नस्तरको काम गर्न विवस छन् । तर, नेपाल सरकार नजिकको छिमकी देशले उपलब्ध गराउने भर्तीको रोजगारीप्रति वेवास्ता गरिरहेको छ । यसले नेपाल सरकार युवाहरूले रोजगारी गुमाएको अवस्थाप्रति सम्वेदनशील छैन भन्ने देखिन्छ । गोरखा भर्तीकै कारण नेपालमा अहिलेपनि मासिक करोडौं रूपैयाँ भित्रिरहेको छ । हजारौं नेपाली युवा अहिलेपनि भारतमा गोरखाकै रूपमा भर्ती भएर ठूलो धनराशी नेपाल भित्रिरहेको छ । यसले नेपालको अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ । तर, पछिल्लोसमय नेपालले गोरखा भर्तीका बिषयमा कुनै निर्णय नलिँदा पूर्व गोरखा सैनिकहरूले चिन्ता ब्यक्त गरेका छन । भारतीय सेनामा ‘गोर्खा भर्ती’ बन्द गर्ने हो भने सम्भवतः ‘अग्निपथ’ योजनामा नेपालको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्दछ तर सरकारले यस बिषयमा अहिलेसम्म औपचारिक अभिब्यक्ति दिएको छैन । नेपाल सरकारले हजारौं युवाको रोजगारीसंग जोडिएको गोरखा भर्तीका बिषयमा अब देशभित्र व्यापक र गम्भीर छलफल गर्नु जरुरी छ ।
नेपाली युवा विशेषगरी जनजातिहरूमा गोर्खा भर्तीका नाममा बेलायत र भारतको सेनामा भर्ना हुने अभ्यास निकै लोकप्रिय छ । बर्सेनि हजारौं युवाले ‘लाहुरे’ हुने तयारीमा कठिन अभ्यासहरू गर्ने गरेको देखिन्छ । भारतमा बेलायतको उपनिवेश स्थापना हुनुभन्दा पहिलेदेखि नै नेपालीहरू त्यहाँका राजा रजौटाका सेनामा भर्ती भएको उदाहरण छन् । लाहुरे शब्दकै व्युत्पत्ति पञ्जाव राज्यको राजधानी लाहुरका नामबाट भएको मानिन्छ । लाहुरे जीवनको आकर्षणले जनजाति युवाबीच गोर्खा भर्ती पहिलो रोजाइ हुँदै आएको छ । बेलायतले बिस्तारै गोर्खा सैनिकको संख्या घटाउँदै लगे पनि भर्ती रोकेको छैन । तर भारतले सुरू गरेको विवादास्पद ‘अग्निपथ योजना’ मा गोर्खा भर्ती पनि समावेश गरिएको छ । यसमा नेपाल सरकारको आधिकारीक धारणा सार्वजनिक हुनपर्दछ ।
पहिले ४ वर्षका लागि भर्ना गरेर सैनिक सेवामा लगाउने र तीमध्ये २५ प्रतिशतलाई मात्र स्थायी सैनिक बनाउने ‘अग्निपथ’ योजनाको भारतमा पनि चर्को र व्यापक विरोध भइरहेको छ । नेपाली युवालाई अग्निविर योजनामा सामेल नगर्न नेपाल सरकारले भारतलाई सूचित गरेको जानकारी सार्वजनिक भएको छ । ‘अग्निपथ योजना’ भारतको आन्तरिक मामिला हो तर नेपालीलाई सामेल हुन दिने कि नदिने भन्ने विषयमा भने नेपालले निर्णय गर्नुपर्छ । नेपालले निर्णय गर्न ढिलाई भैसकेको छ । वैदेशिक रोजगारीका दृष्टिमा गोर्खा भर्ती सम्भवतः सबैभन्दा आकर्षक क्षेत्र हो । यद्यपि, सैनिक सेवा भएकाले यससँग जोडिएको राष्ट्रिय स्वाभिमानका प्रश्नलाई उपेक्षा गर्न कुनैपनि अवस्थामा मिल्दैन । नेपाल सरकारले अव अबिलम्ब गोर्खा भर्तीको निर्णय गरोस् ।