© २०२३
पाल्पा, ५ भदौ ।
माथागढी गाउँपालिका चिदिपानीका देव बहादुर चिदी मगर तरकारी खेती गर्ने व्यावसायिक कृषक हुन् । उनी व्यावसायिक कृषक भएको दुई दशक भयो । मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कृषक मगरले आफुले बारीमा लगाउने तरकारीको बिउ घरमा राख्न छाडेको पनि उत्तिकै वर्ष भयो ।
पुर्वखोला गाउँपालिका पुर्वखोलाका उमा रानाले पनि खेतमा धानको बिउको लागि घरमा बिउ नराखेको एक दशक भन्दा बढी भयो । उमा र देव बहादुर जस्ता जिल्लाका अधिकांश कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी तथा अन्न बालीको बिउ घरमा राख्नै छाडेको धेरै वर्ष नै भयो । अन्न तथा तरकारीको बिउको लागि उनीहरु आफ्नो घर नजिकको एग्रोभेटमा जान पुग्ने गरेको बताउँछन् । कम क्षेत्रफलमा बढी उत्पादन हुने वर्णश र हाईब्रिड जातको बिउ बजारमा आउन लागेपछि कृषकहरुले स्थानीय जात, उन्नत जातको बिउ घरमा बिउ राख्न छाडी हाईब्रिड बिउको प्रयोग बढेको छ ।
निस्दी गाउँपालिका मित्यालका पदम बहादुर राना भन्छन्–“पहिले पहिले बारीमा पाइने सानो तितो करेलाको बिउ नै पाइन छाड्यो । बिउ हराएसंगै सानो डल्ले प्रकृतिको करेलो नै हरायो । जब बजारमा लामा लामा बिउ आउन लागेपछि करेला मात्र होइन टमाटरको बिउ पाइन छाड्यो ।”
वैशाखमा बारीमा मकैसँग छरिने काँक्रो पनि हरायो । बिउ राख्ने चलन नै हरायो । बजारमा धेरै फल्न्ने हाइब्रिड जातको बिउ आउन लागेपछि स्थानीय रैथाने जातको बिउ नै हरायो । यो अत्यन्त दु.खद कुरा भएको स्थानीय लाल बहादुर सोती बताउँछन् । “टमाटर, खुर्सानी, भिन्डी, भान्टा, मुला जस्ता स्थानीय जातका बिउहरु गाउँमा राख्न छाडेपछि बाली नै हरायो”–उनले भने । खेतबारीमा लगाईने अन्नबाली तथा तरकारीका बिउ स्थानीयको विकल्पमा बजारमा पाइने बिउको प्रयोग बढेको स्थानीय कृषकहरु बताउँछन् ।
लामो समयदेखि बजारमा पाइने बिउको प्रयोग गरेका रैनादेवी गाउँपालिका मुझुङका वसन्त बस्नेत भन्छन्, “पुरानो बिउ प्रयोग गर्दा उत्पादन कम हुन्छ तर रोग तथा किराको आक्रमण कम हुन्छ । स्थानीय बिउको तुलनामा बजारको बिउको मूल्य सय गुणा महङ्गो हुन्छ ।” बिउ खरीद गर्दा नै कृषकको ढाडै सेकिन्छ । बिउ अत्यन्तै महङ्गो हुन्छ । सबै बिउ उम्रिन्छ भन्ने पक्का पनि छैन । स्थानीय बिउ हरायो । बजारको बिउ अत्यन्तै महङ्गो भएकाले पनि व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षण कम हँुदै गएको स्थानीयहरु बताउँछन् ।
पहिला पहिला घरयासी प्रयोजनका लागि लगाइने अकवरे खुर्सानीको बिउ हराउँदै गयो । पुरानो बिउ हराएपछि पनि बजारका बिउका कारणले पनि मूल्यमा ह्रास आएको माथागढी गाउँपालिका रुप्सेका कृषक कृष्ण प्रसाद भट्टराई बताउँछन् । पुरानो बिउ प्रयोग गरी उत्पादन गरिएको वस्तुको मूल्य माथि नै छ तर पछिल्लो समयमा बिकासे बिउको उत्पादन बढाए पनि कृषकको आत्मनिर्भरता गुमेको छ । विदेशी कम्पनीद्वारा उत्पादित बिउमै निर्भरता बढ्दै गयो । “कुनै समय बिउको आयात रोकियो भने यहाँको खेत बारी बाँझो नै रहने अवस्था आउने आउने संभावना देखिएको छ”–उनले भने ।
धान, मकै तरकारी, मसला, तोरी दलहन जस्ताको स्थानीय बिउ नै हरायो । खेतबारीमा प्रयोग गरिने बिउ मध्ये ९८ प्रतिशत बिउको निजी क्षेत्रको व्यवसायीद्वारा आपूर्ति हुने गरेको व्यवसायीहरु बताउँछन् । तानसेनका बिउ व्यापारी बिष्णु भण्डारी पनि बिउमा परनिर्भरता बढेको बताउँछन् । कम जमिनमा बढी आम्दानी लिने कृषकहरुको बानी बस्यो । यस्तो बानी बिगार्ने कार्य कृषिसंग काम गरेका अन्तर्राष्ट्रिय संस्थाहरुले नै हो । जब कृषिमा अन्तर्राष्ट्रिय गैरसरकारी सस्था प्रवेश ग¥यो । त्यसैले बहुराष्टिय कम्पनीद्वारा उत्पादित बिउको सिफारिस गरेपछि कृषक यस्ता बिउमा आकर्षित हुन पुगे । सरकारी नीतिका कारण जिल्ला कृषि विकास कार्यालयमै अन्तर्राष्टिय गैरसरकारी संस्था प्रवेश ग¥यो । त्यसै दिनदेखि नै पुराना बिउहरु हराउँदै गएका बिउ व्यापारी बिष्णु भण्डारी बताउँछन् ।
जिल्लाका विभिन्न फाँटमा तीन दशक अगाडि सम्म स्थानीय जातको मन्सुली, थापाचिनी, मन्सारो आमझोत्ते, अनदी, झिनुवा जातका बिउहरुको बिउ नै छैनन् । यस्ता पुराना बिउको ठाउँमा हाइब्रिड जातका बिउहरु आए । बन्दा, गोभी, भान्टा, भिन्डी, रायो खुर्सानी, मुला जस्ता तरकारीका बिउ पनि हराए । बिउमा परनिर्भरता भएको कृषकहरु बताउँछन् ।
कृषिका विशेषज्ञ सुर्य गौतम भन्छन्, “बिउ नै खाद्य सुरक्षाको मुख्य आधार हो । पहिलेका पुस्ताहरुले भन्थे, हुलमुलमा जिउ र अनिकालमा बिउ जोगाउँ भनेर । त्यसैले बिउ सुरक्षित नभए सम्म बाली सुरक्षित हँुदैन र खाद्य सुरक्षाको प्रत्यभूति हँुदैन । तसर्थ सरकारले यस्ता हाम्रा हावापानीमा माटोमा हुने पुराना बिउको जर्गेना गर्नु पर्ने अवस्था आएको देखिन्छ । अन्त्यमा खाध्य संकट नआउला भन्न सकिन्न । तसर्थ तीन वटा तहका सरकार संवेदनशील बन्न जरुरी भएको उनी बताउँछन् ।
विकासे बिउको परनिर्भरता बढ्यो
बिउ जस्तो खाद्य सुरक्षाको आधारशीलालाई बहुराष्टिय कम्पनीको भरमा टिकाउनु कहिल्यै पनि राष्ट्रिय स्वार्थको अनुकुल हँुदैन । यसले निम्याउने सबै भन्दा ठुलो डर परनिर्भरता हो । भोलिका दिनमा स्वाभिमानी नेपालीले बिउका लागि बिदेशी कम्पनी संग घँुडा टेक्नुको कुनै विकल्प नरहेको विज्ञहरु बताउँछन् ।
यतिखेर हइट टप काउलीको मूल्य ६५ हजार रुपैयाँ पर्दछ । त्यसैगरी स्नोक्राउन काउलीको बिउ पनि ४५ हजार रुपैयाँ प्रति केजी बिउ खरिद गर्दा नै कृषकहरु महङ्गो मारमा पर्ने गरेको व्यवसायी बिष्णु भण्डारी बताउँछन् । यसरी बिउमा परनिर्भता बढ्दै गएको छ ।
“स्थानीय प्रदेश सरकारले नीति बनाए बिउमा आत्मनिर्भर हुन सकिन्छ । ठुलो धनरासी बिउका लागि भनेर बाहिर जानबाट रोक्न सकिन्छ”–उनले भने । आयातित बिउ बहुराष्टिय कम्पनीले आफ्नो नाममा गराएको हुन्छ । नेपालले यसको प्रयोग गरे बापत वाषर््िाक रुपमा निश्चित रकम रोयल्टी वापत बुझाउनु पर्छ । यसरी वर्षेनी बिउ किनिरहँदा र रोयल्टी तिरिरहँदा ठुलो धनराशी बाहिरिन्छ ।
एकातर्फ ठुलो धनराशी बाहिरिनु र अर्कोतर्फ बिउमा परनिर्भता बढ्दै गएको छ । सरकारले बिउको विषयमा स्पष्ट नीति बनाउनु पर्ने सरोकारवालाको भनाई रहेको छ