© २०२३
पाल्पा, १ भदौ ।
कृषकद्वारा उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज होस भन्ने उद्देश्यले गाउँ बस्तीमा निर्मित कृषि उपज संकलन केन्द्र प्रयोगमा आउन सकेको छैन । सरकारको ठुलो धनराशी खर्चिएर निर्मित संकलन केन्द्र प्रयोगमा आउन नसक्दा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ ।
मौसमी, बेमौसमी तरकारी, खुर्सानी, टमाटर अदुवा जस्ता वस्तुको खरिद कर्ता, बिक्रेता र उत्पादनकर्ताबीच प्रत्यक्ष रुपमा मोलमोलाई होस् भनेर मूल्य र तौलमा एकरुपता ल्याउने उद्देश्यले तत्कालीन समयमा जिल्ला कृषि विकास कार्यालय, स्थानीय कृषक समूहको गाउँ गाउँमा टोल टोलका बस्तीमा संकलन केन्द्र स्थापना भएका थिए ।
तत्कालीन समयमा निर्मित संकलन केन्द्र सय भन्दा बढी संख्यामा निर्माण भएका थिए । पहिले पहिले अहिले जस्तै सडक संजाल टोल टोलमा जोडिएको थिएन । त्यसैगरी सूचना र प्रविधिको विकास पनि भएको थिएन । जसले गर्दा संकलन केन्द्र भन्दा अन्य विकल्प पनि नभएको र अति आवश्यकता पनि भएको मानिन्छ । १०–१५ वर्ष अगाडि यस्ता संकलन केन्द्र निर्माणमा होडवाजी नै चलेको थियो ।
गाउँ विकास केन्द्रलाई जोन बजेटबाट पनि संकलन केन्द्रको निर्माण भए । कति संकलन केन्द्र राजनैतिक पहुँचका आधारमा निर्माण भएका थिए भने कति आवश्यकताले नै निर्माण भएका थिए । कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरु यसलाई प्रयोगमा ल्याउने भनेको स्थानीय कृषकहरुले नै भएको बताउँछन् ।
संकलन केन्द्रका लागि आवश्यक फर्निचर, डिजिटल तौल गर्ने मेसिन, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन जस्ता समानहरु अहिले व्यक्तिले निजी प्रयोग गरेको स्थानीयहरु बताउँछन् ।
तानसेन ९ मदन पोखराका ८ का कृषक ओम बहादुर बसेल भन्छन्–“फोन गरेर व्यापारीलाई मूल्य सोध्ने अनि तरकारी टिपेर तौल गरी बोरामा वा क्यारेटमा राखेर बजार पठाउने चलन बढेकोले संकलन केन्द्र प्रयोगमा आउन नसकेको हो ।” व्यावसायिक रुपमा खेती गरेका कृषकहरुको बुटवल, चितवन, पोखराका व्यापारीलाई सिधै सम्पर्क हुन्छ । त्यसो भएपछि संकलन केन्द्रको आवश्यकता नै नपरेको माथागढी गाउँपालिका झडेवाका कृषक नारायण बहादुर जि.सी. बताउँछन् । मौसमी खेति गर्ने कृषकहरुको लागि मात्र संकलन केन्द्र आवश्यकता परेको उनले बताए ।
सडक सञ्जालले जोडिएको सुविधा सम्पन्न ठाउँमा निर्माण भए तत्कालीन समयमा आवश्यकता पनि थियो । यस्ता भौतिक संरचना निर्माणका लागि दातृ निकायले समेत सहयोग गरेका थिए तर अहिले प्रयोगमा आएनन् भन्न मिल्दैन । कृषकहरुले नै प्रयोगमा ल्याउनु पर्ने कृषि विज्ञ राजेन्द्र कोइराला बताउँछन् । यस्ता स्थायी संरचनाहरु वगनासकाली गाउँपालिकाको राम्दी, आर्य भज्याङ, तानसेन नगरपालिकाको चुच्चेबारी डुम्रे, अर्गली नयापाटी, मथागढीको चिदीपानी, देवगिर, तिनाउ गाउँपालिकाको झुम्सा, दोभान जस्ता दर्जनौ संकलन केन्द्रहरु प्रयोगमा आउन सकेका छैनन् । तत्कालीन समयमा रामपुर, निस्दी, पुर्वखोला गाउँपालिकामा करोडौ रुपैयाँ खर्चिएर स्थायी संकलन केन्द्रहरु निर्माण भएको स्थानीय कृषकहरुको भनाई रहेको छ ।
संकलन केन्द्र स्थापना हुनु अगाडि कृषकहरु तौल मूल्यमा ठगिनु पर्ने अवस्था थियो । गाउँबाट उत्पादन गरेर ल्याएका कृषि उपजहरु बुटवल तानसेनका व्यापारीहरुले डोको नै खोस्ने चलन थियो । त्यस्ता व्यापारीले तौल र मूल्य आफु अनुकूल गराउँथे । संकलन केन्द्रको स्थापना भएपछि तौल र मूल्यमा ठगिन नपरेको तिनाउ गाउँपालिका मस्यामकी अगुवा कृषक लक्ष्मी सारु बताउँछिन् ।
स साना कृषकहरुका लागि यस्ता संकलन केन्द्रहरु वरदान नै थिए । थोरै भए पनि संकलन केन्द्रमा लगे हुन्थ्यो तर आजभोलि डोकोमा बोकी तानसेन बजार लैजानु पर्ने बाध्यता भएको तानसेन नगर छापकी कृषक डिल कुमारी राना बताउँछिन् । संकलन केन्द्र प्रयोगमा आउन नसक्दा स–साना मौसमी खेती गर्नेहरु पुरानै सम्झनाले सताउन लागेको तिनाउ गाउँपालिका दोभानका कृषक सन्तोष पाण्डे बताउँछन् । संकलन केन्द्रमा व्यापारी आउँदा सस्तो महङ्गो बिक्री हुन्थ्यो तर आजभोलि लैजादा बराबर हिसाव आउने गरेको उनी बताउँछन् ।
कम आय आर्जन भएका कृषकहरुको जीवनस्तर माथि उठाउनका लागि संकलन केन्द्रको स्थापना भएको हो । तर पछिल्ला दिनहरुका यस्ता केन्द्रहरु प्रयोगमा आउन नसक्दा स–साना कृषकहरुलाई समस्या परेको छ । स्थानीय सरकारले यस्ता संकलन केन्द्रहरु पुनः प्रयोगमा ल्याउन पर्ने स्थानीय कृषकहरुको माग छ ।