© २०२३
यही साउन २६ गते लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले संयुक्तरूपमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषय शुरु गरेको घोषणा गरे । रूपन्देहीमा रहेका होटेल, पर्यटन, ट्राभल र शिक्षा क्षेत्रका व्यक्तिहरूलाई भेला गराईएको घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने सीपयुक्त जनशक्ति उत्पादन गर्ने, नेपालमा पर्यटन विकास गर्ने र पर्यटन व्यवसायलाई सबल बनाई नेपालको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई विश्वविद्यालयहरूले संयुक्तरूपमा स्नातक तहको कक्षा संचालन गर्ने र अहिलेलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा उक्त कार्यक्रम संचालन गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले विगत ७ वर्षदेखि स्नातक तहमा बुद्धिस्ट ट्राभल एण्ड टुर म्यानेजमेन्ट विषय संचालन गरिरहेको छ । लुम्बिनी प्रदेशमा बौद्ध पर्यटनको प्रचुर सम्भावना भएकोले यस क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नको लागि विश्वविद्यालयले यो कोर्स संचालन गरिरहेको छ । पर्यटन क्षेत्रको मुख्य आधार होटल व्यवस्थापन विषयमा पनि पोखरा, त्रिभुवन र विदेशी सस्थाबाट सम्बन्धन लिएका कलेजहरूले पनि विएचएम विषय पढाईरहेका छन् । लुम्बिनी प्रदेशमा स्नातक तहमा पर्यटन सम्बन्धि विषयहरू एक दर्जन भन्दा कम कलेजले पढाईरहेका छन् । यी कलेजहरूको जनशक्तिले लुम्बिनी प्रदेशको पर्यटन धान्नुपर्ने अवस्था छ ।
पुथा हिमालदेखि मर्चवारको समथर भागसम्म फैलिएको लुम्बिनी प्रदेश भौगोलिक, प्राकृतिक र सास्कृतिक रूपमा मिनि नेपाल मानिन्छ । विश्व शान्तिको मुहान लुम्बिनीको सेरोफेरोमा रहेका जिल्लाहरूमा रामग्राम, अनोमा घाट, ककरपत्ता, हलिदासन नगर, तिलौराकोट, कुदान, निग्लिहवा, गोटिहवा जस्ता बुद्धसंग सम्बन्धित पुरातात्विक स्थलहरू रहेका छन् । बृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका यी क्षेत्रहरू बौद्ध पर्यटनका मुख्य क्षेत्रहरू हुन् र वर्षेनी लाखौ आन्तरिक र बाह्य पर्यटक यी स्थानमा पुगिरहेका छन् । राम्दी, रिडी, स्वर्गद्वारी, रेसुंगा, पाणिनी तपोभूमि जस्ता हिन्दु तिर्थस्थलहरूका साथै बर्दगोरिया, सिद्धबाबा, प्रकटेश्वर महादेव, भैरवस्थान, सुपादेउराली, तौलेश्वरनाथ, बागेश्वरी मन्दिरहरू पनि हिन्दु भक्तजन र तिर्थयात्रीलाई आकर्षित गर्न सक्षम छन् । बुद्धमंगल ताल, सत्यवती ताल, गजेडिताल, जगदीशपुर ताल, जखेरा ताल, बढैया ताल, डमरु दह, कमल दह जस्ता अनेकौ तालतलैया र नदीनालाले प्रकृतिमा रमाउन चाहनेलाई आकर्षित गरिरहेका छन् । बाघको लागि ख्याती कमाएको बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षका साथै लुम्बिनी प्रदेशको आधा भू–भाग ओगटेको सम्पूर्ण वनक्षेत्रमा पर्यटनका प्रसस्त सम्भावनाहरू लुकेका छन् । सयभन्दा बढी जातजातिको बसोबास रहेको लुम्बिनी प्रदेशमा हरेक जातजातिका आफ्नै मौलिक संस्कार, परम्परा र जीवनपद्दती रहेका छन् । यी सबै पर्यटकीय आधारहरूले लाखौं पर्यटकलाई आकर्षित गर्न सक्ने, सेवा दिना सक्ने र लाभ लिनसक्ने सामथ्र्य राखेका छन् ।
लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा निजी र सरकारी क्षेत्रबाट ठूलो लगानी पनि भैसकेको छ । पर्यटकीय पूर्वाधार निर्माण, प्रचार प्रसार जस्ता कामहरूसमेत निरन्तर रूपमा भैरहेको छ । अहिले प्रदेशमा उत्पादनमूलक उद्योग र ब्यापारपछि आर्थिक चलायमान बनाउने उद्योगको रूपमा पर्यटन क्षेत्र अघि आएको छ । बुटवल–भैरहवा–लुम्बिनी, तौलिहवा, नेपालगंज, बर्दिया, तानसेनमा पर्यटकलाई लक्षित गरेर ठूलो लगानी गरेर पूर्वाधार विकास भैरहेको छ । यहाँको पर्यटन क्षेत्रमा ठूलो जनशक्ति खपत भैरहेको छ । यती हुँदाहुँदै पनि पर्यटनलाई बुझेको जनशक्ति अर्थात् पर्यटन शिक्षा पाएको जनशक्ति कम छ । होटेल व्यवस्थापन, ट्राभल एजेन्सी, टुर प्याकेज अपरेटर, टुरिज्म मार्केटिङ्ग जस्ता कामहरू गर्नका लागि बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता लुम्बिनी प्रदेशमा छ । घुमफिर गर्न, आफूले देखेको कुराहरूको जानकारी दिन र अरूलाई घुम्न प्रेरित गर्न सक्ने, प्रदेशलाई पर्यटक माझमा चिनाउन सक्ने, पर्यटकहरूको हाउभाउ बुझ्न, उनीहरूलाई सत्कार गर्न, उत्पादनहरूलाई पर्यटन बजारमा लैजान र बिक्री गर्न सक्ने जनशक्ति प्रदेशमा नहुँदा र प्रदेश भित्र यस्ता जनशक्ति तयार नहुँदा लुम्बिनी प्रदेशका पर्यटकीय अवसरहरू गुमिरहेका छन् । बौद्ध पथ प्रदर्शक, नेचर गाईड, ट्रेकिंग गाईड, पर्वतारोहण गाईड जस्ता पर्यटन जनशक्तिको अभाव प्रदेशभरी नै देखिएको छ ।
पर्यटन नीति २०६५ मा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई उपयुक्त प्रशिक्षण दिन नसक्दा स्तरीय सेवा र त्यसबाट बढी लाभ लिन एवं सेवा सुविधाको विस्तार गर्न नसकिएको कुरालाई पर्यटन क्षेत्रको एक समस्याको रूपमा उठान गरिएको छ । यस नीति अन्तर्गत पर्यटन सेवामा गुणस्तर अभिबृद्धि गर्न सरकारी र निजी क्षेत्रमा स्थापित अध्ययन संस्थान वा तालिम केन्द्रबाट सञ्चालन हुने पर्यटन सम्बद्ध अध्ययन तथा तालिम कार्यक्रमलाई समय सापेक्ष रूपमा गुणस्तरीय र प्रभावकारी बनाइने, पर्यटन क्षेत्रसँग सम्बन्धित मानव संशाधनको विकासमा जोड दिइनुका साथै यस क्षेत्रमा निजी क्षेत्रको संलग्नतालाई बढावा दिइने, पर्यटन क्षेत्रको जनशक्ति उत्पादन गर्ने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९ल्ब्त्ज्ः० लाई छाता संगठनको रूपमा विकास गरी निजी क्षेत्रको संलग्नतामा प्रभावकारी जनशक्ति उत्पादन गर्ने नमुना केन्द्र ९ऋभलतभच या भ्हअभििभलअभ० को रूपमा विकास गरी यस संस्थालाई छुट्टै ऐनद्वारा व्यवस्थित तथा आत्मनिर्भर बनाई पर्यटन सम्बन्धी जनशक्ति विकास कार्यक्रमको समन्वय, अनुगमन एवम् नियमन गर्ने निकायको रूपमा विकास गरिने कार्यनीति तय गरिएको छ । त्यसैगरी पर्यटन क्षेत्रको जनशक्ति विकास गर्न विद्यालय तहदेखि नै पर्यटन विषयलाई पाठ्यक्रममा समावेश गर्न समन्वय गरिने र पर्यटन सम्बन्धी उच्च तहको शैक्षिक उपाधिसहितको शिक्षाका साथै विभिन्न सीपमूलक अल्पकालीन र मध्यकालीन तालिमलाई माग अनुरूप विविधीकरण गरी मुलुकका दुर्गम एवम् सम्भाव्य पर्यटकीय क्षेत्रहरूमा विस्तार गरिने समेत कार्यनिति पर्यटन नीति २०६५ ले निर्धारण गरेको छ । पछिल्लो समयमा नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने कुराले पनि चर्चा पाईरहेको छ । नीतिगत रूपमा नेपाल सरकारले अघि सारेका पर्यटन शिक्षाका योजनाहरू उपयुक्त भएपनि लुम्बिनी प्रदेशमा यसको विस्तार होला र प्रदेशको पर्यटन क्षेत्रले लाभ प्राप्त गर्ला भन्ने कुरामा भने आशा गरिहाल्न सकिदैन् ।
लुम्बिनी प्रदेशको पर्यटन मुख्यगरी बौद्ध पर्यटन र पर्यापर्यटनमा आधारित छ । अहिलेसम्म यस प्रदेशमा आउने धेरै पर्यटकहरू धार्मिक र पर्यापर्यटनको लागि नै आउने गरेको देखिन्छ । त्यसैले प्रदेशमा पर्यटन शिक्षा प्रदान गर्दा यिनै आधारहरूमा टेकेर अघि बढ्नुपर्छ । उत्तरी भारतका ठूला शहर र घना वस्तीहरूसंग लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूको सिधा सम्पर्क स्थापित भएकोले गर्दा भारतीय पर्यटकलाई कसरी भित्राउने भन्ने कुरामा पनि लुम्बिनी प्रदेशको पर्यटन शिक्षा केन्द्रित हुनुपर्छ । लुम्बिनी प्रदेशको धार्मिक, साँस्कृतिक विशिष्टता, अन्तर्राष्ट्रिय पर्यटन बजारमा पहुँचको अवस्था र देशका अन्य पर्यटकीय क्षेत्रमा पर्यटक पठाउन सक्ने क्षमताको आधारमा लुम्बिनी प्रदेशमा उच्चस्तरीय, मध्यम स्तरीय र निम्न स्तरीय गरि तिनै तहका पर्यटन जनशक्ति उत्पादन गर्न ढिला भैसकेको छ ।
लुम्बिनी प्रदेशमा लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरू संचालित छन् । प्रदेशमै केन्द्रिय क्याम्पस भएका नेपाल संस्कृत र लुम्बिनी बौद्ध विश्वविद्यालय छन् भने प्रदेशको आफ्नै प्राविधिक विश्वविद्यालयले पनि शैक्षिक कार्यक्रम शुरु गर्न लागिसकेका छन् । कम्तिमा पनि प्रदेशमा रहेका तीनवटा विश्वविद्यालयहरूले प्रदेशको पर्यटकीय विशिष्टतालाई आधार बनाएर पर्यटन सम्बन्धि उच्च शिक्षा दिन शुरु गर्नुपर्छ । यहाँका विश्वविद्यालयले प्रदान गर्ने उच्च शिक्षामा बौद्ध तथा हिन्दु सम्पदाहरू, राष्ट्रिय निकुन्ज, भूदृश्य र सिमसारहरूमा कसरी पर्यटक पु¥याउने ? पर्यटकलाई कसरी भुलाउने ? उनीहरूलाई प्रदेशको मौलिक पर्यटन सेवा कसरी प्रदान गर्ने भन्ने कुरामा पाठ्यक्रम केन्द्रित हुनुपर्छ । पर्यटन शिक्षाको नाममा होटेल तथा हस्पिटालिटी र ट्राभल एण्ड टुरिजम मात्र नभई पर्यटन अनुसन्धाता, पर्यटन बजारको निर्माता, पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने वस्तुहरूको उत्पादक, पर्यटन क्षेत्रको संरक्षक अनि पर्यटन कथा वाचक जनशक्ति उत्पादन गर्ने काममा विश्वविद्यालयको शिक्षा केन्द्रित हुनुपर्छ । प्राविधिक विश्वविद्यालयले नेपालगंज र ठाकुरद्वारामा, नेपाल संस्कृत विस्वविद्यालयले दाङमा, लुम्बिनी बौद्ध विश्वविद्यालयले रूपन्देही र पाल्पामा यस्ता कार्यक्रमहरू संचालन गरेमा उच्चस्तरीय पर्यटन शिक्षामा पहुँच विस्तार गर्न पर्यटन क्षेत्रको लागि आवश्यक जनशक्ति उत्पादन गर्न सकिन्छ ।
एक दशक अघि बाँके, दाङ र रूपन्देहीका केही उच्च माबिहरूले कक्षा ११ र १२ मा ट्राभल एण्ड टुरिजम विषय पढाउन शुरु गरेका थिए । तर अरू विषय पढ्न नसक्नेलाई लक्षित गरेर यो विषय पढाईएको, कक्षा १२ उत्तीर्ण गरेपछि प्रदेशमा सोही विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर नभएको जस्ता कारणले विद्यालयहरूले यो विषय पढ्न खोज्ने विद्यार्थी पाउन नसक्दा पढाई नै बन्द हुन पुगेको थियो । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ ÷१२ को पाठ्यक्रम बनाउँदा पर्यटन र पर्वतारोहण विषय समेत राखेको छ । केही विद्यालयहरूले गत वर्षदेखि यो विषय पढाउन शुरु गरेका थिए । बुटवलस्थित नेपालकै ठूलो सामुदायिक विद्यालय कालिका मानवज्ञान माविले यसै शैक्षिक सत्रदेखि कक्षा ११÷१२ मा यो विषयको पढाइ शुरु गरेको छ । “पर्यटनका लागि संगसंगै“ भन्ने नाराका साथ कालिकाले पाठ्यक्रमले तोकेका सामाग्रीहरू मात्र अध्यापन गर्नेभन्दा पनि पर्यटन क्षेत्रका सरकारी र नीजि क्षेत्रका निकायहरूसंग समन्वय गरि तत्कालै पर्यटन क्षेत्रमा लाग्न सक्ने मध्यम स्तरको जनशक्ति उत्पादन गर्ने गरि कार्यक्रमहरू अघि बढाएको छ । खासगरी ट्राभल एण्ड टुर गाईड, पर्यटन कथा वाचक, तथा स्थानीय पर्यटन उद्यम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विद्यालयको योजना छ । पर्यटनमा उच्च शिक्षा संचालन गरिरहेका विश्वविद्यालय, पर्यटन बोर्ड, प्रदेश पर्यटन विकास परिषद, स्थानीय सरकार र प्रदेश सरकारले कक्षा ११÷१२ मा पर्यटन शिक्षा प्रदान गर्न खोजेका विद्यालयहरूलाई भौतिक, प्राविधिक र नीतिगत सहयोग गरिदिने हो भने प्रदेशका सबै क्षेत्रले पर्यटन बुझ्न र बुझाउन सक्ने जनशक्ति पाउने छ नै पर्यटनका स्नातक तहमा विद्यार्थीहरू कमी समेत हुनेछैन् ।
पर्यटन क्षेत्रको लागि आवश्यक मध्यम किसिमको जनशक्ति सिटिईभिटीले उत्पादन गर्न सक्छ । यो परिषदसंग पर्यटन क्षेत्रको लागि काम लाग्ने धेरै कार्यक्रमहरू भएपनि होटेल म्यानेजमेन्ट डिप्लोमा कोर्स बाहेक लुम्बिनी प्रदेशमा अरू कोर्ष चलेका छैनन् । सिटिईभिटीका आफ्नै आंगिक शिक्षालयहरू प्रदेशमा भएकोले नीजि क्षेत्रले पर्यटन सम्बन्धि विषयहरू नपढ़ाएपनि परिषद आफैले पर्यटन सम्बन्धि डिप्लोमा र त्यो भन्दा छोटो अवधिका कोर्षहरू संचालन गर्नुपर्छ । प्रदेश सरकार र पर्यटन विकास परिषदका वार्षिक कार्यक्रमहरूमा होमस्टे व्यवस्थापन, टुर गाईड, कुक सम्बन्धि अल्पकालीन तालिम कार्यक्रमहरू समावेश भैरहेका छन् । सिटिईभिटीसंगको समन्वयमा यस्ता छोटो अवधिका तालिमलाई पनि औपचारिक प्रमाणपत्र दिने व्यवस्था गर्ने हो भने पर्यटन क्षेत्रमा आवश्यक पर्ने निम्नस्तरको जनशक्ति तयार गर्न सकिनेछ ।
पर्यटन क्षेत्रप्रति सकारात्मक धारणा विकास गराई पर्यटन व्यवसायमा संलग्न हुनको लागि आवश्यक पर्ने ज्ञान, सिप र धारणाको विकास गराउने शिक्षा नै पर्यटन शिक्षा हो । पर्यटन शिक्षाले पर्यटकीय सम्पदाहरूको जानकारी दिने काम मात्र नगरी पर्यटन क्षेत्रमा कसरी संलग्न हुने ? पर्यटनबाट कसरी प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिने भन्ने जानकारी गराउँछ । पर्यटन शिक्षाले पर्यटन व्यवसाय संचालन र व्यवस्थापन गर्नका लागि आवश्यक दक्षता विकास गर्छ । पर्यटन शिक्षाले रोजगारीका साथै उत्पादनमा संलग्न गराउँछ । हालसम्म लुम्बिनी प्रदेशभित्र पर्यटन जनशक्ति उत्पादन गर्ने शिक्षा हासिल गर्ने व्यवस्था नहुनु र बाहिरको जनशक्तिले लुम्बिनी पर्यटनको विशिष्टता बुझ्न नसक्दा प्रदेशको पर्यटन क्षेत्रले गति लिन सकेको छैन् । पर्यटन क्षेत्रलाई विविधतापूर्ण, मर्यादित, दिगो र समृद्धिको बलियो आधार बनाउनको लागि प्रदेशभित्र पर्यटन शिक्षा प्रदान गर्ने सबै शैक्षिक संस्थाहरूलाई सबल बनाउने र पर्यटन शिक्षालाई सबै जिल्लाहरूमा विस्तार गर्न र दिगो बनाउन यहाँका विश्वविद्यालयहरू, स्थानिय सरकारहरू, लुम्बिनी प्रदेश सरकार र पर्यटन क्षेत्रमा व्यवसायिक संघ सस्थाहरू एकजुट भएर अघि बढ्नुपर्छ ।