© २०२३
रसिया र युक्रेनबीच युद्ध चलिरहेका कुरा लगभग सबैलाई थाहा भएकै विषय हो । अर्थात् सन् १९५४ देखिको सोभियत संघकै अस्तित्व हुँदादेखि नै युक्रेनी गणराज्य अन्तर्गतको क्षेत्र क्रिमियालाई रुसले सन् २०१४ मा आफ्नो बनाइसकेपछि युद्धको सुरुवात भएको थियो । सन् २०१४ सम्म युक्रेनमा लगभग शान्ति नै थियो । आफ्नै गतिले विशेष गरेर रुसको सहयोग सद्भावमा देशले आर्थिक विकास गरिरहेको थियो । आफूसँग सबै कुरा मिल्ने रुससँगको मित्रताले गर्दा देश दिनप्रतिदिन अगाडि बढिरहेको थियो ।
सम्पूर्ण युरोपमा गहुँ लगायतका अन्न भण्डार निर्यात युक्रेनले नै गर्ने गथ्र्याे । युक्रेनको आर्थिक उन्नति देखेर त्यो देशमा जानेहरूको आकर्षण पनि बढिरहेको थियो । तर के गर्ने केही जनताले रुससँगको मित्रताले देश उभो लाइरहेको बुझे पनि अधिकांश जनताहरूले पश्चिमी जगत्ले नेपालमा आएर तराइतिर उचाले जस्तै उचाल्दा गुह्य कुरो बुझ्न सकेनन् । त्यसैले सन् २०१४ को सुरुमा तात्कालिक राष्ट्रपति भिक्टर यानुकोभिचलाई पश्चिमी राष्ट्र समर्थित शक्तिको क्रान्तिकारी भनिने लहरले अपदस्थ गरेपछि युद्धको सुरुवात भयो । देश विकासको लागि अहोरात्र खटिरहेका भिक्टर रुसमा आएर निर्वासित हुनुपर्यो । यो कुरो तत्कालै बुझेका क्रिमियाका जनताले अब युक्रेनसँग बस्दा ठिक नहुने ठानी विद्रोह गरी रुसको सहयोगमा रुसी महासंघमा विलय हुने निर्णय लिए ।
भिक्टर अपदस्त भइसकेपछि लगभग पाँच महिना त अन्तरिम राष्ट्रपतिका रूपमा अकेल्जेन्डर तुर्चिनोभ नयाँ राष्ट्रपति रहे । तर त्यसपछि बनेका नयाँ राष्ट्रपति पेट्रो पोरोसेन्कोको कुटनीतिक सुझबुझका कारणले त्यसपछिको केही समय युक्रेन र रुस बीच युद्ध भएन । पेट्रो पोरोसेन्को सन् २०१९ को चुनावमा भारी मतले पराजित भइ लगभग ७५ प्रतिशत मतसहित जेलेन्स्की युक्रेनका राष्ट्रपतिका रूपमा निर्वाचित भए । हाउभाउका साथ आएका जेलेन्स्की आएपछि त के के न होला भनेर नेपाली जनताले माओवादीलाई मत दिएभन्दा अझ आँखा चिम्लेर युक्रेनी जनताले उनलाई निर्वाचित गराए । फिल्ममा हास्य अभिनेताको रूपमा काम गरिरहेका जेलेन्स्कीले आफ्नो जीवनमा पनि त्यस्तै फिल्ममा जस्तै हसाउलान् भनेर जनता आँखा चिम्लिए । तर के गर्ने जेलेन्स्कीले अमेरिका आदि देशहरूको कुटनीतिक चाल बुझ्न सकेनन् ।
उनलाई माया गरेजस्तो गरेर युक्रेन मार्फत् रुसलाई अप्ठ्यारो पार्ने अमेरिकाको योजना उनले बुझ्न सकेनन् या त छिमेकीलाई नै उल्टो दोषी देखे त्यो उनले नै जान्ने कुरा भयो । तर जे गरे त्यो गलत गरे । पश्चिमाहरूले आफ्नो स्वार्थ परिपूर्तिका लागि कुनै पनि देशका संवैधानिक व्यवस्थाहरूलाई अप्रजातान्त्रिक शैलीका भनिदिने र विद्रोह गराइदिने, कि त त्यहाँका जनताका प्रिय तर आफू अनुकुल नभएका राष्ट्र प्रमुखहरूलाई निरंकुश भनिदिने, त्यति गरेर भएन भने आतंककारीको संज्ञा दिएर देशमा नै आक्रमण गर्ने गरेका थुप्रै उदाहरणहरू त हामीले देखेकै छौँ । त्यसको पछिल्लो उदाहरण बंगलादेश पनि हो । यस्तै किसिमका काँचा निर्णय गर्दै उनले युक्रेनलाई रुसका शत्रुहरूका रूपमा रहेका देशहरूको संगठनसँग गाभ्ने प्रयास गरे । यसले गर्दा रुस क्रुद्ध भयो । हुन पनि कुनै पनि शक्तिशाली देशहरूले आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई गहिरो रूपमा विचार गरिरहेका हुन्छन् । फेरि रुसले पनि किन त्यसो नगरोस् र ? उसले आफ्नै रीति, स्थिति, भाषा र संस्कार मिल्ने नजिकको छिमेकी देशले आफ्ना शत्रु देशहरूको सम्बन्ध किन पो उचित ठान्थ्यो र ? त्यसैले केही समय त जेलेन्स्कीलाई सम्झाउने प्रयास गरेको रुसले वार्ताबाट असफल हुने ठानी सन् २०२२ फेब्रुअरी २४ बाट युक्रेनमा पुनः युद्धको सुरुवात ग¥यो । अहिलेसम्म पनि चलिरहेको यो युद्धले गर्दा दुबै देशले अत्यन्तै ठूलो क्षति व्यहोर्नु परिरहेको छ ।
यसै सिलसिलामा केही समयअघि रुससँग पनि नजिकैको मित्रता बनाइरहन सफल एवं युक्रेनसँग पनि राम्रै सम्बन्ध भएका भारतीय प्रधानमन्त्री युक्रेन भ्रमणमा गएर आए । धेरैले जनताले यस भ्रमणले यो युद्ध पक्कै पनि अन्त्य होला भन्ने अनुमान गरेका थिए । तर त्यसो भएन । यसै प्रसङ्गमा यहाँ महाभारतका पात्र कुन्तीपुत्र कर्णको याद आयो । विभिन्न किसिमका बाध्यताका कारणले कर्ण दुर्योधनका मित्र बन्न पुगेका थिए । युद्ध कौशल, राजशासन आदि धेरै कुराको जानकार भएका कर्णले शकुनी मामाको षडयन्त्रमा फसिसकेका दुर्योधनलाई साह्रै धेरै मिहिनेतका साथमा सम्झाउने प्रयास गरेता पनि सफल हुन सकेनन् । तर पनि उनले दुर्योधनले लगाएको गुन चाहिँ कहिल्यै नबिर्सने सङ्कल्प गरी उसका लागि मर्ने सम्मको प्रतिज्ञा गरे । आफ्नो जन्म र माताका बारेमा थाहा नपाएका उनलाई युद्ध रोक्नका लागि भगवान् श्रीकृष्णले सबै कुरा थाहा दिनुभयो ।
अब कौरब सेनामा नलागी आफ्नै भाइहरू पाण्डवसँग मिलेर युद्ध गर्ने सल्लाह दिनुभयो । यो विषयमा कुन्तीलाई पनि प्रयोग गर्नुभयो । तर त्यसबेला कर्णले आफू बाध्यतामा परेकाले तपाइँहरूले भनेको कुरामा सहमत हुन सकिन भनी दुबैलाई प्रष्ट बनाए । महाभारत पढ्ने या फिल्मका माध्यमले हेर्ने सबै पाठक या दर्शकको भित्री इच्छा कर्णले दुर्योधनादि कौरबलाई छोडी पाण्डवतिर नै आएका भए कति राम्रो हुने थियो भन्ने करुणायुक्त नै हुन्छ । कर्णका बाध्यता बुझेका पाठक, श्रोता या दर्शक अश्रुधाराका माध्यमले कर्णलाई न माया गरिरहेका हुन्छन् । युद्ध भएरै छाड्छ । आखिर आफ्नै भाइ अर्जुनका वाणद्वारा साह्रै विभत्स तरिकाले कर्ण मारिन्छन् ।
त्यस्तै अवस्था अहिले रुस र युक्रेनको बीचका पात्र राष्ट्रपति जेलेन्स्कीको आएको छ । कर्णले दुर्योधनसँग एवम् जेलेन्स्कीले अमेरिकासँग नबुझिकनै मित्रताको गाँठो पारे । मात्रै यहाँ कर्णको मित्रता बाध्यता थियो भने जेलेन्स्कीको मित्रता बाध्यता होइन । साँच्चै रुस भनेको त हामीलाई दास नै बनाउने देश हो । अब अमेरिका आदि देशहरूसँग मिल्ने हो भने त के के न हुन्छ । देशविकासले उन्नति नै उन्नति नै हुन्छ भन्ने खालको पढाइएका जेलेन्स्की भने मित्रताको मामिलामा केही मात्रामा झुक्किएका हुन् एवम् उनको धेरै मात्रामा काँचोपन पनि हो । भगवान् श्रीकृष्ण जस्तै गरेर भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी पनि युद्ध रोक्नका लागि युक्रेन गए । दुई वर्ष अगाडि अर्कै हाउभाउमा रहेका जेलेन्स्कीको मुद्रा अत्यन्तै चिन्ताजनक देखिन्थ्यो । उनका आँखा रसाएका थिए ।
युद्ध जितिहालिने र रुस पनि आफ्नै कब्जामा हुने सपना देखिरहेका जेलेन्स्कीको मुद्राले अब उनी उही नेपाली उखान “नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार” भन्ने अवस्थामा पुगेका देखिए । अमेरिकाको भाउँतामा लागियो । छिमेकीसँग द्रोह गरियो । त्यस्तो समृद्धशाली युक्रेन आफ्नै कारणले तहसनहस भयो । आफ्ना मित्र भन्नेहरूले युद्धविराम गर्न पनि दिँदैनन् । गतिला हतियार पनि दिँदैनन् । यहि भाव नरेन्द्र मोदीका अगाडि देखाए । यस्तो अवस्थामा हामी दर्शकलाई पनि उनै कर्णको बाध्यताको याद आयो । तर यस्तो अवस्थामा कर्ण र जेलेन्स्कीका बाध्यता भने फरक थिए । अस्तु ।